malasiyaडी. विनोद- ताप्लेजुङकी सिर्जना पाण्डे वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छिन्। घरेलु कामदार भएर काम गर्न उनी कतार जान लागेकी हुन्। व्यक्तिगत भिसामा कतार जान लागेकी उनलाई सरकारले लागू गरेको उमेर हदबारे त्यति जानकारी छैन। ‘सुनेकी छु, तर श्रम स्वीकृतिका लागि अहिलेसम्म केही पनि भनेको छैन। म प्रक्रियामा छु,’ उनले भनिन्। 
पाण्डेसँगै वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुक जान खोज्नेहरूको लर्को वैदेशिक रोजगार विभागको कार्यालयमा दैनिकजसो देखिन्छ। तर, उनीहरू सरकारी नियमभन्दा पनि ‘कुरो मिलाएर’ जाने विषयमा ढुक्क छन्। त्यहाँ पुगेपछिका जोखिमबारे सतर्क हुन सकेका छैनन्। साउदी अरब जाने तयारीमा रहेकी सुनसरीकी लक्ष्मी तामाङले भनिन्, ‘नियम त्यति थाहा छैन तर पैसा कमाएर फर्किने सोच र जाँगर छ। तालिम दिन्छ रे। त्यहाँ थाहा होला नि?’ वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारका लागि खाडीलगायत मुलुकमा महिलामाथि शोषण हुन थालेपछि सरकारले उमेर हद कायम गरेको थियो। आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगार विभागले ३० वर्ष नपुगेका महिलालाई खाडीलगायत मुलुकमा जान प्रतिबन्ध लगाएको छ। तर, धेरै महिला यसबारे अनभिज्ञ छन्।
घरेलु कामदारकै रूपमा रोजगारीमा गएर ज्यान गुमाउने र समस्यामा पर्नेहरू कम छैनन्। घरेलु कामदारका लागि साउदी अरब पुगेकी नवलपरासीकी सरस्वती घिमिरेको मृत्यु भएको एक वर्ष पुग्न लाग्यो। तर, अहिलेसम्म उनको मृत्युको कारण खुल्न सकेको छैन। साउदीमा रहेका नेपाली कामदारले उनको मृत्युको कारण माग गरे पनि साउदी प्रशासनले प्रष्ट रूपमा खुलाएको छैन। त्यतिमात्र होइन, बरु विभिन्न कारण देखाएर घिमिरेको लास अहिलेसम्म पनि नेपाल पठाएको छैन।
त्यसो त लमजुङकी दुर्गाकुमारी गुरुङको हत्याको कारण पनि खुलाउन सकिएको छैन। कालगतिले मृत्यु भएको भन्दै साउदी सरकारले उल्टै उनका आफन्तसँग विभिन्न कागज माग्ने काम गरिरहेको छ। वैदेशिक रोजगारीमा साउदी अरबलगायत कुवेत, कतार, बहराइन, लेबनानलगायत मुलुक पुगेका महिलामाथि भएको हिंसा र हत्याको विषयमा नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको छैन।
श्रमशोषण, हत्या र यातनाबारे बारम्बार चर्चा भइरहँदा पनि कमी वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा कमी आएको छैन। यस आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि मुलुक छाडेका महिला १९ हजार नौ सय ८० छन्। ‘यातना, हत्या र पीडाको शिकार भए पनि महिलाहरू रोजगारीमा जाने क्रम रोकिएको छैन,’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अधिकारी अशोक गौतम भन्छन्, ‘नियम लागू भएको छ र सोअनुसार काम पनि भइरहेको छ। तर, महिलाको संख्यामा कमी देखिएन।’ साउन महिनामा मात्र दुई हजार सात सय ६१ महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए। ‘वैदेशिक रोजगारीमा जान प्रतिबन्ध गर्न मिल्दैन,’ गौतम भन्छन्, ‘त्यहाँ जाँदा अपनाउनुपर्ने सतर्कताबारे हामीले बारम्बार कार्यक्रम गरिरहेका छौँ।’

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *