Cricketकाठमाडौं- भोलिदेखि काठमाडौंमा सञ्चालन हुन लागेको एसिसी ट्वान्टी ट्वान्टी कप क्रिकेट प्रतियोगिताका लागि आफूहरू मैदानमा उत्रन तयार रहेको नेपाली राष्ट्रिय टिमका खेलाडीले बताएका छन्। राष्ट्रिय टिम कप्तान पारस खड्काले आज सञ्चारकर्मीसँग भन्नुभयो– हामी प्रतियोगिताको लागि मैदानमा उत्रन तयार छौं।

टिमका सबै १४ सदस्य क्रिकेटका लागि तालिम प्राप्त भएको पनि उनले बताए। प्रतियोगिताको लागि आफूहरूले कमजोर पक्षलाई सुधारेको बताउँदै उनले उपाधि हात पर्नेमा आफूहरू विश्वस्त रहेको बताए। आयोजक समितिका सदस्य किरण रानाले प्रतियोगिताको सबै तयारी पूरा भएको र आज साँझ व्यवस्थापकीय बैठक बसेर केही छुटफुट विषयमा छलफल गरी हल खोज्नेसमेत जानकारी दिए।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले भोलिका लागि तीनवटा काउन्टरबाट टिकट बिक्रीको व्यवस्था मिलाएको छ। बिहान ६ बजेदेखि कीर्तिपुर मैदान वरपर स्टल राख्ने क्यानका अध्यक्ष टङ्क आङबुहाङले बताए। क्यानले पहिलोपटक क्रिकेटको दर्शकका लागि टिकटको व्यवस्था गरेको हो।
एसियाली क्रिकेट परिषद्को टि–ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिता २१ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदान र ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थानको मैदानमा सञ्चालन हुनेछ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा नेपाललगायत मलेसिया, हङकङ, माल्दिभ्स र सिङ्गापुर रहेका छन्। त्यसैगरी समूह ‘बी’ मा साविक विजेता अफगानिस्तान, युएइ, ओमान, कुबेत र बहराइन छन्।
प्रतियोगिताको लागि सुरक्षा व्यवस्था निकै कडा पारिने क्यानले जनाएको छ। सन् २०११ मा कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपालले युएईसँग पराजय बेहोरेपछि नेपाली दर्शकले ढुङ्गामुढा गर्दै मैदान प्रवेश गरेका कारण सन् २०१२ मा एसियाली क्रिकेट परिषद्ले प्रतियोगिता आयोजना गर्नबाट नेपाललाई वन्चित पारेको थियो।
नेपाली टोलीलाई श्रीलङ्काका प्रशिक्षक पुबुदु दासानायकेले तालिम दिएका हुन्। यस प्रतियोगितामा जित हात पार्ने शीर्ष दुई टिमले आगामी मङ्सिरमा युएइमा सञ्चालन हुने विश्व टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा भाग लिन पाउने छन्।
प्रतियोगिता अन्तर्गत भोलि हुने पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ। त्यसैगरी बुधबार नेपाल र हङकङ, शनिबार नेपाल र मलेसिया तथा आइतबार नेपाल र सिङ्गापुरले प्रतिस्पर्धा गर्नेछन्। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *