डी. विनोद- वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा रहेका सुनसरीका काशीराज पौडेल म्यानपावरमार्फत श्रम सम्झौता बुझेरमात्र जाने तरखरमा छन्। कतारमा रहेका साथी र अन्य आफन्तले भिसा पठाउने भन्दा पनि उनले व्यक्तिगत भिसामा जाने रहर गरेनन्। ‘व्यक्तिगत भिसामा जानु जोखिम भएर नै म संस्थागत रूपमा जान लागेको हुँ,’ उनले भने, ‘तर, संस्थागत रूपमा पनि ठगिइने डर भएकाले धेरै कुरा बुझिरहेको छु।’ पत्रपत्रिकामा विभिन्न समाचार पढेपछि उनी यस्तो निष्कर्षमा पुगेका हुन्। 

वर्षमा झन्डै डेढ अर्ब रुपैयाँको ठगी हुने गरेको वैदेशिक रोजगारीको कारोबारबारे अहिले युवाशक्ति जानकार हुन थालेको छ। म्यानपावर कम्पनीबाट भएको ठगीको क्षतिपूर्ति उठाउने, विदेशी कम्पनीमा भएको ठगीबारे पनि क्षतिपूर्ति लिन सकिनेलगायत सुविधा भएपछि व्यक्तिगत भिसाभन्दा संस्थागत भिसामा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ।
नेपालगञ्जका श्यामसिंह परियार पनि दुई पटक संस्थागत रूपमा नै मलेसिया पुगेर आएका हुन्। भन्छन्, ‘संस्थागत रूपमा जाँदा भनेको कम्पनीमा पुगिने र सुरक्षित हुने महसुस गरेर पनि म फेरि संस्थागत रूपमा जान खोजेको हुँ।’
वैदेशिक रोजगार विभागमा दर्ता भएका म्यानपावर कम्पनीबारे बुझेर, परामर्श गरेर यस वर्षदेखि रोजगारीमा जानेको संख्या बढ्न थालेको छ। ‘व्यक्तिगत भिसामा काम एउटा भने पनि अर्को गर्नुपर्ने बाध्यता मैले मलेसियामा झेलेँ। अव कतार जान लागेको छु। त्यहाँ चाहिँ संस्थाबाट नै जाने हो,’ विभाग परिसरमा भेटिएका रौतहटका कसमस कार्की भन्छन्, ‘अहिले पनि म म्यानपावर कम्पनीको दर्ता र कामबारे बुझ्न यहाँ आएको हुँ।’
गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनात्मक तालिकाले पनि बुझेर विदेश जानेको संख्या बढेको देखाउँछन्। आर्थिक वर्ष ०६८/६९ को तुलनामा चालु आर्थिक वर्ष ०६९/७० मा व्यक्तिगत श्रम स्वीकृति लिने घटेका छन्। अघिल्लो वर्षको तुलनामा झन्डै ९० प्रतिशतले व्यक्तिगत श्रमस्वीकृतिमा फरक देखिएको छ।

वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रमस्वीकृति जोखिम मानिन्छ। यसमा कमी आउनु राम्रो भए पनि यस्तो श्रमस्वीकृतिमा बर्सेनि महिलाको संख्या बढ्नु चाहिँ नराम्रो भएको वैदेशिक रोजगार विभागका अधिकारी बताउँछन्।
युवाहरू वैदेशिक रोजगारीमा जानका लागि सुरक्षित बाटोतिर लागे पनि महिलाहरू भने व्यक्तिगत भिसामा धेरै जाने गरेका छन्। सरकारले घरेलु कामदारका लागि पनि संस्थागत प्रणालीको विकास गरेको छ। तर, त्यो व्यवस्थित हुन सकेको छैन। खाडीलगायत मुलुकमा महिला घरेलु कामदारका रूपमा जानुपर्ने भएकाले संस्थागत माग नआउँदा महिलाहरू व्यक्तिगत भिसामा जान बाध्य भइरहेका छन्। संस्थागतका लागि नेपालबाट कानुनी पाटो बलियो बनाइएको छ। तर, सम्बन्धित मुलुकका कम्पनीले त्यसरी माग नगरेका कारण समस्या भएको विभागका अधिकारी बताउँछन्।

शुक्रबार साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *