काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य गत साताको तुलनामा प्रतितोला रु ८०० ले कमी भई आज बजारमा कारोबार भएको जनाएको छ। गत साता प्रतितोला रु ५८ हजार ६०० मूल्य कायम भई बिक्री भएको सुनको मूल्य आज प्रतितोला रु ५७ हजार ८०० मा कारोबार भएको हो।
तेजावी सुनको मूल्य गत साता प्रतितोला रु ५८ हजार ३५० रहेकामा प्रतितोला रु ८०० ले घटेर प्रतितोला रु ५७ हजार ५५० मा कारोबार भएको छ। त्यसैगरी, असली चाँदी प्रतितोला रु एक हजार १३० बाट रु २० ले कमी भई एक हजार ११० मा कारोबार भएको सङ्घले जनाएको छ।
नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएका कारण नेपालबाट सुन भारततर्फ निकासी हुने सम्भावना देखिएपछि सङ्घको आग्रहमा सरकारले शुक्रबारमात्र सुनको भन्सार मूल्यमा वृद्धि गरी प्रति १० ग्राम तीन हजार कायम गरेको थियो। यसअघि प्रति १० ग्राम दुई हजार ३०० थियो।
सङ्घका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा कमी आएको हुँदा नेपालमा पनि मूल्य घटेको जानकारी दिए। उनले अहिले विवाह व्रतबन्धलगायतका शुभसाइत तथा लगनको मौसम भएकाले बजारमा दैनिक ४० किलो सुनको माग रहेको भए पनि आपूर्ति दैनिक १५ किलोमात्र हुने गरेको बताए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *