एजेन्सी- सामाखुशीका युवा राजीव शाक्य गुगल सर्चमा सक्रिय छन्। छाती दुखेको उनको समस्याको कारण पहिचानका लागि उनी सर्च इन्जिनमा छिरेका छन्। चेस्ट पेनदेखि आफ्नो दुखाइलाई गुगलसामु पस्किँदै उनले समस्याको कारण पहिचान गरिरहेका छन्। ‘उपचार गर्ने आधार फेला पर्नसक्छ,’ उनले मुस्काउँदै सुनाए, ‘यहीँबाट जानकारी पाउने हो भने किन अस्पताल धाइरहने? आफँैबाट सल्टने हो भने हेरौँ भनेर हो।’
राजीवमात्र होइनन्, गुगललाई डाक्टरका रूपमा स्विकार्ने जमात युवापुस्तामा धेरै छ। आफूलाई परेका समस्या सर्च इन्जिनमा टाइप गर्ने र त्यसबारे डिटेल सूचना खोज्नु सामान्य हुँदै गएको छ। अरू क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि गुगल सर्च सामान्य बन्दै गइरहेको छ।
नेपालमा सर्च इन्जिनबारे खासै अध्ययन भएका छैनन्। त्यसैले गुगललाई डाक्टर बनाउनेको कुनै यकिन तथ्यांक उपलब्ध छैन। पश्चिमा मुलुकमा भने अहिले गुगल डाक्टरको प्रयोग ह्वात्तै बढेको छ। अमेरिकमा त ३५ प्रतिशतले कुनै समस्या आयो भने गुगल डाक्टरलाई सोध्न भ्याइहाल्ने रहेछन्। गुगलबाट उनीहरू आफ्नो मेडिकल कन्डिसन बुझ्ने रहेछन्। पाअ रिसर्च सेन्टरले वासिङ्टन डिसीका वयस्कहरूबीच एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षणको परिणामले देखायो– गुगल डक्टरको प्रयोग गर्नेहरूमध्ये ५९ प्रतिशतले उपचारको आधारसमेत फेला पार्ने रहेछन्।
तीन हजार १४ जनाबीच गरिएको सर्वेक्षणअनुसार आफ्नो स्वास्थ्य राम्रो या नराम्रो भएको बुझ्न उनीहरूले सर्च इन्जिन प्रयोग गर्न थालेको तथ्य बाहिर आएको हो। कतिपयले समस्या समाधानमात्र होइन, मानसिक तानवबाट मुक्त हुन पनि गुगल डाक्टरको प्रयोग गर्ने गरेका रहेछन्।
गुगल डाक्टर?
गुगलको सर्च इन्जिनमा लगातार चिकित्सकीय परामर्श हुनेे क्रम सुरु भएपछि गुगल आफैँले बजारको यो महŒवपूर्ण हिस्सा किन बुझ्दैन थियो र? फलस्वरूप गुगल आफैँले डा. गुगलको सुरुवात गर्‍यो। व्यावसायिक रूपमा गुगलले यसबाट के–कति लाभ लिन सक्यो यकिन गर्न सकिने अवस्था छैन तर यसले इन्टरनेट चलाउनेका लागि स्वास्थ्य सुझाव दिन थाल्यो।
तपाईं fffff.at/drgoogle मा गएर गुगल डाक्टरलाई आफ्नो समस्या बताउन सक्नुहुन्छ। त्यसपछि यो सर्च इन्जिनले तपाईंको रोगको पहिचान गरी सुझाव दिन्छ। त्यसअनुसार थप उपचार गर्नेतिर लाग्नुस् अथवा आफ्नो रोगको सम्भावित कारणबारे पूरा जानकारी पाउनुस्।
स्वयं उपचार गर्नेका लागि यो सबैभन्दा सजिलो उपायसमेत हो। यसका लागि तपाईंले अंग्रेजी भाषामा आफ्नो समस्या लेख्नुपर्नेछ। यसको विस्तार हुने क्रम बढेपछि गुगलले पक्कै पनि विभिन्न भाषामा यो सेवा उपलब्ध गराउनेछ। डाक्टर गुगलले तपाईंको सरोकारका कुरालाई मात्र खोज्ने काम गर्छ। मतलब गुगल सर्चले जस्तो टाइप गरेका की–वर्डहरू सबै बटुलेर छान्ने समस्या पैदा गर्दैन।
आउनासाथ विवादमा
डक्टर गुगल सुरुवातसँगै विवादको घेरामा परिहाल्यो। चिकित्सकहरू यसको पक्षमा उभिइहाल्ने अवस्था त स्वाभाविक पनि होइन। कितापकै कारणले मात्र उपचार सम्भव हुन्थ्यो भने सबैलाई कितापै बाँडे भइहाल्थ्यो। चिकित्सकको आवश्यकता नै पर्ने थिएन।
डाक्टर गुगलले दिने सूचना भनेको रोगको पहिचान र त्यसअनुसारको उपचार के हुनसक्छ भन्ने नै हो। यो सबै सर्च इन्जिनमा रहेको मेडिकल डेटाबेसका आधारमा तयार भएको हुन्छ। त्यसैले चिकित्सकहरूले सुरुमै यसको विरोध गरे। उनीहरूले विरोध गर्नु स्वाभाविक किन थियो भने एउटा लक्षणले सबै रोगको निदान गर्न सक्दैन। जस्तो कि लामो समय टाउको दुख्यो भने उसको रगत परीक्षणदेखि सिटी स्क्यान र एमआरआई गर्नेसम्म पुग्नुपर्ने हुन्छ। त्यो कुनै चिकित्सकको निगरानीभन्दा बाहिर गएर गर्न सकिने कुरै होइन।
अर्कोतर्फ चिकित्सकको परामर्शबिना नै मानिसहरूले उपचार गर्न थाल्ने हो भने त्यसले थप संकट निम्तिनसक्ने उनीहरूको तर्क छ।

‘डाक्टरलाई नै सहयोगी’
अस्ट्रेलियाका डाक्टरहरूले गरेको एउटा अध्ययनले जति विवाद भए पनि प्रविधिको यो विकासलाई महŒवपूर्ण मानेको छ। यो डाक्टरहरूकै लागि सहयोगी हुने उनीहरूको तर्क छ। सर्च इन्जिनबाट वस्तुपरक सूचना आउने हो भने यसले स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउने उनीहरूको दाबी छ।
प्रिन्सेस एलेक्जेन्डर अस्पतालका डाक्टरहरूले २६ फरक–फरक केसलाई गुगल डाक्टरसँग परीक्षण गराए। यीमध्ये १५ केसमा जे रोग हो, त्यसकै पहिचान गर्‍यो यो इन्जिनले। साथै, उपचारका लागि उसले दिएको सुझाव व्यावहारिक थियो। यसकै आधारमा उनीहरूले उपचारका लागि गुगललाई सहयोगीका रूपमा लिनुपर्ने तर्क गरेका छन्। उनीहरूले त कतिपय कठिन रोगका उपचारका लागि यो वरदान नै हुनसक्ने तर्क गरेका छन्।

तर, पख्नुस्
राजीव शाक्यले आफ्नो रोगको लक्षणअनुसार के भएको रहेछ भन्ने गुगलबाट जानकारी लिएजस्तै सबैले यसैअनुसार गर्नुभने हानिकारक हुनसक्छ। पश्चिमा देशमा डाक्टरको पेस्त्रि्कप्सनबिना कुनै पनि औषधी किन्न पाइन्न। त्यसकारण गुगलले यस्तो सुविधा दिँदादिँदै पनि मानिसहरू चिकित्सकको परामर्शबिना कुनै पनि औषधि प्रयोग गर्न पाउँदैनन्। हामीकहाँ त्यो अवस्था छैन। जोसुकैले जुनसुकै औषधि किन्न सक्ने अवस्था छ। त्यसैले प्रविधिले दियो भन्दैमा जथाभावी प्रयोग गर्दा हामी रोग निदान गर्नेभन्दा पनि रोग बढाउनतिर अग्रसर भइरहेका हुनसक्छौँ। होस गरौँ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *