डी. विनोद- खाडीका विभिन्न मुलुक नेपाली श्रमशक्तिका लागि रोजगारीको गतिलो गन्तव्य बनेका छन्। कतार, साउदी अरेबिया, कुवेत, युएईसँगै बहराइन र ओमानमा पनि नेपाली कामदार जाने क्रम बढेको छ। दूतावास नभए पनि ओमान अहिले राम्रो गन्तव्य भएको छ। कम लगानीमा जान सकिने र राम्रो आम्दानी हुने भएकाले नेपाली युवायुवती ओमान यात्राका लागि तयार हुने गरेका छन्।

साउदी अरब र मलेसिया पुगेर आए पनि एकपटक ओमान जाने रहरमा अहिले श्रम स्वीकृतिका लागि विभाग धाउने काममा व्यस्त छन्, जनकपुरका रामविलास महतो। उनी भन्छन्, ‘मलेसिया र साउदी अरबमा काम गरेर आइयो। अब ओमान जाने तयारीमा छु। सुनेको छु, त्यहाँ राम्रो आम्दानी हुन्छ।’

अन्य खाडी मुलुकको तुलनामा ओमान ‘खुकुलो’ भएकाले पनि नेपाली श्रमशक्तिको आकर्षण बढेको हो। त्यहाँ रहेका कम्पनीमा अवैधानिक रूपमा काम गर्ने नेपाली पनि कम छैनन्। तर, अवैधानिक प्रक्रियाबाट जाने कामदार जुनसुकै बेला पनि त्यहाँको कानुनी दायरामा आउनसक्ने भएकाले अहिले श्रम स्वीकृतिमार्फत जानेको संख्या बढेको छ।
निर्माण कम्पनीमा काम गर्न ओमान जान तयार अर्का व्यक्ति हुन्, काभ्रेका दीपक लामा। भन्छन्, ‘ओमान जाने तयारीमा छु। विदेशको अनुभव लिएरमात्र होइन, पैसा पनि कमाएर आउने आशा छ।’ अन्य मुलुकमा कम तलब र ज्यादा काम गर्नुपर्ने तथा कानुन पनि कडा भएको सुनेपछि अलि खुकुलो मुलुक ओमान जान उनी तयार भएका हुन्। उनी थप्छन्, ‘रोजगारीमा जानु परेपछि राम्रैसँग आम्दानी गरौँ भन्ने रहर पनि हो।’
अहिले ओमान गतिलो गन्तव्य बनेको वैदेशिक रोजगार विभागको तथ्यांकले पनि देखाएको छ। विभागका अनुसार साउनदेखि मंसिरसम्म ओमानका लागि श्रम स्वीकृति लिएर जानेको संख्या दुई हजार छ सय २१ पुगेको छ। यीमध्ये एक सय ८२ महिला श्रम गर्न त्यहाँ पुगिसकेका छन्। कतारलगायत मुलुकमा पुगेका नेपाली कामदारको संख्याको तुलनामा कम भए पनि ओमानजस्तो मुलुकमा भएको मागको आधारमा यो संख्या उच्च रहेको विभागको ठहर छ।
अहिले महिलाहरू पनि ओमान जाने प्रक्रियामा सामेल छन्। उनीहरू लेबर कामका लागि नभई घरेलु कामदार भएर त्यहाँ जाने तयारीमा छन्। सरकारले तयार गरेको न्यूनतम आधारको सुविधा ग्यारेन्टी भएपछि खाडीमा पनि समस्या नहुने देखेपछि मोरङकी शर्मिला राई ओमान जान तयार भएकी हुन्। उनी भन्छिन्, ‘कतारका लागि तयारी गरेको थिएँ। तर, ओमानमा पनि राम्रो आम्दानी देखेपछि त्यहाँ जान लागेकी हुँ।’
ओमानका लागि सरकारले आधिकारिक रूपमा कामदार पठाउन वैधानिकता दिएको लामो समय भएको छैन। विसं २०६६ यतामात्र आधिकारिक रूपमा नेपाली कामदार ओमान जाने बढेको देखिन्छ। तर, त्यसअघि नै अवैधानिक रूपमा पनि उक्त मुलुकमा नेपाली कामदारको संख्या उल्लेख्य थियो।
हुन त खाडी मुलुकको ओमानमा कार्यरत गैरकानुनी कामदारहरूलाई घर फिर्न दिएको मौका (एम्नेस्टी) मा निकै कम नेपाली सहभागी पनि भएकै हुन्। त्यसयता आधिकारिक रूपमा त्यहाँ पुग्नेको संख्या पनि कम नभएको विभागको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष ०६५/६६ को तथ्यांकअनुसार चार हजार एक सय पाँच जना पुरुष र एक सय ४२ जना महिला आधिकारिक रूपमा त्यहाँ पुगेका थिए। पछिल्ला आर्थिक वर्षहरूमै उच्च संख्या थियो। ०६६/६७ मा दुई हजार छ सय ७८ पुरुष र छ सय सात जना महिला त्यहाँ पुगेका थिए। यस आर्थिक वर्षमा चाहिँ महिलाको संख्या अहिलेसम्मकै उच्च रहेको विभागले जनाएको छ। ०६७/६८ को तथ्यांकअनुसार दुई हजार तीन सय ८५ जना पुरुष र ५७ जना महिला श्रमको खोजीमा ओमान पुगेका थिए भने ०६८/६९ मा दुई हजार आठ सय ६८ पुरुष र दुई सय ९५ महिला ओमान पुगेका थिए।

यो आधिकारिक तथ्यांक भए पनि भारत तथा अन्य मुलुकको बाटो हुँदै निकै नेपाली श्रमशक्ति ओमानमा कार्यरत छन्, जसको अध्ययनका लागि सरकारले चासो देखाएको छैन। हालसम्म ओमानमा झन्डै २० हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ।

-शुक्रबारबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *