एजेन्सी- सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले छिट्टै नयाँ म्यासेन्जर एप्स सञ्चालनमा ल्याउने भएको छ। फेसबुक प्रयोगकर्ताले यो एप्सबाट आफ्ना साथीहरूसँग निःशुल्क कुराकानी गर्न सक्नेछन्। यो फिचरको सुविधा अहिले क्यानडामा रहेका स्मार्टफोन प्रयोगकर्ताहरूले प्रयोग गर्न थालिसकेका छन्। यसको अन्तिम अपडेट पूरा भइनसकेकाले अन्यत्र यो सुविधा उपलब्ध गराइएको छैन। सफल परीक्षणपछि प्रयोगमा आउने यो एप्सले फेसबुकका प्रयोगकर्ताबीच निःशुल्क कुराकानीको अवसर जुटाउने छ। इन्टरनेट भ्वाइसकल अर्थात् भिओआइपी प्रविधिमार्फत फेसबुकले यस्तो सुविधा उपलब्ध गराउन लागेको हो।
प्रविधि क्षेत्रका विज्ञहरूले विश्वकै ठूलो साम्राज्य खडा गरेको सामाजिक सञ्जालले आफ्नो वर्चस्व कायम गर्न नयाँ एप्स ल्याउन लागेको जनाएका छन्। डेली मेलले उनीहरूलाई उद्धृत गर्दै लेखेको छ– मोबाइल फोनमै फेसबुकको एप्सबाट कुराकानी गर्न सकिनेछ।
कुराकानी गर्न मिल्ने यो एप्समात्र होइन, फेसबुकले एकैपटक फेसबुक म्यासेन्जर पनि ल्याउने तयारी गरिरहेको छ। यो सुविधा थपिएपछि फेसबुकका प्रयोगकर्ताहरूले भ्वाइस मेल–टाइप म्यासेज पनि पठाउन सक्नेछन्। यी दुवै सुविधा भएका फिचरहरू फेसबुकमा एकैपटक आउने बताइएको छ।
सामाजिक सञ्जालको संख्या विश्वमा दिन प्रतिदिन बढिरहेको छ। कुनै पनि प्रतिस्पर्धी कहीँबाट पनि आउनसक्ने भएकाले स्थापित भइसकेका कम्पनीहरू नयाँभन्दा नयाँ सुविधा थप्ने होडमा छन्। र, यही होडलाई फेसबुकले पछ्याउँदै छ। भ्वाइस मेलपछि फेसबुकले भिडियो म्यासेजको लागि पनि तयारी गरिरहेको छ। कम्पनीले पोक एप्सबाट प्रयोगकर्ताबीच यो सुविधा उपलब्ध गराउने तयारी गरेको छ। प्रयोगकर्ताले रातो रेकर्ड अप्सनमा दबाएपछि भिडियोबाट आफ्ना कुरा रेकर्ड गरी पठाउन सक्ने सुविधा यसमा समावेश गरिँदै छ।
टेकक्रन्च लेखक जोश कन्टाइन विभिन्न एप्सहरूको प्रयोग गरी म्यासेज ड्राइभलाई रेकर्डिङ वेभमार्फत अरू साथीहरूमा पुर्‍याउन सकिने तर्क गर्छन्। तर, एप्स पूर्ण रूपमा तयार भएर नआएसम्म यसका अरू सुविधा के हुनेछन् भन्ने अनुमानमात्रै गर्न सकिने कुरा हो। भ्वाइस मेललगत्तै भिडियो म्यासेजको सुरुवात हुनेमा कन्टाइन विश्वस्त छन्। किनकि प्रविधिको प्रतिस्पर्धामा कुनै मिति कुरेर बस्यो भने अर्कै कम्पनीले ठाउँ खोसिदिन्छ।
अमेरिकाको जनसंख्याअनुसार दश जनामा एकको हातमा स्मार्टफोन छ, जुन फेसबुकले तयार गर्ने एप्सका लागि उपयुक्त छ। संख्या कम भए पनि स्मार्टफोन प्रयोगकर्ताको अवस्था क्यानडामा पनि करिब उस्तै छ। त्यसैले परीक्षणका लागि क्यानडालाई छानिएको हो। क्यानडामा परीक्षण सफल हुनासाथ यो विश्वव्यापी हुनेछ। अहिले यसको परीक्षण क्यानडाभित्र रहेका साथीहरूबीचमात्र सम्भव छ। तपाईंको कुनै साथी क्यानडामा छन् भने उनले नेपालमा रहनुभएका तपाईंसँग फेसबुकमा यस्तो सुविधा प्रयोग गर्न सक्दैनन्। तर, क्यानडामा नै रहेको अर्को साथीसँग भने यो सुविधामा कुरा गर्न थालिसकेका छन्।
यो सुविधाका लागि फेसबुकले अहिलेसम्म कुनै शुल्क लिने तयारी गरेको छैन। तर, यो प्रविधि फेसबुकले निःशुल्क पाउने सुविधा पनि होइन। फेसबुकले केही योजना अगाडि सार्ने सम्भावना पनि छ। साथै सामाजिक सञ्जालले दिने यो सुविधाले टेलिफोन कम्पनीहरूलाई पनि ठूलो असर पार्ने छ। यस्ता खाले समस्या समाधान गरेर फेसबुकले ल्याउने भ्वाइस मेल म्यासेन्जर र भिडियो म्यासेन्जर चलाउन तयार भने भए हुन्छ।
फेसबुक अहिले विश्वमा सबैभन्दा बढी चलाइने वेबसाइटमा पहिलो स्थानमा रहेको छ। यसले सर्च इन्जिन गुगललाई विश्वको एक नम्बरबाट हटाएर आफूलाई शीर्ष स्थानमा राखेको छ। तर, स्वभावैले शीर्ष स्थानमा टिक्नु शीर्षमा उक्लिनुभन्दा कठिन कुरा हो। फेसबुकका लागि यो अहिले सबैभन्दा ठूलो चुनौती पनि हो। सेयर बजारमा गएपछि यो कम्पनीले सोचेअनुसार कारोबार गर्न सकेन। सेयर बजारमा सूचीकरण हुनु कतै गलत त थिएन भन्नेहरू पनि उत्तिकै थिए। अर्कोतिर सामाजिक सञ्जालको क्षेत्र विस्तारमात्र होइन, विश्वका धेरै ठाउँबाट यसका प्रतिद्वन्द्वीहरू जन्मने क्रम जारी रह्यो।
शीर्षमा स्थान जमाइरहनकै लागि भए पनि केही नयाँ गर्नु फेसबुकका लागि बाध्यकारी रह्यो। यो सामाजिक सञ्जालको प्रयोगकर्ता बढ्ने अथवा यसको प्रतिस्पर्धीहरू पछाडि नै छाडिने हो भने फेसबुकको सेयर पनि महँगिने निश्चित छ। त्यसैले फेसबुकका लागि प्रविधिमा सुधार र अपग्रेड अनिवार्य भइसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *