भरत पाण्डेय- सात वर्षसम्म दसैँ मनाउन नपाएका चितवन भरतपुरका निमकान्त पाण्डेले विदेशी भूमिमा दसैँका दिन घर परिवार सम्झेरमात्रै बिताउनुपर्‍यो। ‘दामभन्दा पनि काम र माम चाहिने, अर्काको देशमा भनेजस्तो भएन’, दुवईको इमिरेट्स इन्टरनेसनल स्कुलमा सवारीचालक रहेका पाण्डेले भने, ‘बिहान ५ बजे ड्युटी गएको हूँ, बडादसैँको दिन त झन्।’

देशमा सबैभन्दा ठूलो पर्व धुमधामसँग मनाइँदै गर्दा रोजगारीका लागि विदेश जानेहरुले दसैँको समयमा छुट्टी पाएनन् र नीहरुको दसैँ खल्लो भयो।

अर्घाखाँची अर्घातोस–१ गर्छा घर भई भारतको गाजियावादमा कृष्णसार होटलमा काम गर्ने रवि कुँवर विजयादशमीको दिन एक दिनको छुट्टी माग्दा मालिकले हपारेर जागिरबाटै निकाल्ने धम्की दिएको बताए।

‘परदेश पसेपछि कहाँ सोचेजस्तो हुन्छ र!,’ उनले भने, ‘दशमीको दिन बुवाआमाको साह्रै याद आएर साथीभाइसँग भेटेर भए पनि चित्त बुझाउँला भनेर एक दिनको छुट्टी मागेको थिएँ, तेरो हिसाब लिएर जा भन्यो।’

पाण्डे र कुँवरमात्रै होइन रोजगारीको सिलसिलामा भारतलगायतका विभिन्न देशमा गएका नेपालीले दसैँमा गाउँघर सम्झेर रुँदै दिन बिताउनुपर्‍यो। एकातिर आफूले विदेशमा दसैँको समयमा समेत छुट्टी नपाउने र अर्कोतिर घरमा परिवारका सदस्य एक्लै हुँदा ठूलो छटपटी भएको नेपाल पत्रकार महासङ्घ युएई शाखाको सदस्यसमेत रहेका पाण्डेको दुःखेको छ।
‘चाडपर्वमा हामी त निरास हुन्छौं, परिवारसमेत निरास हुन्छ, छोराछोरीले पनि हामीलाई त चाडपर्व नआइदिए हुन्थ्यो भन्दा त सार्‍है नमज्जा लाग्छ,’ उनले भने। विदेशमा बसेर काम गर्ने धेरै नेपाली दसैँमा रुँदै र घरपरिवार सम्झदै बसे। महानपर्व दसैँको अवसरमा नेपालमा सबैभन्दा लामो बिदा हुँदा विदेशमा काम गर्नेहरुले भने सबैभन्दा धेरै काम गर्नु परेको दुःखेसो गरे।

‘विजयादशमीको दिन झन् बिहान ८ देखि राति १० बजेसम्म ड्युटी गर्नुपर्‍यो,’ कतारमा रोजगारीको सिलसिलामा रहनुभएका धुर्कोट रजस्थल–७ किमुखर्कका खड्क सेन ओलीले भने, ‘घरबाट यो दसैँमा आइज भनेका थिए, घर जान त पाइएन पाइएन, दसैँमा त झन् समयमै खान पनि पाइँन धेरै साथीहरु रुँदै बस्दै गरे।’

काभ्रेको भन्ज्याङ गाविस–८ घर भई अहिले कतारमा काम गरिरहेका यमबहादुर गुरुङले सधैँ घरपरिवारसँग छुटेर रुँदै बस्नुपरेको स्मरण गर्दै अब कहिल्यै दसैँ नमनाउने निर्णय गरेको बताए।

कुनैकुनै नेपाली दाजुभाइले लुकिछिपी कम्पनीमा खसी काटेर वा रमाइलो गरेर दसैँ मनाउन खोजे पनि घरको सम्झनाले रुवाएको गुल्मी ईश्माका नेत्र अर्यालले बताए। ‘कम्पनीमा खाना बनाउन पाइँदैन। त्यसैले हिजो बेलुकी काम सकेर सबै साथी जम्मा भई काँक्रो, गाजर, स्याउ, सुन्तला, प्याज र जुस ल्यायौं,’ उनले भने।

नेपालको राजनीतिक अस्थिरताले गर्दा देशमा केही गर्ने वातावरण नभएपछि बाध्य भएर विदेशिनु परेकाले देशमै काम गर्ने वातावरण बनिदिए स्वदेशमै केही गर्ने इच्छा उनीहरुको छ। चितवनका निमकान्त भने, ‘छोराछोरीको पढाइका लागि मात्र भएपनि मनका रहर सबै दबाएर मरुभूमिमा आँसु पिएर काम गर्न बाध्य छु। नेपालमै केही गर्छु भन्ने रहर त हो तर देशमा सधैँ कचिङ्गल भइरहने भएकाले आएर पनि केही गर्न नसकिने हो कि भन्ने चिन्ताले सताउँछ।’

विदेश पस्नु नेपालीको रहर नभइ बाध्यता भए पनि सरकार र सम्बन्धित निकायले पहल नगरी दिँदा आफूहरु अर्काको देशमा खुशीसाथ बस्न नसकेको धेरै नेपालीको गुनासो छ। ‘छुट्टै धर्म, छुट्टै संस्कृति भएका देशमा हामीले भनेजस्तो त कहाँ हुन्छ र तर नेपाल सरकारको तर्फबाट पहल हुने हो भने विजयादशमीको दिन एक दिन नेपालीलाई बिदा मिलाउन सकिन्छ होला नि?’ स्नातकोत्तर पढ्दापढ्दै दक्षिण कोरिया पुगेका धुर्कोट वस्तुका रमेश भण्डारीले भने।
दसैँमा कुवेतमा सँगै बसेर रमाइलो गर्न पाएकामा त्यहाँका नेपालीहरुले भने खुसी व्यक्त गरेका छन्।

दूतावासको सेल्टरमा दूतावासकी श्रमसहचारी सिर्जना तिवारीले सामूहिक टीका लगाइदिएको र त्यहाँ खसी काटेर विजयादशमीका दिन भोजभतेर गरिएको समाचार छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *