काठमाडौं- उपप्रधानमन्त्री विजयकुमार गच्छदार ले आर्थिक अनुशासन विपरीतका क्रियाकलाप, गैरव्यावसायिक चरित्र, आपराधिक सञ्जालसँगको हिमचिमलगायत अन्य अनैतिक व्यावहारिक विरुद्ध गृह मन्त्रालयले शून्य सहनशीलताको नीति अख्तियार गरिरहेको बताएका छन् ।
सन्ताउनौँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गच्छदारले त्यस्ता गैरव्यावसायिक क्रियाकलापलाई सङ्गठनभित्र स्थान दिइएमा कालान्तरमा सङ्गठनलाई नै दूषित तुल्याउने हुँदा त्यस्ता प्रवृत्तिको पहिचान र निदानका लागि दृढ रहन प्रहरीलाई निर्देशन दिए ।

उनले स्थापनाकालदेखि नै हालसम्म सङ्गठनले बेहोर्नुपरेका अनेकौं चुनौतीलाई सामना गर्दै नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउने हरेक समय र चक्रमा सङ्गठनका कर्मठ सदस्यले पुर्याएको योगदानको प्रशंसा गरे ।

नागरिकप्रतिको सेवाभाव नै नेपाल प्रहरीको आदर्श रहिआएको उल्लेख गर्दै गृहमन्त्री गच्छदारले यही कर्तव्यप्रतिको समर्पण भाव नै नेपाल प्रहरीको शाश्वत ऊर्जा एवम् वास्तविक शक्तिको आधार रहेको बताए । गृहमन्त्रीले भने,‘बृहत् र विस्तृत जिम्मेवारी निर्वाह गरेको नेपाल प्रहरी नै यस्तो सङ्गठन हो, जसले राज्यका धेरै विकृति, विसङ्गति र बेथितिमा सुधार ल्याउन सक्ने सामथ्र्य राख्छ । तर, यसका लागि नेपाल प्रहरीका सदस्यले आफ्नो व्यक्तिगत स्वार्थ, अकर्मण्यता र असमञ्जस्यताको घेरा तोड्दै आफ्नो सेवालाई नागरिक केन्द्रित बनाउँदै उपलब्धिउन्मुख साङ्गठनिक संस्कार सिर्जना गर्नुपर्छ ।’

सो अवसरमा गृहमन्त्रीले त्यहाँस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाउनाका साथै अमर परिवारका परिवारलाई कदरपत्र प्रदान गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *