– सावित्रा काफ्ले

स्थानीय रेलमा सप्ताहन्त बिताउन एउटा यात्रा तय भयो र मैले पनि आफ्नो झोलीतुम्बा बोकेर हिँडेँ। नजिकै दुई नेपाली दिदीबहिनीहरु तीज मनाउने योजना बनाउँदै हुनुहुन्थ्यो। झलक्क हेर्दा मान्छेहरु मलाई नेपाली भन्ठान्दैनन्। त्यसैले म पनि मुसुक्क हाँसेँ र छेउको सिटमा गएर बसेँ। मेरो उद्देश्य त्यो छलफलमा सहभागी हुनुभन्दा त्यसलाई सुन्नु थियो, गैरनेपाली भएर । दुई दिदीबहिनी कुन सारी लगाउने, कतिबेला मन्दिर जाने र बाँकी समय कता बिताउने भन्नेमा व्यस्त हुनुहुन्थ्यो। त्यति नै बेला नयाँ सारी ल्याउन नपाउने कुरामा ब्यग्र पनि देखिनु हुन्थ्यो। म भित्रभित्रै रमाइरहेकी थिएँ, त्यो वार्तालापमा तर मैले कुनै छनक दिइनँ।

प्रवासमा रहेका नेपाली महिलाहरु एक हिसाबले खुसी देखिन्छन् किनकि उनीहरुबीच त्यो सामाजिक बन्धन छैन, बिहान उठी गर्नुपर्ने दैलोपोतोको झन्झट छैन । मन नपरे पनि देखाउनुपर्ने अनावश्यक बुहार्तनको जिम्मेवारी छैन । सामाजिक संस्कारबाट हुने परिबन्दहरु छैनन् । आफू खुसी गर्न पाउने पहिरन र हिँड्न पाइने बाटो देख्दा महत्वपूर्ण नभए पनि नेपाली महिलाका लागि ठूलै अवसर र उपलब्धि हो। तर के यसैमा खुसी होलान् त प्रवासका महिला ? यो प्रश्न जटिल छ किनकि विभिन्न परिवेशमा रहेका प्रवासी नेपालीहरुका आफ्नै कथा र व्यथा छन्।

अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा बेलायतजस्ता देशहरुमा रहेका नेपाली महिलाहरु भागदौडको चपेटामा परेका छन् । महिला हुनुको भूमिकामा जुन जिम्मेवारी छ, त्यसबाट उम्कन सकेका छैनन् । जस्तैः बच्चाको लालनपालन गर्नु, घरको काम गर्नु । त्यसका साथसाथै रातदिन खटिनुपर्ने ज्यालादारी काम, अथवा अर्को भाषामा भन्नुपर्दा पैसा कमाउने मेलोमा खटिनु पनि छँदैछ । हुन त त्यसैलाई धेरै महिलाहरु सामाजिक बन्देजमा बाँधिनु पर्ने नेपाली दिनचर्याभन्दा सन्तोषजनक मानेका छन् । तर यतिबेला स्मरण गर्नुपर्ने अर्को कुरा के हो भने ती सामाजिक र सांस्कृतिक पर्वमा भने उनीहरु उत्तिकै रमाउन चाहन्छन्, व्यस्त समयका बावजूद । एकातिर विदेशी वातावरणमा घुलमिल हुनुपर्ने चुनौतीपूर्ण काम छ भने अर्कोतिर नेपाली त्यो पनि महिला, अझै त्यसमाथि थपिन्छ बुहारी’को भूमिका । खैर, ऊ जतासुकै किन नहोस् । यो सबै अपेक्षाहरुलाई सन्तुलन गरेर लानु सजिलो त छैन तर के कति सफल छन् र सन्तुष्ट पनि छन् भन्ने चाहिँ आँकलनको अर्को पाटो हुनसक्छ ।

तीजमा रातो सारी लगाएर छमछमी नाच्ने रहर पनि छ । दशैँमा रातो टीका र जमरा लगाएर माइती जाने इच्छा पनि छ र तिहारको देउसी भैलो पनि बिर्सन मन छैन तर त्यति नै बेला कामको चापाचाप छ, जुन उताको असार अथवा मङ्सीरभन्दा कम छैन । हुन त यो महिला मात्र होइन, पुरुषको पनि दैनिकी हो तर फरक के छ भने महिलाहरु चाडपर्वमा अलि बढी पहिरनलाई महत्व दिन्छन् । यी हल्का कुराहरु आफ्ना ठाउँमा छन् तर गहन कुरा के हो भने खाडी मुलुकमा कामदारका रुपमा रहेका महिलाहरुको स्थितिबारे को कति गम्भिर छ भन्ने हो ।

समाचारमा पटक–पटक खाडीका महिलाहरुले सहनु परेको पीडा र भोग्नु परेको यातनाका बारेमा पढिन्छन्, सुनिन्छन् र कसैकसैबाट लेखिन्छन् पनि । एउटा कमजोरी भनौँ वा परिपाटी हामीले सधैँ आफू भएर मात्र हे¥यौँ वा परिपाटी हामीले सधैँ आफू भएर मात्र हेर्यौँ या आफ्ना भौतिक परिधिका चित्रहरुबाट मात्र हे¥यौँ शायद त्यसैले होला हामीले ती महिला भएर महसुस गर्न सकेनौँ, चित्रण गर्न सकेनौँ, तिनका रातदिनका पीडा र विलापहरु । दुई छाक मिठो खाने, एकसरो राम्रो लगाउने र वर्षेनी चुहिने छानोमा जस्तापाता हाल्ने सपना बोकेर विदेशिसएका ती दिदीबहिनीहरु शारीरिक शोषणमा पर्दा उनीहरु भएर अलिकति सम्वेदना बाँड्न सकेनौँ शायद हामीले।

के यसलाई चिन्तन र मनन् गर्ने बेला आयो त ? के हरेक वर्ष तीजमा बजारमा चलेको नयाँ पहिरन लगाउन नपाउँदा व्यग्र हुने हामी सबैले एक पटक मात्र पनि सोच्यौँ त ? हामीजस्तै अर्की महिलाको दयनीय अवस्थाका बारेमा ? यसो भन्दैमा मैले तपाईंहरु नयाँ सारी नलगाउनुस् भन्न खोजेकी हैन । यो पहुँचको कुरा हो । तपाईंसँग स्रोत र साधन छ, प्रयोग गर्न सक्नुहुन्छ आफ्नो इच्छाअनुसार । अर्कीसँग ती सबै छैनन्, त्यसैले इच्छाहरु मार्दै जानुपर्छ । मैले मात्र धरातलको कुरा गर्दैछु, फरक–फरक र त्यसमा हाम्रो चिन्तन कहिले भन्ने प्रश्न मात्र हो । र, यो तपाईं हाम्रो जिम्मेवारी भन्दा पनि महिलाको नाममा काम गर्छौं भन्ने संघसंस्थाहरुको हो ।

विदेशमा रहेर विभिन्न नाममा काम गर्ने नेपाली संघसंस्थाहरु आजकल धेरै छन् । धेरैजसो संघसंस्थाले आफ्नो कार्यक्षेत्र नेपाल बनाएका छन् तर मैले देखेको टड्कारो आवश्यकता भनेको विदेशमा आएर यातना भोग्न बाध्य महिलाहरुको बढ्दो दरलाई रोक्न शायद हाम्रा कार्यक्रमहरुले तयति प्रभावकारी भूमिका खेल्न सकेनन् कि ! शायद जान्दाजान्दै र कालो भविष्य देख्दादेख्दै विदेशिनुभन्दा आफ्नै माटोमा श्रम लगानी गरेर मिठो खाने र राम्रो लगाउने सपनालाई पूरा गर्ने विकल्पमा हाम्रा चेलिबेटीहरुलाई संगठित गराउनु अत्यावश्यक छ ।

आखिर जड कुरा के हो भने, महिलाहरु नेपालमा दैनिक रुपमा भोग्नुपर्ने समस्याहरुबाट टाढिन चाहेका हुन् । चाहे त्यो सामाजिक, सांस्कृतिक, भौतिक या आर्थिक नै किन नहोस् ।उनीहरुको इच्छा पक्कै पनि फेरि तिनै समस्याभित्र रुमल्लिनु होइन र बेखुसी बन्नु होइन । त्यसैले महिलालाई स्वतन्त्रण र गुणस्तरीय जीवन बिताउने अवसर प्रदान गर्न सबै वर्गको संलग्नता जरुरी छ । चाहे त्यो खाडी मुलुक होस् या सम्भ्रान्त र विकसित राष्ट्र नै किन नहोस् । महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउनु जरुरी छ र महिलालाई पनि पुरुष सरह स्थान दिनु अत्यावश्यक छ । सबै क्षेत्रमा समान सहभागिताको अवधारणालाई प्रवद्र्धन गर्दै लानुपर्ने प्रक्रियामा अवरोध आएन भने शायदै महिलाहरुले गर्ने छलफल र वार्तालापको विषय पनि विस्तारै परिमार्जित हुनेछ र हुनु जरुरी पनि छ।

अन्त्यमा, मेरो लेखको उद्देश्य कसैलाई आक्षेप लगाउनु भन्दा पनि सबैलाई नयाँ दृष्टिकोणबाट समस्यालाई आँकलन गर्ने र हामी आफूले आफैँलाई परिवर्तन गर्न के गर्नसक्छौँ भन्ने हिसाबले चिन्तन गर्न आग्रह गर्नु हो । यस अर्थमा, लेखको प्रारम्भमा दिइएको उदाहरणलाई जोड्नुपर्दा महिलाकै चासोको विषय अब पहिरन र सुन्दरता –भौतिक)बाट अझ सवालहरु पनि बनून् भन्ने हो । समग्रमा हामी सबैले महिलाका सवाललाई नयाँ ढङ्गबाट हेरिनु आवश्यक छ भन्नु हो। सन्दर्भ जोड्नुपर्दा गैरआवसीय नेपाली नागरिकहरुको उपस्थितिमा यहाँ उठेका केही महिलासम्बन्धी विषयले छलफलको स्थान पाओस् र ती यातनाका समाचारहरु लेखिनु नपरोस् भन्ने नै हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *