थारुलगायतका आयोगसम्बन्धी विधेयक पारित गर्ने बेला सांसदहरु गायब !

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबारको बैठकको कार्यसूचीमा थारु मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले हाजिरी गरे तर विधेयकहरु पारित गर्ने बेलामा जम्मा ९७ जना सांसदहरु सदनमा उपस्थित थिए ।

संविधानको धारा ९४ को व्यवस्था अनुसार प्रस्ताव निणयार्थ पेस गर्दा कम्तिमा एक चौथाई सदस्य हुनुपर्छ । संसदमा हाल कायम रहेको संख्या अनुसार प्रस्ताव अघि बढ्न १४८ सांसद् हुनुपर्छ तर जम्मा ९७ जना भेटिए । हाल सदनमा ५९२ सांसद् छन् ।

सांसद्ले संसद् बैठकमा उपस्थित भई हाजिर गरेबापत बैठक भत्ता स्वरुप एक हजार रुपैयाँ पाउने व्यवस्था छ । तर, महत्वपूर्ण विधेयक पारितकै दिन सांसद्हरु बेपत्ता भएका हुन् ।

शुक्रबारको बैठकमा जातीय भेदभाव तथा छुवाछुत कसुर सम्वन्धी विधेयक संशोधन दर्ताका लागि अनुमोदन अघि नेमकिपाका डिल्लीप्रसाद काफ्लेले कोरमको प्रश्न उठाएका थिए। काफ्लेको ध्यानाकर्षणपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर कोरम यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएकी थिइन्।

समितिमा दफाबार छलफलपछि थारु आयोग, मधेशी आयोग र मुस्लिम आयोगको विधेयक पारित गर्नका लागि कार्यसूचीमा राखिएको थियो । तर सांसदहरु बेपता भएपछि विधेयकहरु अलपत्र परेको हो । संसदको अर्को बैठक आइतबार एक बजे बस्नेछ ।

हुलाकीन्युजबाट साभार