शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्रीमा निर्वाचित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

प्रधानमन्त्री निर्वाचित गरियोस् भनी परेको एक मात्र उम्मेदवारीको प्रस्तावमा मतदान हुँदा देउवाको पक्षमा ३८८ मत र विपक्षमा १७० मत परेको थियो।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

मधेसकेन्द्रित दलहरु राजपा र संघीय समाजवादी फोरमसँग आजै भएको तीन बुँदे सहमतिपछि ती दलहरुले गरेको समर्थनका कारण देउवाको पक्षमा यति धेरै मत जुटेको हो।

गणतान्त्रिक नेपालमा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएका देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन्।