मोदीको चेतावनी- ‘थारुको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिन्छ’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिने बताए । उनले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको समेत दाबी गरे । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद मोदीले भने, ‘यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन ।’ उनले यदि समयमै माग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने खतरा औंल्याए ।
कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनु पर्ने भन्दै उनले थारुहरुको माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे प्रतिकारमा उत्रिने चेतावनी दिए। उनले भने, ‘हाम्रा मागहरु सम्बोधन नभई चुनाव घोषणा गरिए कुनै हालतमा मान्दैनौं ।’

माओवादी सांसद मोदीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भिर नभएको आरोप लगाए ।