२२ वर्षपछि गौरीफन्टा नाकासम्म पुनः रेल चल्ने

अविनाश चौधरी/धनगढी।

नेपाल-भारत सीमा गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनु पर्ने माग उठिरहेका बेला भारतले मैलानीदेखि गौरीफन्टासम्म पुनः रेल सेवा सुचारु गर्ने भएको छ । भारतको डीआरएम पूर्वोत्तर रेल्वेले बन्द रेल सेवालाई २२ वर्षपछि पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

डीआरएम पूर्वोत्तर रेल्वेको एक टोलीले सीमा क्षेत्रमा पर्ने सबै रेल स्टेशनको हालै निरीक्षण समेत गरेको छ । सो टोलीले नेपाललाई जोड्नका लागि सम्भवतः चाँडै गौरीफन्टासम्म रेल सुचारु गर्न सकिने निरीक्षणको क्रममा बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यातायात निरीक्षक ओमप्रकाश तिवारी सहितको सात सदस्यीय टोलीले सीमा क्षेत्रमा पर्ने गौरीफन्टा, फलवहिया, पौलाहा, डिगनिया रेलवे स्टेशन र रेलमार्गको निरीक्षण गरेको थियो ।

भारतले नेपाल–भारतका मानिसलाई आवत जावतमा सहजका लागि सन १९२० देखि मैलानी–गौरीफन्टा रेल्वे लाइन सुरु गरेको थियो । यद्यपि, दुधुवा नेशनल पार्कमा रहेका वन्यजन्तुलाई असर पुगेको भन्दै संरक्षणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको दबावमा सन १९९४ मा रेल सेवा बन्द गरिएको थियो । ७४ वर्षसम्म सञ्चालन भएको मैलानी–गौरीफन्टा रेल सेवा बन्द भएपछि गौरीफन्टा नाका जीर्ण बन्दै गएको छ ।

दुधुवा जक्सनदेखि गौरीफन्टाको दूरी २४ किलोमिटर रहेको छ । हाल भारतको पलियासम्म रेल आए पनि २४ किलोमिटरको बाटोमा रेल सेवा बन्द छ । उक्त रुटमा १९९४ जुन १० मा अन्तिम पटक रेल आएको थियो । मैलानीदेखि गौरीफन्टासम्म दुधुवा, फलवहिया, पौलाहा, डिगनिया र गौरीफन्टा गरी रेलको पाँच स्टेशन पर्छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीबीच पाँच वटा अन्तरदेशीय रेल्वे लाइनबारे छलफल समेत भएको छ । सो छलफलले गौरीफन्टासम्म रेल आउने सम्भावना थप बलियो भएको बताइएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले आफ्नो समकक्षी नरेन्द्र मोदीसंगको छलफलका क्रममा व्यापार, पारवहन, सम्पर्क सञ्जाल नेपालको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको थियो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले पनि सबै प्रकारका ‘कनेक्टीभिटी’ लागि भारत सरकार सहयोग, सहकार्य गर्न तयार रहेको उल्लेख गर्नु भएको थियो ।

रोटी, बेटीको सम्बन्ध रहेको नेपाल–भारतबीचको सम्बन्धलाई पुनः एक पटक रेल सेवाले जोड्ने भारतीय अधिकारीहरुले अपेक्षा गरेको छन् । गौरीफन्टासम्म रेल सेवा सुरु भएपछि आवत जावतमा मात्रै सहज नभई व्यापार, पारवहनमा समेत सहयोग पुग्ने बताइएको छ । नेपाली व्ययसायीले पनि गौरीफन्टासम्म रेल सेवा सुचारु गर्ने डीआरएम पूर्वोत्तर रेल्वेको निर्णयलाई स्वागत गरेका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले गौरीफन्टासम्म रेल सञ्चालन भएमा नेपाललाई धेरै फाइदा हुने बताउनुभयो । सङ्घले गौरीफन्टालाई अन्तर्राष्ट्रिय स्तरको नाकाको रुपमा स्तरोन्नति गरिनु पर्ने भनेर आवाज समेत उठाउँदै छ । प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु अगाडि सङ्घको टोलीले उहाँलाई भेटेर गौरीफन्टा नाका स्तरोन्नतिका लागि छलफल चलाउन आग्रह गरेको थियो ।

‘अन्तर्राष्ट्रिय स्तरको नाका बन्नका लागि रेल्वे लाइन अति आवश्यक मध्येको एक पूर्वाधार हो’, सङ्घका अध्यक्ष बोगटीले भन्नुभयो–‘जुन चिज पहल गर्नका लागि हामीले नेपाल सरकारलाई आग्रह गरिरहेका बेला भारतले आफै रेल सेवा गौरीफन्टासम्म सुचारु गर्ने निर्णय हाम्रो लागि खुशीको विषय हो । रेल सञ्चालन भएमा हामीलाई धेरै फाइदा हुन्छ ।’

रेल सेवा सुचारु भएसंगै अन्य पूर्वाधारको पनि विकास हुने भन्दै त्यसले नाका स्तरोन्नतिमा सहयोग पुग्ने व्यवसायीले बताएका छन् । हाल ट्रक मार्फत पूर्वका नाकाबाट ल्याइने गरेको कतिपय सामान रेल मार्फत पनि ल्याउन सजिलो हुने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, ठूलो जनसङ्ख्या रहेको भारत प्रत्यक्ष रुपमा नेपालसंग जोडिने छ । यसले यहाँको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्याउने पर्यटन व्यवसायीहरुको अपेक्षा रहेको छ । कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनु भएका होटल व्यवसायी दिनेशराज भण्डारीले रेल सेवा सुचारु भएमा पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

‘भारतको उत्तर प्रदेशमा ठूलो जनसङ्ख्या छ । रेल सुचारु भएमा खराब बाटोका कारण बसबाट यहाँ आउन नचाहेका भारतीय पर्यटक रेल मार्फत आउने छन्’, भण्डारीले अगाडि थप्नुभयो–‘यसले पर्यटन विकासका साथै हामीलाई आर्थिक फाइदा हुनेछ । यहाँको संस्कृति संस्कार, खानपानले भारतीय पर्यटकलाई आकर्षित गर्नेछ । त्यसैगरी नेपालीलाई पनि भारत जान सहज हुनेछ ।’

रेल सेवा सुचारु भएसंगै नाकामा चाप बढ्ने नेपालका व्यवसायीले विश्वास व्यक्त गरेका छन् । पलिया–गौरीफन्टा रोड सन १९०५ बाट सुरु भएको थियो । रेल बन्दसंगै नेपालसंग जोड्ने सो रोड पनि जीर्ण बन्दै गएको छ । ११० वर्ष पूरानो गौरीफन्टा नाका हाल अन्यौलको स्थितिमा रहेको छ ।