राष्ट्रिय जनगणनामा थरको पछाडि ‘थारु’ लेखाउन थारु आयोगको अपील

थारु आयोगले थारु बहुल प्रदेशमा थारुभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न माग गरेको छ। सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले सो माग गरेको हो। थारु भाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता सम्बन्धी छलफल कार्यक्रममा आयोगले २०६८ सालको जनगणनामा थारु समुदायको सही तथ्याङ्क नआएको भन्दै २०७८ सालको जनगणनामा वास्तविक तथ्याङ्को माग गरेको हो। गणकहरुले घरदैलोमा फारम लिएर आउँदा सबैलाई थरको पछाडि अनिवार्य ‘थारु’ लेख्न सुझाएको छ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारुभित्र विभिन्न उपथर रहेको र सोहीअनुसार फारम भर्दा थारु र गैरथारु छुट्याउन समस्या हुने गरेको बताए। थारु समुदायले चौधरी लेखाउँदा मरवाडी र अन्य समुदायले पनि चौधरी लेखाउने गरेको उनले बताए। कुश्मी, बडायक, महतो, राजवंशी लगायतको थर लेख्दा थारुको यकिन तथ्याङ्क आउन समस्या हुने गरेको उनको भनाइ छ।

भाषा आयोगका विज्ञ सल्लाहकार प्रा.डा. दानराज रोग्मीले भाषा नै पहिचानको आधार भएकाले सबै समुदायको चासो बढेको बताए। भाषा आयोगले प्रदेशस्तरमा भदौ २१ गते ११ वटा भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषा बनाउनेगरी सरकारलाई सिफारिस गर्दा सबैको चासो देखिएको उनले बताए।

थारु भाषा चौथो ठूलो भाषा भएको र वक्तासंख्या पनि अधिक भएकाले भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा सिफारिस गरेको उनले बताए। प्रदेश २ र प्रदेश १ मा पनि थारु भाषा वक्ता ३ प्रतिशत बढी रहेकाले त्यहाँ पनि थारुभाषालाई कामकाजी भाषा बनाउनुपर्ने माग बढ्न लागेको उनले बताए। तर आयोगले २०६८ को जनसङ्ख्या र वक्ताको आधारमा भाषा सिफारिस गरेको उनले प्रष्ट पारे।

थारु आयोगका सदस्य सुबोधसिंह थारुले भाषा नै मुख्य पहिचान भएकाले यसको संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताए। थारु आयोगले भाषा मानकीकरणमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा थारु भाषा मानकीकरणको काम पनि सम्पन्न हुने उनले जानकारी दिए। राज्यको निकायमा अझै आरक्षणको रुपमा थारु कोटा छुट्याउन सरकारले आनाकानी गरिरहेकाले संविधानको व्यवस्थाअनुसार आरक्षण सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए।

२०५८ सालको जनगणनाअनुसार थारु भाषाको वक्ता सङ्ख्या १३ लाख ३१ हजार ५४६ थियो । २०६८ मा आएर वक्ता जनसंख्या १५ लाख २९ हजार ८७५ पुगेको र २०७८ सालको जनगणनाको काम शुरु भएकाले केही समयपछि सही तथ्याङ्क आउने भाषाविज्ञ डा. रेग्मीले बताए। -गोरखापत्र दैनिकबाट




2 thoughts on “राष्ट्रिय जनगणनामा थरको पछाडि ‘थारु’ लेखाउन थारु आयोगको अपील

  1. थारु जात र थारु भाषाको कोड नं. ४ हो । त्यसकारण जात के हो ? सोध्यो भने थारु भन्नुहोला । पुर्खाको भाषा के हो ? सोध्यो भने थारु भन्नुहोला । मातृभाषा के हो ? सोध्यो भने थारु भन्नुहोला । थारु भन्दै गर्दा गणकले कोडमा ४, ४, ४ लेख्यो कि लेखेन ? रुझु गरेर मात्र पठाउन हुन अनुरोध छ ।

  2. थारु जात र थारु भाषाको कोड नं. ४ हो । त्यसकारण जात के हो ? सोध्यो भने थारु भन्नुहोला । पुर्खाको भाषा के हो ? सोध्यो भने थारु भन्नुहोला । मातृभाषा के हो ? सोध्यो भने थारु भन्नुहोला । थारु भन्दै गर्दा गणकले कोडमा ४, ४, ४ लेख्यो कि लेखेन ? रुझु गरेर मात्र पठाउन हुन अनुरोध छ ।

Leave a Reply to Kuchhat Narayan Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *