६५ वर्षे छुटकनु चौधरी भन्छिन्- पुरुष होस् वा महिलाको नाममा, नागरिकता चाहियो

मनिका विश्वकर्मा/सेतोपाटी

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः

अहिले उनको उमेर ६५ वर्ष भयो। कमैया आमाबाबुबाट जन्मेर ४३ वर्षसम्मको उमेर कमैया भएरै बित्यो। आज चाउरी पर्न थालेका गाला दुई दिनअघि खौरेको दाह्रीले टल्केका छन्। गिजामा थोतेपन छ।

बुढ्यौली झल्किने त्यो अनुहारको मुस्कान र चमक यस्तो देखिन्छ, मानौं आत्मसन्तुष्टिले शिखर चुमेको छ। निधारको गुलाबी टीकाले आभा थपेको छ। कानका लामा लोतीमा हरियो पत्थरयुक्त सेता टप टल्केका छन्।

गाउँमा उनलाई कसैले बज्यै भन्छन् त कसैले आमा। कोही दिदी भन्छन् त कोही फुपू। आफ्नो उमेरअनुसार साइनो लगाएर सम्मानपूर्वक बोलाउँछन्।

‘सानै छँदादेखि मलाई केटीमान्छेका लुगा लगाउन मन लाग्थ्यो। कहिलेकाहीँ साँझपख गाउँमा हुने नाचगान हेर्न जाँदा केटीजस्तै बन्थेँ,’ उनी भन्छिन्, ‘घर फर्किँदा फेरि केटाजस्तै बन्थेँ।’

कमैयाका लागि घर भन्नु के थियो र! त्यही साहु अर्थात मालिकले दिएको झुपडी न हो!

कैलालीको भजनीमा २०१४ सालमा पुरुषको शरीर लिएर जन्मेकी थिइन् छुटकनु चौधरी।

हालै काठमाडौंमा गैरसरकारी संस्था ‘मितिनी नेपाल’ को एक कार्यक्रममा भेटिएकी उनले दाहिने नाडीमा चुरा आकारको कालो रबर लगाएकी थिइन्। देब्रे नाडीमा धातुको एउटा चुरो थियो। घाँटीमा सुटिया भनिने परम्परागत थारू गहना लगाएकी थिइन्। पाकेको, न छोटो न लामो कपाल पछाडिपट्टि बाँधेकी थिइन्।

खासमा उनी परम्परागत थारू पोसाकमा सजिएकी थिइन्। रातो पहिरनमा उनी परैबाट एक परिपक्व महिला देखिन्थिन्।

गत जेठ ३ गते मितिनी नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा संघीय राजधानी काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सातै प्रदेशका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू सहभागी थिए। यसैमा आएकी थिइन् ट्रान्सवुमन अर्थात पारलैंगिक महिला छुटकनु।

छुटकनुलाई नेपाली भाषा बोल्ने अभ्यास छैन, निरक्षर छिन्। उनी मुश्किलले नेपाली शब्द उच्चारण गर्छिन्।

उनीसँग निकै लामो कुरा गर्दा उनको विगत कुनै अलौकिक कथाजस्तो सुनियो। कमैया भनिने लगभग बन्दी जीवनमा पीडाले भरिएको रहेछ उनको जीवन।

छुटकनु कसरी आइपुगिन् त काठमाडौं?

मितिनी नेपाललाई छुटकनुबारे जानकारी भए पनि सम्पर्क थिएन। उनीसँग फोन पनि छैन। छुटकनुकी मिल्ने साथी हुन् नारायण। नारायण पनि पारलैंगिक हुन्। उनी निकै लामो समयदेखि मितिनी नेपालको सम्पर्कमा छिन्। मितिनी नेपालले नारायणमार्फत नै छुटकनुलाई काठमाडौं आउने निम्तो पठाएको थियो। उनको घरमै पुगेर नारायणले निम्तो दिइन्।

कहिल्यै काठमाडौं नदेखेकी छुटकनु खुसी भइन्। मन खुसी भयो तर काठमाडौंसम्म जान राम्रो लुगा थिएन। लुगा पनि नारायणले नै दिने भइन्।

छुटकनुले भनिन्, ‘पहिलो पटक काठमाडौं देख्न पाउने कुराले म धेरै खुसी थिएँ। तर मसँग लगाउने लुगा थिएन। नारायणले लुगा दिन्छु भनेपछि म आउन पाएँ।’

नारायण र छुटकनु चौधरी
मितिनी नेपालका वीर्खराज चौधरीका साथ छुटकनु र नारायण काठमाडौं आइपुगे। यति धेरै गाडी, यति ठूला घर र ठूलो सहर छुटकनुले देखेकी थिइनन्। पश्चिम तराईको गर्मीमा जीवनको साठीऔं दशकको मध्यमा रहेकी छुटकनुले काठमाडौंमा शीतल अनुभव गरिन्, धेरै रमाइलो लाग्यो।

‘उता (कैलालीमा) त सानासाना घर छन्। यता (काठमाडौंमा) त दरबार जस्ता घर रहेछन्। जता पनि घर मात्रै! माटो त कता हो कता! उता धूलो मात्रै छ,’ छुटकनुले भनिन्, ‘मलाई त यतै रमाइलो लागिरहेको छ।’

वीर्खराजले छुटकनुलाई काठमाडौंका केही ठाउँ घुमाए। वसन्तपुर दरबारक्षेत्र पुगेर उनी खुब रमाइन्; आहा! कति राम्रा घर, कति धेरै मन्दिर।

छुटकनुले आफ्नो बाल्यकालदेखिको कुरा सुनाइन्। उनी कमैया परिवारमा पुरुष शरीर लिएर जन्मिन्। उनी नै कान्छो सन्तान भइन्। परिवारमा खुसी छायो।

कमैया आमाबाबु साहुको खेतबारीमा काम गर्थे। कमैयाका छोराछोरीले पनि उही साहुको घरमा काम गर्नु पर्थ्यो।

‘बाबु साहुको बारी जोत्नुहुन्थ्यो। हामी पनि त्यहीँ बाबुलाई काम सघाउँथ्यौं। स्कुलको मुखै देख्न पाएनौं,’ छुटकनुले भनिन्, ‘दैवको आँखा लागेर म दश वर्षकी हुँदा आमाबाबु दुवैको एकै साल मृत्यु भयो। त्यसपछि हामी साहुका कमैया भयौं।’

कमैयाले साहुले खटाएअनुसार काम गर्नु पर्थ्यो। बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म अनि फेरि अपराह्न ४ बजेदेखि राति १२ बजेसम्म। दैनिक १४ घन्टाको खटाइ। दिउँसो चार घन्टा पनि के फुर्सद भन्नु! खेतबारीमा जानु नपर्ने मात्रै हो। अलिक खुकुलो हुन्थ्यो, त्यति हो।

आराम गर्ने भनेको रातिको चार–पाँच घन्टा हो। कामको धमाधमको समय नहुँदा साँझको घरधन्दा सकेपछि केही फुर्सद हुन्थ्यो। खाना, बास र खर्चबर्च भनेको त साहुले दिएअनुसारको मात्रै हुन्थ्यो। आफ्नो भन्ने केही पनि थिएन।

‘फुर्सद हुँदा कहिलेकाहीँ साँझमा मादल बजाएर नाचेका ठाउँमा पुग्थेँ। अरू नाचेको देख्दा मलाई पनि नाच्न मन लाग्थ्यो,’ छुटकनुले भनिन्, ‘आइमाईहरूले लगाएजस्तै टीका, गाजल र चुरा लगाउन मन लाग्थ्यो। कहिलेकाहीँ मागेर एकछिन लगाउँथेँ।’

कमैया भएर साहुका घरमा बस्न सजिलो थिएन। कुटाइ खानु, पेटभरि खान नपाउनु, निद्रा पुग्ने गरी सुत्न नपाउनु सामान्य कुरा थियो। पढ्न पाउने त कुरै थिएन।

छुटकनुले भनिन्, ‘काम ढिलो गरेको भनेर पनि कुटाइ खाएँ। केटाकेटीको रहर साहुले किन बुझ्थ्यो र!’

उनलाई सम्झना भएसम्म १४–१५ वर्षकी हुँदी हुन्, मेरो मन किन केटीको जस्तो छ भन्ने प्रश्न मनमा उठेको थियो। तर त्यसको जवाफ थिएन। आफू अरू केटाभन्दा फरक छु भन्ने पक्का भए पनि गाउँमा कसैलाई सुनाउने आँट आएन।

‘मेरो मनमा किन म केटीजस्तो हुन थालेको छु, किन केटाको लुगा मन पर्दैन भनेर कुरा आउँथ्यो। तर आफैंलाई थाहा थिएन,’ उनले भनिन्, ‘साहुका घरमा धेरै काम गर्नु पर्थ्यो। आफ्नो बारेमा सोच्ने फुर्सद पनि हुँदैन थियो। तर मलाई केटा मान्छेहरूसँग बोल्न मन लाग्थ्यो। आफ्नो मनको कुरा पोख्न मन लाग्थ्यो। भन्न डर लाग्थ्यो।’

देशमा कमैयाप्रथाको विरोध चर्किन थाल्यो। सरकारले २०५७ सालमा कमैयामुक्तिको घोषणा गर्‍यो। छुटकनुले पनि साहुको घरबाट छुटकारा पाइन्।

छुटकारा त भयो तर जीवन चलाउने कसरी? आफ्नो सम्पत्ति भन्ने केही थिएन। साहुको काम गरेर बस्न, खान र लाउन चलेको थियो। एकातिर मुक्तिको खुसी अर्कातिर जीवनको अनिश्चित बाटो।

अझै पढ्नुहाेस