स्थापित थारु नेतालाई योजनाबद्ध तरिकाले दबाउने प्रयास गरिँदैछ : डा. गोपाल दहित

नेपाली कांग्रेसको अधिकांश जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान भइसकेको छ। केही जिल्लाहरुमा अझै जिल्लाहरुको विवादका कारण सार्वजानिक हुन सकेको छैन। विवादको कारण कांग्रेस संस्थापन इतर पक्षले तत्कालीन फोरम लोकतान्त्रिक र राप्रपा परित्याग गरी कांग्रेसमा समाहित भएका सुनिल थापाका कार्यकर्तालाई जताभावी क्रियाशील सदस्यता दिएको र परदर्शी नभएको आरोप लगाउँदै आएका छन्।

तर कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित समायोजनको नाममा क्रियाशील सदस्यता विवाद नभएको दावी गर्छन्। उनले डिसी नेपालसँगको कुराकानीमा क्रियाशील विवाद कांग्रेसको पुरानै विवाद भएको बताएका छन्।

राजनीतिको सुरुवाती चरणमा थारुहट तराई पार्टीको नेतृत्व गरेका दहित विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकीकरण हुँदै अहिले नेपाली कांग्रेससँग एकीकरण गरी कांग्रेसको राजनीतिमा छन्।उनी पूर्व मन्त्री समेत हुन्।

प्राय अल्पसंख्यक, बिपन्न, उत्पिडनमा परेका समुदायको हक र अधिकारको विषयमा बुलन्दरुपमा आवाज उठाउने दहित कांग्रेसको बौद्धिक र अध्यनशील नेताका रुपमा परिचित छन्।

उनै नेता दहितसँग पार्टी एकीकरण पछि कांग्रेस राजनीतिको अनुभव, मंसिरमा हुने १४ औं महाधिवेशनमा केन्द्रित रहेर डिसी नेपालका सम्भव सिंह ठकुरीले कुराकानी गरेको सम्पादित अंशः

थारुहट तराई पार्टीहुँदै विजय गच्छदारले नेतृत्व गर्नुभएको तत्कालीन फोरम लोकतान्त्रिक र अहिले कांग्रेसको राजनीतिमा हुनुहुन्छ। यी सुरुवाती दुई दल र कांग्रेसबीच कस्तो फरक पाउनु भयो ?

मैले कांग्रेससँग भिन्नता भन्दापनि धेरै समानता पाएको महशुस गरेको छु। थारुहट तराई पार्टी होस्, विजय गच्छदारले नेतृत्व गर्नुभएको फोरम लोकतान्त्रिक होस्, या अहिले हामी रहेको हाम्रो पार्टी नेपाली कांग्रेस होस्,यी तीनै पार्टीहरु लोकतान्त्रिक बिचारको पार्टी हुन्। जसले नेपालको लोकतान्त्रिक शासन प्रणली र जनताको अधिकारका लागि, पहिचान न्याय, समृद्धिको लागि संघर्ष गरेकोे राजनीतिक दल हुन्।

त्यसकारण यी पार्टीहरुमा लोकतान्त्रिक शासन व्यवस्था अवलम्वन गर्ने समानता रहेको छ। गरिबदेखि बिपन्न सबैमा लोकतान्त्रिक अभ्यासको लागि संघर्ष गर्नुपर्छ भन्ने मान्यता रहेको राजनीतिक दल हो।

पछिल्लो समयमा भएको देशको राजनीतिक ध्रबीकरण कम्युनिष्ट पार्टीहरु एकै कित्तामा उभिँदा र लोकतान्त्रिक पार्टी अर्को तिर उभिँदा हामी नेपाली कांग्रेस, थारुहट तराई पार्टी र फोरम लोकतान्त्रिकबीच एकीकरण भएको हो। यसर्थमा हामी पहिलेदेखि नै समान सिद्धान्तमा रहेका थियौँ भन्ने देखिन्छ।

र अर्को कुरा नेपाली कांग्रेससँग एकीकरण गरिसकेपछि मैले पाएको राम्रो पक्ष के हो भने कांग्रेस एउटा पुरानो र लोकतन्त्रको पर्यायबाची नामले नेपालमा मात्र हैन विदेशमा पनि स्थापित नाम हो।

त्यसकारण यो पार्टी भित्र उभिइराख्दा हामी आफूलाई देशव्यापी रहेको एउटा ठूलो संगठन र देशको संरक्षण गर्ने पार्टी, राष्ट्रियता जोगाउने, जनताको हक अधिकार पहिचान र समृद्धिको निकास दिने पार्टीमा रहँदा तमाम लोकतान्त्रिक जनता खुसी छन्। र हामी पनि खुसी छौँ।

पार्टीमा धेरै समानता छ भन्नु भयो तर राजनीतिक सहजता,चुनौती र जिम्मेवारीमा त केही फरक पाउनु भयो होला नि त?

पार्टीमा अन्र्तर संघर्ष नेपालमा रहेका जुन सुकै राजनीतिक दलमा पनि रहेको छ। त्यसमाथि हामी नेपाल कै ठूलो लोकतान्त्रिक पार्टीमा छौँ,त्यो संघर्ष स्वभाविक रुपले हुन्छ। त्यसकारण चुनौती नभएको, अन्र्तर संघर्ष नभएको अथवा प्रतिद्वन्द्वी नभएको पार्टी कुनै पनि लोकतान्त्रिक दलमा हुँदैन। त्यसकारण यस्ता कुरालाई स्वीकार्दै अगाडि बड्नु नै कांग्रेसको सुन्दर विशेषता हो।

थारुहट तराई पार्टीमा रहँदा होस् या फोरम लोकतान्त्रिकमा रहँदा, विपन्न,उत्पिडनमा रहेका समुदायको हक अधिकारको विषयमा बुलन्द आवाज उठाउने नेताको रुपमा चिनिनुहुन्छ। अहिले यहाँहरुको पार्टी सरकारमा छ। ती थारु,मधेसी, जनजाति, र अल्पसंख्यक समुदायको अधिकारको विषयहरु उठाउन र समाधान गर्न कतिको सहज छ?

हामी फोरम लोकतान्त्रिक र थारुहटमा रहँदाखेरि हामीले यस्ता मुद्दाको विषयमा धेरै संघर्ष गर्‍याैं। संविधानसभा त्यसैगरी व्यवस्थापिका संसदमा पनि धेरै ठूलो संघर्ष गर्‍याै। त्यो संघर्षको कारणले गर्दा अहिले संविधानमा सबै जाति, वर्ग, क्षेत्र, लिङ्गको पहिचान स्वीकार गर्यो। त्यो बेलामा नेपालको २७/२८ प्रतिशत जनसंख्या रहेको खस, आर्य भन्ने संविधानमा थिएन। संविधानले अन्य समुदायको भनेर चिन्ने गथ्र्यो।

त्यसैगरी थारुहरुलाई मधेसीमा राखिएको अवस्था थियो। अहिले हाम्रो संघर्षको कारणले गर्दा अहिलेको संविधानले आदिवासी, दलित, मधेसी, मुस्लिम, थारु, खस, आर्य सबैको पहिचान दिएको छ। अबे आत्मसम्मान, समृद्धि, न्याय र विकासको लागि अहिले लड्दै छौँ। अब कांग्रेस जस्तो ठूलो दलबाट संघर्ष गर्दा त्यस्ता मुद्दाहरु जीवन्त रहन्छ।

किनभने संविधान भनेको सबै जात, धर्म, वर्ग र क्षेत्रलाई समेट्नु हो। संविधान कार्यान्वयन गर्न पनि बहुमत प्राप्त दलसँग सँगै रहेरमात्र कार्यान्वयन गर्न सकिन्छ। यसमानेमा कांग्रेस भित्र आइपुग्दा अब हामी संविधान कार्यान्वयनको पाटोमा छौं। कार्यान्वयन गर्ने क्रममा अति बिपन्न बर्ग हुन्छ,उनीहरुलाई पहिलो प्रथमिकतामा राखेर राज्यले प्रथमिकतामा राखेर संवोधन गर्नुपर्ने विषय रहेको छ।

कांग्रेस भित्र पनि यो विषयको संघर्ष गर्दै छौँ। कांग्रेस वैधानिक रुपमा नै यो विषयमा लड्दै छ। कांग्रेसको विधानमा अहिले पनि वडा समितिदेखि लिएर केन्द्रीय कमिटीसम्म सबै जाति, वर्ग अथवा संविधानले पहिचान गरेको आठ वटा क्लस्टरहरुबाट आरक्षण सहितको व्यवस्था कांग्रेसको विधानले गरेको छ। अरु कुनैपनि पार्टीमा त्यो व्यवस्था छैन। भनेपछि हाम्रो त्यो संघर्षको कारणले पार्टीको विधान नै समावेशी बनेको छ।

त्यसैगरी अब राज्यले सम्वोधन गर्ने जस्तै अहिले गठबन्धनको सरकार छ।यो सरकारमा पनि सम्वोधन गर्ने विषयहरुमा वर्गीय, क्षेत्रीय,उत्पीडनमा परेका विभिन्न जातीय मुद्दाहरुलाई सम्वोधन गर्ने प्रथमिकताको विषय रहेको छ।
त्यसकारण हाम्रो पार्टीले गर्नुपर्ने काम प्रथमिकताका साथ गरिराखेको छ। तथापि अहिलेको अवस्था संक्रमणकालीन अवस्था रहेको छ। अब चुनाव पनि आउँदैछ। हाम्रो अधिवेशन पनि नजिकिँदैछ। स्रोत, साधन राज्यको सीमित रहेका छन्। जनताका आकांक्षाहरु धेरै छन्।

ती सबैलाई सम्वोधन गर्न यो छोटो समय र सीमित स्रोत साधने सायद प्रयाप्त नहोला, तर कांग्रेसले नेतृत्व गरिराखेको हुनाले त्यस्ता खालेवर्गलाई धनी बनाउन, शिक्षित बनाउन, पहिचन दिन, मानव अधिकार सुनिश्चित गर्नको लागि कांग्रेसले संघर्ष गरेन भने अरुले गर्न सक्दैन। यसर्थ कांग्रेसले लड्न्पर्छ र त्यो विषयलाई सुनिश्चित गर्न हाम्रै नेतृत्वको सरकार भएकाले पार्टीको केन्द्रीय समितिको बैठकमा धेरै पटक कुरा उठाएका छौँ।

उपसभापति विजय गच्छदार स्वयं ललिता निवास प्रकरणमा तानिँदा एउटा थारुको छोरालाई राज्य, सरकार लागेर आग्रह, पूर्वाग्राहरुपमा फसाउन खोजियो भन्नुभएको थियो। उहाँ जतिको मान्छेले यसो भनिरहँदा देशको विभिन्न भूभागमा रहनुभएको अन्य थारु समुदायको अवस्था कस्तो छ? थारु समुदायले फेरि एक पल्ट संघर्ष गर्नुपर्ने हो?

हामी कांग्रेसमा छौँ। तर राज्यको सबै संयन्त्र कांग्रेसको नियन्त्रणमा हुँदैन र रहँदैन। थारु लगायत यहाँको मधेसी, आदिवासी, दलित, मुस्लिमहरुको लागि अहिले पनि यो संयन्त्र सकारात्मक देखिँदैन। राज्यको धेरै संयन्त्रहरु पहाडिया मानसिकताबाट निर्देशित छ।

यस्तो विषय हामीले भण्डारफोर गर्नैपर्छ,चिर्नै पर्छ। र सबैलाई न्याय दिनै पर्छ भन्ने कोणबाट हामी वहस गरिराखेका छौँ। पछिल्लो क्रममा विजय दाइ माथि जुन पूर्वाग्राही ढंगबाट जुन मुद्दा लगाइएको छ।

यो सरासर राजनीतिकरुपमा आग्रह, पूर्वाग्राह र प्रतिशोध राखेर अझ जातीय रुपमा दमन गर्ने गरी विजय दाइको जत्तिको राजनीति उचाइ भएका राजनीतिज्ञ र अन्य थारुहरुलाई अहिलेका राज्य संयन्त्रमा पुग्न नसकुन भनेर सुनियोजित र जातीयरुपमा दमन गर्ने अभिप्रायले यो झुटो मुद्दा लगाइएको भन्ने हाम्रो ठहर छ।

यो विषयमा हामी धेरै प्रमाण सहित राख्न सक्छौँ। त्यही मुद्दामा त्यो बेलाका प्रधानमन्त्रीहरुलाई कुनै पनि कुरा नउठाउने तर पूर्वाग्रही ढंगबाट विजय दाइमाथि मुद्दा लगाउने केही संयन्त्रको पूर्वाग्राही व्यवहार हो।

२०४६ साल यताको सबै संसदीय निर्वाचनमा जनतामाझ अत्यन्तै लोकप्रिय भएर विजयी भएको र कांग्रेस जस्तो पार्टीको केन्द्रीय रुपमा स्थापित थारु नेतालाई कसरी दवाउने भनेर योजनाबद्ध तवरले उहाँमाथि आक्रमण भएको हो। यसर्थ यो आक्रमणको हामी घोर निन्दा गरेका छौँ। र उहाँले चाँडै न्याय पाउनुपर्छ भन्ने हाम्रो आवाज रहेको छ।

अझै पढ्नुहाेस