रेशम चौधरीको विषयमा नश्लीय चिन्तन छ, मिडियाले पनि त्यही भाषा बोल्छ

राजेन्द्र महतोसँग नयाँ पत्रिका दैनिकले लिएको अन्तर्वार्ताको केही अंश:

जसपा संसदीय दलले अन्य दलहरूसँग वार्ता गर्न कार्यदल बनाउने निर्णय गरेको छ । वार्ता कोसँग के एजेन्डामा गर्ने हो ?

हाम्रो कार्यदलले वार्ता गर्न चाहने सबै पक्षसँग वार्ता गर्छ । त्यसका आधारमा हामी समीक्षा गरेर आवश्यक निर्णय लिन्छौँ । हामीले पहिलेदेखि उठाउँदै आएका एजेन्डा वार्तामा राख्ने हो । माननीय रेशम चौधरीलगायत मधेस र थरुहट आन्दोलकारीमाथि झुटा मुद्दा लगाइएका छन् । हामी ती मुद्दा फिर्ता, बन्दी रिहाइ, संविधान संशोधनलगायतका एजेन्डा उठाउँदै आएका छौँ । यिनै विषय सम्बोधन हुने गरी हामी सबै पक्षसँग वार्ता गर्छौँ । जसरी सम्बोधन हुन्छ, त्यहीअनुसार हामी निर्णय गर्छौँ ।

संसदीय दलको बैठकबाट निर्णय गर्नुअगाडि नै अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेर कार्यदल बनाइसक्नुभएको रहेछ । पार्टीभित्र सल्लाह नगरी कार्यदल बनाएको विषयमा संसदीय दलको बैठकमै प्रश्न उठ्यो । संस्थागत निर्णय नगरी किन हतार गर्नुभयो ?

अन्य मुद्दाका मान्छेहरूलाई राज्यले छाड्न थालेपछि रेशम चौधरीलगायत हाम्रा साथीहरूलाई पनि छोड्नुप¥यो भनेर हाम्रा दुईजना नेता प्रधानमन्त्रीलाई भेट्न जानुभएको हो । अरू सबैलाई छाड्ने, तर हाम्रा साथीहरूलाई नछाड्ने भएपछि अचानक उहाँहरूलाई पठाइएको हो । तर, त्यहाँ सरकारका विषयमा कुराकानी भएको छैन । जबसम्म सवालहरू रहन्छन् तबसम्म पटक–पटक कुरा भइरहन्छ । हाम्रा एजेन्डा सम्बोधन गराउने प्रयास जारी रहन्छ । अहिलेचाहिँ औपचारिक वार्ता टोली नै बनाउने कुरा भएको छ । छलफलमा सहभागी दुई र थप तीनजना राखेर कार्यदल बनाउँछौँ । त्यो कार्यदलले सबै पक्षसँग वार्ता गर्छ ।

तपाईंहरूको एक प्रमुख मुद्दा रेशम चौधरीको रिहाइ हो । निर्वाचित भएको तीन वर्षसम्म चौधरी जेलमै छन् । उनी अन्यायमा परेका हुन् भने अहिलेसम्म किन छाडिएन ? यदि उनले राज्यविरुद्ध अपराध गरेका हुन् भने प्रधानमन्त्रीको पद जोगाउन र तपाईंहरू मन्त्री हुनैका लागि मात्रै कसरी छाड्न मिल्छ ? यो विषयमा प्रधानमन्त्री कसरी तयार हुनुहोला ?

यो नश्लीय चिन्तन र सोच भएकाहरूका कारण सिर्जना भएको समस्या हो । यो देशमा आन्दोलन गरेर आएका केपी ओली आफैँ प्रधानमन्त्री । युद्ध गरेर आएका प्रचण्ड प्रधानमन्त्री बने । अनि, पहिचानका लागि आन्दोलन गर्ने थारूचाहिँ आजीवन कारावासमा ? यो औपनिवेशिक चिन्तन र सोचबाट गरिएको व्यवहार हो । नश्लवादीका लागि केही नियम नै लागू हुँदैन । कसैले बन्चरोले टाउको काटे पनि, मान्छे मारे पनि, बम पड्काए पनि रातारात छुट्दा रहेछन् । तर, रेशम चौधरी छुट्दा मिडियाले पनि त्यही भाषा बोल्छ । यो त्यही चिन्तनको औजार भएजस्तो भयो ।

प्रधानमन्त्रीसँग लगातार भेटहरू भएका छन् । यसमा पहिले नै केही अनौपचारिक सहमति भएर अहिले औपचारिकता मात्रै पूरा गर्न खोज्नुभएको हो कि ?

होइन, त्यस्तो कुनै निर्णय भएको छैन । केपी ओली र उनको सरकारले हाम्रा मागहरूबारे हजारपटक अनौपचारिक सहमति गरिसके । त्यही भएर हामीले सरकार बनाउँदा ओलीलाई समर्थन दियौँ । उपेन्द्र यादवजी एकपटक सरकारमा पनि जानुभयो । अब ओलीलाई हामीले चिनिसकेका छौँ । अनौपचारिक सहमति मात्रै गरेर केही पनि हुँदैन । जबसम्म माग सम्बोधन हुँदैन, त्यतिवेलासम्म कुनै सहमतिले काम गर्दैन । कुरा जति गरे पनि काम भएन भने विश्वास रहँदैन । मुद्दा सम्बोधन गर, मुद्दा सम्बोधन नगरेसम्म कोहीसँग केही पनि हुनेवाला छैन ।

अझै पढ्नुहाेस