राधा चौधरीको तीन वर्षे छोरालाई अर्कै महिलाले उठाएर लगेपछि…

गोविन्द महतो/अन्नपूर्ण पोस्ट्

जन्माएर तीन वर्ष जेनतेन आफू दुःख कष्ट सहेर लालनपालन गरेको तीन वर्षीय छोरो घरबाट खेल्न निस्किएर एकाएक हराएपछि एक आमा १५ दिनदेखि निन्द्रा र भोक हराएर छटपटाई रहेकी थिइन्। तर मंगलबार दिउँसो हराएको बच्चा १५ दिनपछि काँखमा राख्न पाउँदा राधा देवी चौधरीको खुसीको सीमा नै रहेन्। आँखाबाट बररररर खुसीका बलिद्र धाराहरु खसिरहेको थियो। आमाको मायाले बच्चालाई चुमिरहेकी थिइन्। १५ दिनपछि भेटिएका छोरा सोहन अक्क न बक्क बोल्दा आमाको मन अझ दुखिरहेको स्पष्ट देखिन्थ्यो।

छोरीसँग खेल्दाखेल्दै एकाएक हराएको बच्चालाई काँखमा लिएर राधाले १५ दिनदेखि आफ्नो बच्चा खोज्दै रोईकराई गरेको पीडा बिर्सने प्रयास गर्दै थिइन्। ३ वर्षसम्म कोखमा राखेर मेहनत मजदुरी गरेर हुर्किएको छोरा एकाएक हराएपछि उनको होस् हवास उडेको थियो। घरबाट खेल्न गएको छोरा वेपत्ता भएको १५ दिनपछि राधा खुसी हुन पाएकी हुन् ।

‘म १५ दिन देखि घरमै राईकराई गर्दै मेरो छोरालाई ल्याइदेऊ भन्दै थिएँ। मंगलवार अचानक आएर बच्चा भेटिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयमा आएको हुँ। जाउँ भेट्न भन्नुभयो, सुरुमा त मैले विश्वास नै गरिन,’ खुशी हुँदै उनले भनिन्, ‘अरुले जे भने पनि मलाई चाहिँ मेरो बच्चा ढिलो चाँडो मैले पाउँछु भन्ने आशा थियो, म यति धेरै खुशी छु कि यो खुशी व्यक्त गर्ने शब्द नै छैन।’

खुशीका आँसु बगाउँदै चौधरीले भनिन्, ‘प्रहरी सरहरुले गर्नुभएको सहयोगले आज मेरो बच्चा भेटियो, वहाँहरु मेरो लागि भगवान भएर आउनु भो। मेरो हराएको बच्चालाई नदेखेको १५ दिन भैसक्यो, मन अशान्त थियो। खाना रुच्दैन्थ्यो, निन्द्रा आउँदैन्थ्यो। तर धन्य मेरो बच्चा प्रहरी सरहरुले खोजेर ल्याइदिनु भयो!’

जिल्ला प्रहरी कार्यालयको परिसरमा मंगलबार दिउँसो साढे ४ बजे बच्चालाई लिएर प्रहरी उपरीक्षक बसन्त रजौरे काँखमा बोकेर गाडीबाट ओर्लिएसँगै उनकी आमा धुरुधुरु रुन थालिन्। मेरो राजा, मेरो बाबु कहाँ थियौं भन्दै भक्कानो छोडेर रुन थालिन्। यतिकैमा उनलाई भेला भएका मानिसहरुले सम्झाउँदै सम्हाले। बालकको बुवा हरिओम चौधरी र छरछिमेकीसहित उपस्थित भएकी राधाले छोरा भेट्टिएकोमा खुशी व्यक्त गर्दै छोरा चोर्नेविरुद्ध कडा भन्दा कडा कारवाहीको माग गरिन् ।

जनकपुरधाम उप–महानगरपालिका ७ भ्रमरपुरा चोक स्थित डेरा गरी बस्ने बालक सोहनलाई खेलिरहेको बेलामा लिएर भागेको एसपी रजौरेले बताए।

रजौरेले हराएको सूचना प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षकदेखि प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वमा छुट्टाछुट्टै टोली खटाएर घटनाको सुक्ष्म अनुसन्धान गरेर निष्कर्षमा पुगिएको बताए।

‘जनकपुरको हाइवे र जलेश्वर राजमार्गमा करिब ५० भन्दा बढी सीसीटीभी फुटेज चेक गर्‍यौं। फुटेजमा बच्चा लग्दै गरेको भिडियो प्राप्त भएपछि थप जिम्मेवारी थपियो। बच्चा लिएर जाने महिलाको खोजतलास गर्ने क्रममा झण्डै ५० जनाको सादा पोशाकका टोली खटाएर हाम्रो टोलीले खोज्यो तर भेटाएन। अन्ततः प्रहरी इन्टेलिजेन्सको आधारमा महोत्तरीको पिपरामा गाउँपालिका ४ की ५५ वर्षीया मैथुन खातुनले अपरिचित बच्चा ल्याएको खबर पाउनासाथ अनुसन्धानले गति लिएर आज बच्चालाई सकुसश उद्धार गर्‍यौं,’ पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै एसपी रजौरेले भने।

महोत्तरीको पिपरा गाउँपालिका ४ सहोडवा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले बच्चासहित बच्चा अपहरण गर्ने ५५ वर्षिया खातुनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट खातुनको छोरा नभएको र छोरीको विहे भएर गैसकेकाले एक्लै बस्ने गरेको पाइएको छ।

पक्राउ परेकी खातुनमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

अझै पढ्नुहाेस