राजनीति सरगर्मीसँगै रेशम चौधरीलाई जेलमा भेट्न पुग्दा…

गजेन्द्र बोहोरा/आयोमेल

फेरि रेशम एकपटक सत्ताको केन्द्रमा छन्। सत्तासमीकरणको ‘वार्गेनिङ प्वाइन्ट’ मा रहेका रेशमलाई उनकै पार्टी जसपाले भने खासै केही भनेको छैन।

‘अहिले नेताहरू भेट्न आउनु भएको छैन। देशकै राजनीति बिथोलिएको छ उहाँहरू बिजी भएर पनि होला’ सदरखोरभित्रको छोटो भेटघाटमा उनले भने ‘मैले पनि समाचारमा सुनेको फेरि मेरै मुद्दामा कुरा भइरहेको रहेछ। हाम्रो पार्टीले कुरा उठाएको रहेछ।’

अनि एकछिनपछि उल्टै रेशमले प्रश्न गरे– ‘साँच्चै तपाईंहरूलाई थाहा होला नि! मेरो के हुन्छ हँ?’

०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको एउटा हिंसात्मक घटनामा एकजना नाबालक र ८ जना प्रहरीको मृत्यु भएको थियो। त्यही घटनाका मुख्य आरोपी ठहर्‍याइएका रेशम अहिले सदरखोरमा आजीवन कारावासको सजाय काटिरहेका छन्।

रेशमभित्र पलाएको आशा
शुक्रबार पनि रेशमलाई भेट्न धेरै समूह पुगेका थिए, डिल्लीबजारको सदरखोरमा।

भित्र छिर्नेबेला एकजना सुरक्षाकर्मीले सोधे – आज रेशम चौधरीको वर्थ डे हो कि क्या हो? मान्छेहरू भेट्न आको आयै छन् त!

‘वर्थ डे त थाहा भएन अहिले राजनीतिमा उहाँकै चर्चा छ’ छेउका अर्का सुरक्षाकर्मीले भने ‘नेता भनेको नेता नै हो नि। त्यो पनि चुनाव जितेको नेता।’

पुरानो भएर थोत्रिइसकेको, मक्किएको अनि भग्नावशेष हुनै लागेको सदरखोर। भित्र आँगनमा निकै भीडभाड थियो। जेल जीवन बिताइरहेकाहरूलाई भेट्न आउनेको लर्को उस्तै थियो।

त्यही आँगनको एउटा रुखमुनि आधा छायामा रेशम पनि गफिइरहेका थिए। उनलाई भेट्न गाउँलेहरू पनि आएका थिए। उनलाई चिन्ने उनका गीत, पुस्तकका फ्यानहरू आएका थिए। साथीभाइहरू आएका थिए।

बिहानभरि टेलिभिजनमा समाचारहरू हेरिनिस्केका उनी खुसी थिए। तर अनुहारभरि छटपटिका रेखाहरू प्रष्टै देखिन्थे। घरिघरि सोधिरहन्थे– मेरो के हुन्छ?

उनले आफ्नो पार्टीका नेताहरूलाई पनि फोन गरेर सोधिरहन्छन्- के भइरहेको छ। हाम्रो माग के भयो?

अहिले नेताहरूलाई ‘बिजनेस’को सिजन छ। कतिले फोन उठाउँछन्। कतिले उठाउँदैनन्। कुनै बेला लामै कुराकानी गर्छन् कुनै बेला हतार हतारमा बोल्छन्।

‘जेलको फोन हो। सबैले सेभ गरेका छन् नि!’ चौधरीले हाँस्दै भने।

‘त्यो एउटा अधिकारका प्राप्तिका लागि जन्मिएको आन्दोलन थियो। टीकापुरमा त्यो दुर्घटन भयो र मानिस मारिए। हामी कसैको ज्यानै लिनपुर्छ भन्नेमा होइन। हाम्रा अधिकारका लागि लडेका थियौं’ उनी भन्छन् ‘नहुनुपर्ने भयो। तर त्यो विशुद्ध राजनीतिक आन्दोलन थियो। हुँदाहुँदा मलाई डाँका, चोरीको समेत मुद्दा लगाइएको छ। मैले कसको घरमा डाँका मारेँ होला, कसको घरमा चोरी गरेँ होला?’

त्यो घटनाको छानबिनका लागि सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा एउटा आयोग पनि बनाएको थियो। तर अहिलेसम्म उक्त्त आयोगले बुझाएको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेको छैन।

‘कस्ता कस्ता आरोप लागेकाहरूलाई, आफैँले जिम्मेवारी लिएकाहरूलाई सरकारले वार्तामा ल्याएर, राजनीतिक मुद्दा भनेर उनीहरूलाई त्यसै छोडिदिएको छ। हामीलाई त यस्तो पो गरिदियो’ चौधरी भन्छन् ‘सरकारले यस्तो गर्न मिल्दैन। त्यो पनि एउटा निर्वाचित सांसदलाई।’

‘भूमिगत’ भइसकेका विप्लव’हरूलाई हतियारको कुरै नगरी ओली सरकारले भर्खरैमात्रै वार्ता गरेर ‘शान्तिपूर्ण राजनीति’मा अवतरण गराएको छ। सिके राउतहरूलाई यसअघि नै ओली सरकारले थान्को लगाइसकेको थियो।

‘कसैले विद्रोह गर्दा ‘राजनीतिक’ हुने र सबै माफ भइहाल्ने। हामीले विद्रोह गर्दा अपराध हुने’ चौधरी भन्दै थिए ‘राज्यले यस्तो त कसरी गर्न मिल्छ र?’

टीकापुर घटनापछि प्रहरीको फरार सुचीमा थिए उनी। २०७४ सालमा भएको निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट उम्मेदवार भए। जुन ठाउँमा त्यस्तो नरसंहार भयो। जुन आरोपमा उनी भूमिगत भए त्यही ठाउँमा चुनाव उठेका उनले ३४ हजार ३ सय ४१ मत ल्याएर चुनाव जिते। त्यो पनि भूमिगत अवस्थामै।

त्यसपछि कानुनको नजर फरार सुचीमा रहेका उनले २०७४ फागुन १४ गते अदालतलमा आत्मसमर्पण गरेका थिए। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

त्यही खोरबाट सिंहदरबार झिकाएर रेशमलाई २०७५ साल पुस १९ गते सभामुख कृष्णबहादुर महराले सांसदको सपथ खुवाए। प्रमाणपत्र दिए। सांसदको फुली(लोगो) लगाइदिए।

जेलबाट झिकाएर सपथ खुवाएर फेरि जेलै पठाइएका रेशम चौधरी नेपाली राजनीतिक इतिहासका सम्भवत: पहिलो जननिर्वाचित सांसद हुन्।

उनले यसबारेमा गीत पनि लेखेका छन्।

जेलभित्रै बसेर रचेको ‘सांसदको लाेगो लगाइदियौं अनि जेल पठाइदियौ…’बोलको गीत केही दिनमै सार्वजनिक हुँदैछ।

जेलमा रहँदा उनले यो गीतमात्रै लेखेनन्। नौ वटा जति किताव पनि लेखिसकेका छन्। तीमध्ये आधा दर्जनजति त प्रकाशित पनि भइसकेका छन्। भर्खरै तयार भएको ‘द हिडन स्टोरी’ अंग्रेजी किताब आगामी साता सार्वजनिक गर्ने तयारी भइरहेको छ।

‘जेल बसाइमा उपलब्धी ठूलै भएछ नि!’

एकछिन हाँस्दै रेशमले भने– राजनीतिक मुद्दालाई अपराधको खोल ओढाएर यी हेर्नुस् त एउटा निर्वाचित सांसदको जीवन जेलमै सडिरहेछ। तर पनि पुस्तक त जीवनका उपलब्धि नै हुन्।’

अझै पढ्नुहाेस