राजकुमार लेखीसहित १६ नेता र ११ सांसद जसपाको कारबाहीमा (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट हटाउने भएका छन्। निर्वाचन आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएसँगै महन्थसहित १६ जना पार्टीमा नरहनेगरी हटाइने भएको हो।

जसपा कार्यकारिणी समितिको बुधबार दिउँसो बालकुमारीमा बस्ने बैठकले १६ जना कार्यकारिणी सदस्यसहित ११ जना प्रतिनिधि सभा सांसद हटाउने भएको हो। गत असार २२ गते निर्वाचन आयोगले पार्टीमा सहमति गर्न बोलाएको बैठकमा छुट्टै पार्टी बनाउने विषयमा हस्ताक्षर गरेकाले एउटै पार्टीमा राख्न नमिल्ने कार्यालयसचिव प्रकाश अधिकारीले बताए।

‘जसपा विवादका विषयमा निर्वाचन आयोगले सहमति गर्न यसअघि बोलाउँदा महन्थजीहरूले एउटै पार्टीमा बस्न सकिँदैन भनेर हस्ताक्षर गर्नुभयो। आयोगले फेरि कार्यकारिणी सदस्यको हेड काउन्ट गर्न बोलाएको बैठकमा विपक्षमा मतदान गर्नुभयो’ नेपाल लाइभसँग कुरा गर्दै अधिकारीले भने, ‘जसपा हामीले पायाैं। त्यस्तो भइपछि स्वभाविकै रुपमा उहाँहरुलाई यो पार्टीमा राख्नु भन्ने हुँदैन। उहाँहरु स्वतः हट्नु हुनेछ।’

गत साउन ११ गते बोलाएको हेड काउन्टमा रेशम चौधरी भने तटस्थ बसेकाले उनको पक्षमा भने केही निर्णय नहुने बताएको छ।

यी हुन् हटाउन थालिएका कार्यकारिणी सदस्यहरू
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनल, निर्जला राउत, चन्दा चौधरी, वृषेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, सुनिल रोहित, दानबहादुर विश्वकर्मा, एकवल अहमत साह छन्।

यी हुन हटाइने सांसदहरू
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मिँया, चन्दा चौधरी, चन्द्रकान्त चौधरी, लक्ष्मणलाल कर्ण, निर्जला राउत, उमाशंकर अरगरिया, विमल श्रीवास्तव छन्।

अझै पढ्नुहाेस