यसपटक थारु बस्तीमा छैन दसैंको रौनक

ठाकुरसिंह थारु, बाँके।

भदौको हरेरी पूजापछि थारू गाउँमा साता दिन बिराएर हुरडुङ्गा नाच हुन्थ्यो । गाउँलेलाई पर्वको रन्कोले छोप्थ्यो । चहलपहल बढ्थ्यो । हरेरी पूजाकै दिन नाच गरेर दसैं नजिकिएको सन्देश दिइन्थ्यो । तर, यो वर्ष दसैं दैलोमै आइसक्दा पनि आँगन सुनसान छन् । कोरोना भाइरसका कारण गाउँमा एक दिन पनि नाच भएको छैन ।

एक महिनादेखि चहलपहल हुने थारू बस्तीमा अहिलेसम्म पर्वको कुनै रौनक छैन । ‘हाम्रो समुदायमा एक महिनाअघिदेखि नै दसैंको चहलपहल हुन्छ । तर, यसपल्ट भने अहिलेसम्म एकपल्ट नाच पनि भएको छैन,’ कोहलपुर नगरपालिका–६ का नारायण चौधरीले भने, ‘कोरोनाले दसैं पनि खल्लो हुने भो ।’ हुरडुङ्गा नाच गर्दा भीडभाड हुने भएकाले कोरोना संक्रमण फैलिन सक्ने जोखिम छ । त्यसैले पनि स्थानीयले सजगता अपनाउँदै भीड भेला पार्ने नाचगानको सांस्कृतिक विधिलाई यसपटक थाती राखेका हुन् ।

अहिले मादल घरको कोन्टीमै थन्किएको छ । ‘एक दिन पनि नाचेर रमाइलो गर्न पाइएको छैन । कोरोनाले निकै दुःख दियो,’ कोहलपुर–१६ का राधेश्याम चौधरीले भने । पछिल्लो समय यहाँका थारू युवाहरू पनि आफ्नो संस्कृति र परम्परामा सचेत हुँदै आएका छन् । चाडपर्वका बेलामा उनीहरू पनि परम्परागत गीत गाउने प्रयास गर्छन् । उनीहरू हुरडुङ्वा, सखिया र छोक्रा नाच गरेर परम्परा जोगाउने प्रयासमा छन् । दसैंका सबैजसो गीत रामायणको कथा र देवीदेवताका गाथासँग सम्बधित हुन्छन् । यसपटक तन्नेरी पुस्ताले नै भीड गर्नु हुँदैन भनेर पाका पुस्तालाई सम्झाइरहेका छन् ।

अझै पढ्नुहाेस