‘भलमन्सा’ बनेर टोल चलाउने जयश्री चौधरी (भिडियो)

सविता बुढा/सेतोपाटी

कैलालीकी ३५ वर्षीया जयश्रीदेवी चौधरी टोल चलाउने भएकी छन्। उनी आफ्नो टोलका १७ घरकी ‘भलमन्सा’ हुन्। कैलारी गाउँपालिका–४ ‘के’ गाउँमा १९ जना भलमन्सा छन् जसमा ४ जना महिला छन्। तीमध्ये अमरटोलकी भलमन्सा जयश्री हुन्।

जयश्रीका अनुसार भलमन्सा भनेको थारू टोलमा चुनिएको मान्छे हो। भलमन्साले टोलबासीका सुख-दुःख, सभा-भेला, निती-नियम, मुद्दा-मामिलामा, विकास निर्माणका काम लगायतमा अगुवाइ गर्नुपर्छ।

‘तर अचेल पहिलेजस्तो छैन। अहिले त भलमन्सा राजनिती, नेता र कर्मचारीसँग जोडिएको छ,’ उनले सेतोपाटीसँग भनिन्।

उनी दोस्रो पटक गाउँमा भलमन्साका रूपमा चुनिएकी हुन्। यसअघि २०७४ मा पहिलो पटक उनी भलमन्सा बनेकी थिइन्। एक वर्ष भलमन्साको जिम्मेवारी सम्हालिसकेकी उनी दोस्रो पटक गत माघ ३ गते चुनिएकी हुन्।

थारू वस्ती रहेका हरेक टोलमा एक जना भलमन्सा बनाइएका हुन्छन्। सूदुरपश्चिमका अरू जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा थारू समुदायको ठूलो संख्यामा बसोबास छ। थारू समुदायका विभिन्न चलनमध्ये प्रत्येक माघमा गाउँमा भलमन्सा चुन्ने पनि एक हो। यो समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछन्। त्यही नयाँ वर्षका दिन उनीहरूले गाउँमा नयाँ भलमन्सा चुन्छन्।

यसपालि जयश्रीको टोलमा भलमन्सा को बन्ने भनेर सहमति हुन सकेको थिएन। अनि चिठ्ठा प्रक्रियाबाट भलमन्सा बनाउने गाउँलेहरूले निर्णय गरेका थिए। त्यो चिठ्ठा जयश्रीलाई पर्‍यो। चिठ्ठा जितेपछि उनलाई गाउँलेले गाउँ चलाउने जिम्माका साथ भलमन्साको पदको जिम्मेवारी दिएका हुन्।

‘सुरूसुरूमा नेतृत्व गर्न डर लागेको थियो। कसरी काम गर्ने, काम गर्न सक्छु कि सक्दिनँ भनेर डराउँथेँ,’ उनले भनिन्। जिम्मेवारी पाएको केही दिनमै टोलका मान्छेले आफूले भनेको मान्छन् कि मान्दैनन् भन्ने चिन्ता पनि लाग्थ्यो उनलाई। विस्तारै कामको अनुभव भएपछि उनको धक हराएको छ।

जयश्रीलाई भलमन्सा भएपछि उनका टोलका हरेक घरबाट वर्षको एक हजार रूपैयाँ मिल्छ। उनको वर्षभरीको तलब १७ हजार रूपैयाँ हो।

पहिले–पहिले टोलका मान्छेले भलमन्सालाई अन्न दिने चलन थियो।

‘अहिले पहिलेजस्तो धेरै खेती गर्ने किसान छैनन्। त्यसैले अन्नभन्दा पनि पैसा दिने चलन आयो,’ उनले भनिन्।

टोलमा केही काम परे भलमन्साका सल्लाह लिने चलन छ। गाउँ कसरी चलाउने, सामुदायिक वन संरक्षण, गाउँ नजिकको नदीमा तटबन्ध गर्नुपर्ने, नयाँ बजेटमा कस्ता योजना माग गर्ने, बाटो, बिजुलीका पोल सबै ठाउँमा नपुगेकाले टोल भेलामा कुरा राख्ने काम उनकै काँधमा हुन्छ। यी विषयबारे छलफल गर्न उनी हरेक हप्ता टोलबासीसँग बैठक बस्छिन्।

गाउँमा कोही बिमार परे खबर उनैकहाँ आउँछ। पैसा अपुग भए पनि घरघरबाट जुटाउने काम भलमन्साकै हुन्छ।

‘केही विवाद हुँदा भने गाउँमै मिलाउन मिल्ने कुरो मात्र मिलाइन्छ। प्रायः सबै गाउँपालिका वा प्रहरीमा जान बाटो देखाइदिन्छौं,’ उनले भनिन्।

के गाउँका केही भलमन्साले कानुनसम्बन्धी तालिम पनि लिएका छन्। कस्ता मुद्दामा कसरी काम गर्न मिल्छ भनेर भलमन्साहरूको हरेक महिनाको १० गते हुने बैठकमा छलफल हुन्छ।

बिहे, ब्रतवन्ध, माघी, होली, नयाँ साल, दसैं, तिहारजस्ता चाडपर्व र उत्सवमा खानपान व्यवस्था पनि भलमन्साले मिलाउनुपर्छ। यस्तो बेला आवश्यकताका बारेमा जयश्रीले पहिले गाउँलेसँग छलफल गर्छिन् र पछि सम्बन्धित ठाउँबाट सामानहरू उपलब्ध गराउँछिन्।

‘नयाँ वर्षका बेला सिकार (मासु) को व्यवस्था पनि भलमन्साले गर्नुपर्छ। सुँगुर खोज्ने, भाग लगाउने काममा जुट्नुपर्छ,’ उनले भनिन्।

गाउँमा अरू जुनुसुकै काम परे पनि भलमन्सालाई सोध्न आउँछन्।

‘केही काम पर्ने बित्तिकै सबभन्दा पहिला गाउँलेहरू भलमन्साकहाँ पुग्छन्। त्यसपछि जहाँ जानुपर्ने हो, जे गर्नुपर्ने हो त्यही अनुसार काम गर्छौं,’ उनले भनिन्।

वडा कार्यालय, गाउँपालिका वा सरकारी काम गाउँमा आउँदा पहिले भलमन्साकै खोजी हुन्छ।

जयश्री भन्छिन्, ‘नेता, कर्मचारी, संघसंस्थाका मान्छे जे काम परे पनि पहिले यहाँ पुग्छन्।’

भलमन्साले उनीहरूको कामका लागि मानिसहरू भेला पारिदिने काम गर्छन्। गाउँमा आएका योजनाहरू सफल पार्न जनसहभागिता जुटाउन उनको ठूलो भूमिका रहन्छ।

भिडियो हेर्नुस्:

अझै पढ्नुहाेस