बहुविवाहले भारती चौधरीलाई दिएको आँसु

यादव आचार्य/बर्दिया

राजापुर नगरपालिका-६ जोगीपुर बर्दियाकी २४ वर्षीया भारती चौधरी गुलरिया नगरपालिकाको सेवा केन्द्रमा आश्रित छिन्। ५ वर्षअघि प्रेमविवाहमा बाँधिएकी उनी श्रीमान्ले दोस्रो श्रीमती ल्याएपछि समस्या परिन् । सौता स्वीकार्दै श्रीमान्सँगै बस्ने मानसिकता बनाएकी भारती श्रीमान् सम्पर्कमै आउन छाडेपछि न्यायको ढोका ढक्ढकाउन बाध्य भइन्।

‘श्रीमान्ले जेठ १४ गते कान्छी श्रीमती ल्याउनुभयो। मेरो साथमा डेढ वर्षकी छोरी छ। २५ वर्षीय श्रीमान् सम्पर्कमा आउनै खोज्नुहुन्न’, उनले भनिन्, ‘हाम्रो भेट पनि पातलिएको छ। फोनमा कुरा गर्दा मलाई मार्दिन्छु भन्नुहुन्छ। धेरै अपशब्दहरू प्रयोग गरी गाली गर्नुहुन्छ। कति पटक त कुटपिट पनि सहेँ। घरमा सासू ससुराले बाहिर–बाहिर माया गरेजस्तो गर्नुहुन्छ भित्र छोराकै सपोर्टमा कुरा गर्नुहुन्छ। माइतीको साहारा पनि छैन ।’

आफ्नो सबै बाटो बन्द भएको उनले दुःख पोखिन्। ‘साथमा सानी छोरी छ कसरी हुर्काउँ कसरी दिन बिताउँ ? ’, उनले पीडा पोखिन्, ‘२ सौता भए पनि मिलेरै सँगै बस्छु भन्ने विचार थियो। तर, यातना खप्न सकिनँ। अब एक्लै बस्ने निधो गरेकी छु। मलाई न्याय दिलाइदिनुपर्‍यो।’ गहँभरी आँसु झार्दै उनले श्रीमानलाई झिकाएर अंश दिलाई दिन आग्रह गरिन्। उनले प्रहरीमा श्रीमान्लाई झिकाएर छलफल गरी पाउँ भनि निवेदन पनि दिएकी छन्। भारतीलाई न्याय दिलाउन गुलरियास्थित सेवा केन्द्र जुटेको छ। सेवा केन्द्रकी कर्मचारी रत्ना न्यौपानेले भनिन्, ‘महिला संजाल राजापुरले भारतीलाई सेवा केन्द्रमा ल्याएको हो। यहाँ ४५ दिनसम्म आश्रय दिन्छौं।

केन्द्रमार्फत पीडितको श्रीमान्सँग सम्पर्क गर्‍यौं। उहाँले सकारात्मक कुरा गर्नु भएन। समन्वय गर्दा हामीले उल्टै धम्की खेप्नुपर्‍यो। अहिले त फोन पनि सम्पर्क हुन सक्दैन।’ पीडितका श्रीमान् राजाराम चौधरी सम्पर्कमा नआउँदा समस्या सुल्झाउन कठिनाइ परेको न्यौपानेले बताइन्।

जिल्लामा बहुविवाहले प्रश्रय पाएको देखिन्छ। चेतना अभाव, सानो उमेरमा विवाह गर्ने परिपाटी एवं पुरुष प्रधान समाज भएका कारण पनि बहुविवाहले जरा गाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। बर्दियामा गत आर्थिक वर्षमा ९ वटा बहुविवाहको मुद्दा दर्ता भएको छ। बहुविवाह कसूरमा ९ पुरुष, ९ महिलालाई नियन्त्रण लिएको उनले बताए।

अनुसन्धानका क्रममा १ महिला, ४ पुरुष गरी ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। त्यस्तै, ७ महिला, ५ पुरुष धरौटीमा छाडिएका छन्। १ महिलालाई साधारण तारेखमा छाडिएको छ। मुलुकी संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसूरमा बहुविवाह गरेमा १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ। ‘हामीले बहुविवाहसम्बन्धी कुनै पनि उजुरीलाई महत्व दिएर तहकीकात गर्छौं’, प्रहरी प्रमुख एसपी शाहीले भने।

अझै पढ्नुहाेस