नारदमुनी रानालाई जब माधव नेपालले बैठकमै हप्काए

विवादै विवादमा फसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद नारदमुनि रानाबीच आइतवार संसदीय समितिको बैठकमै भनाभन भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि एमालेको विवाद छताछुल्ल भएको हो।

बिहान ११ बजे बस्ने भनिएको समितिको बैठकमा भाग नेता नेपाल ११ बजेर १ मिनेटमा पुगेका थिए। त्यसपछि उनले बैठकमा बोल्दै संसद जीवित राख्न सफल भएको भनेर खुसी साटेका थिए। उनले बैठकमा आफ्ना भनाइ राख्ने क्रममा ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिए। नेता नेपालले दुई दुई पटकको प्रतिगमन पराजित भएको बताउँदै अब संसदीय समितिलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

उनले सरकारले पूर्णता पाएर नयाँ मन्त्रीहरु आएपछि संसदीय समितिलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए। नेता नेपालले बोल्दै गर्दा बैठकमा छिरेका थिए ओली पक्षीय सांसद एवम् छोटो समय वन मन्त्री बनेका नारदमुनि राना। आफ्नो बोल्ने पालो आएपछि सांसद रानाले सरकारको भन्दा संसदीय समितिकै कमजोरी रहेको बताउँदै विगतका निर्णयका पनि फेहरिस्त त्यहाँ सुनाए।

bidhlab
छोटो समय ओली सरकारमा मन्त्री भएपछि उनी अन्तर्राष्ट्रिय समितिबाट बाहिरिएका थिए। उनको नयाँ समिति अब सभामुखले तोक्नुपर्ने हुन्छ। तर सभामुखले नयाँ समिति तोकिनसकेकाले उनी पुरानै समितिमा पुगेर आफ्ना कुरा राखे।

आफ्ना भनाइ राख्ने क्रममा रानाले एमालेका असन्तुष्ट नेता नेपाललाई आक्रोशित बनाउन शैलीमा बोल्दै गए। उनले अहिलेको संसदलाई जनताले नभइ सर्वोच्चले ल्याइदिएको तर्क गरेका थिए। ‘प्रतिनिधिसभा विघटनपछि पुन:स्थापना भएको छ। यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो। अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो’, उनले भने, ‘सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन, दुवैलाई जनताले ल्याएका होइनन्।’

अनि चिढिए नेपाल

आफ्ना भनाइ राख्ने क्रममा नेता नेपालतर्फ पनि उनले हेर्ने गरेका थिए। त्यही क्रममा रानाले संसद विघटनको जिम्मेवारी वरिष्ठ नेताहरुले पनि लिनुपर्ने भन्दै नेता नेपालतिर दोष थोपर्न खोजे। ‘दुई दुई पटक संसद विघटन गर्न बाध्य पार्नेहरूले वरिष्ठ नेताहरुले यसको जिम्मेवारी लिनुपर्छ’, माधव नेपालतिर हेर्दै उनले भने, ‘संसद विघटन राजनीतिक निर्णय हो। यो जिम्मेवारी वरिष्ठ नेताहरुले लिनैपर्छ।’

उनले नेपाललाई अझै आक्रोशित बनाउने गरी एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा उनीहरु घरमा गएर सुतेको टिप्पणी गरे। ‘संसद चाहियो भनेर कराउने नेताहरु बैठक बस्दा बस्दै कहाँ गएर सुते? आफ्नै पार्टी अध्यक्षले विश्वासको मत लिने बेला किन अनुपस्थित भए? आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुत्ने अनि अहिले यस्ता कुरा गर्ने?’

अझै पढ्नुहाेस