दुई जोखिमकाबीच दुई मतले चुनाव हारेका विजय गच्छदार

भागवत भट्टराई

कांग्रेसभित्र विजयकुमार गच्छदारको मत बलियो नै रहेछ । निर्वाचित हुन दुई मत मात्रैले चुकेता पनि आफ्नो मतको बल भने उनले प्रमाणित गरेका छन्- गच्छदारलाई मात्रै नभइ देउवा प्यानललाई पनि आएको भोट किन नहोस् ।

निर्वाचन हुनु पहिले पनि देउवा सभापति र गच्छदार उपसभापति न‌ै थिए । अन्य उम्मेदवारको तुलनामा गच्छदारको लागि यो निर्वाचन दुईवटा कारणले जोखिमपूर्ण थियो । एक, उनीविरुद्ध ललिता निवास जग्गा अपचलनको विषयमा अदालतमा मुद्दा छ, त्यसै कारणले उनी संसदबाट समेत निलम्बित छन् ।

दोस्रो, कांग्रेसमा २०२७ सालदेखि आफूलाई चिनाएर पनि बीचको १० वर्ष कांग्रेसबाट उनी अलग्गिए । त्यसपछि पुन: कांग्रेसमा प्रवेश गरेपछि पहिलोपटक आन्तरिक निर्वाचनको सामना गर्नुपरेको थियो ।

यी दुई जोखिमकाबीच पनि उनले शानदार मत प्राप्त गरेका छन् । राजनीतिक लाभ आफू वरिपरि घुमाउन सक्ने नेताका रूपमा चित्रित छन् गच्छदार, अहिलेसम्म १२ पटक त मन्त्री नै बनिसके । उनको संयोग मानाैँ ०६४ सालमा पार्टीले तोकेको क्षेत्रमा निर्वाचन लड्न टिकट नदिएको तथा आफ्ना मान्छेलाई बेवास्ता गरेको भन्दै निर्वाचन हुनुभन्दा दुई हप्ताअघि पार्टी छोडे । तर, राम्रो मतसहित संविधानसभाक‍ो निर्वाचनमा निर्वाचित भए । ठिक १० वर्षपछि त्यसैगरी निर्वाचन हुनुभन्दा केही समयअघि मात्रै कांग्रेसमा प्रवेश गरे, र आफ्नो र पार्टीको पक्षमा परिणाम निकाले ।

उनी पछिल्लो तीन वर्षयता कांग्रेसमा उपसभापतिक‍ो जिम्मेवारीमा थिए । पार्टी एकताको क्रममा गरिएको सहमतिअनुसार उनी मन‍ाेनीत उपसभापति बनेका थिए । आगामी चारवर्ष निर्वाचित उपसभापति हुने उनकाे रहर भने झिनो मतले पूरा भएन ।

कांग्रेसमा गच्छदार र एकेजीबी समूहको पहिचान

२०६४ देखि २०७४ को अवधि गच्छदार फरक पार्टीमा रहे पनि कांग्रेसभित्र उनी २०२७ सालदेखि सक्रिय नेता हुन् । २०५५/५६ साल ताका पार्टीमा गच्छदार लगायतका चार नेताको छुट्टै रवाफ थियाे । उनीहरू त्यतिबेला `एकेजीबी´ समूहका रूपमा चिनिन्थे । ए बाट अर्जुननरसिंह केसी, के बाट खुमबहादुर खड्का, जी बाट गोविन्दराज जोशी र वि बाट विजयकुमार गच्छदार । पार्टीभित्र यो समूहले चाहँदा धेरै कुरा हुन्थ्याे । यो समूहका नेताहरूमध्ये उनी र अर्जुननरसिंह केसी मात्रै अहिले सक्रिय राजनीतिमा छन् ।

२०२७ सालदेखि कांग्रेसमा सक्रिय गच्छदार त्यतिबेला महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको नेताका रूपमा चिनिन्थे, २०३१ सालमा विमान अपहरण काण्डमा मुछिएपछि कांग्रेसमा गच्छदार परिचित भएको पूराना नेताहरू स्मरण गर्छन् ।

२०४८ मा भएको संसदीय निर्वाचनमा विजयी भएसँग‌ उनी लगातार सांसद हुँद‌ै आएका छन् । कांग्रेस केन्द्रीय समितिमा उनी नवाैँ महाधिवेशनबाट आएका थिए । अहिलेका नेताहरूमध्ये शेरबहादुर देउवा र रामचन्द्र पाैडेल मात्रै उनीभन्दा पहिले आठाैँ महाधिवेशनबाट केन्द्रीय समितिमा आएका थिए ।

देउवालाई साथ

यो महाधिवेशनमा गच्छदारले देउवालाई साथ दिए । पहिले नै आफूभन्दा वरिष्ठ नेता देउवा र रामचन्द्र पाैडेल भएक‍ाे भन्दै उनीहरूकाविरुद्ध निर्वाचन नलड्ने बताएका उनले निर्वाचनको क्रममा देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिए । त्यसो त उनी पहिला देखि नै देउवालाई साथ दिँदै आएका नेता हुन् । २०५९ सालमा कांग्रेस विभाजित हुँदा देउवाको साथमा कांग्रेस (प्रजातान्त्रिक) मा लागेर सहयोग गरेका थिए । सो पार्टीको महामन्त्रीसम्मको जिम्मेवारी लिएका थिए । पछि भने उनी तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको साथमा नै रहे ।

कांग्रेसमा सक्रिय भएपछि ललिता निवास काण्ड

राजनीतिमा निकै सक्रिय खेलाडी गच्छदार कांग्रेसमा प्रवेश गरेसँगै पार्टीको उपसभापति र संसदीय दलकाे उपनेताको जिम्मेवारी पाए । तर, ललिता निवास जग्गा अपचलन मुद्दामा परेपछि उनी निष्क्रिय बस्नुपर्‍याे । २०७४ असोजमा कांग्रेसमा प्रवेश गरेका उनी २०७५ कात्तिकमा कांग्रेस उपसभापतिमा मनोनीत भएका थिए ।

अझै पढ्नुहाेस