दुई छोरी सुजा र लिजा चौधरीलाई गुमाएपछि आमाको पीडा

युवराज श्रेष्ठ/सेतोपाटी

सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षअगाडि एक जना महिला बर्बराउँदै थिइन्। अर्का पुरुष आफूलाई सम्हाल्दा सम्हाल्दै बीचबीचमा डाँको छाड्दै थिए।
आकस्मिक कक्षभित्र आठ जनाको शव लस्करै राखिएको थियो। सोमबार दिउँसो घान्द्रुक जाँदै गरेको गाडी दुर्घटनामा ज्यान गुमाउनेहरूको पोष्टमार्टम गर्न स्वास्थ्यकर्मी व्यस्त थिए।

दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्। उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घटनामा उनीहरू दिदीबहिनी नै परे।
आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घटना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घटनामा दुवै छोरी गुमाएको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घटनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आकस्मिक कक्षअगाडि असह्य पीडा पोखिरहेकी थिइन्।

‘जन्माउँदा मेरो कोख दुखेन, हाँसीहाँसी दुवै छोरी जन्माएकी थिएँ,’ पार्वती एक्लै बर्बराउँदै थिइन्, ‘आज मेरो शरीर भतभती पोलेको छ। मेरी डाक्टर छोरी, आऊ छोरी म तिम्रो हात चुम्छु।’
पार्वती क्यान्सर रोगी छिन्। उनको उपचारमा पनि नर्सिङ पढ्दै गरेकी छोरी सुजा खटिएकी थिइन्।

पार्वतीको घर चितवनको सौराहा हो। तर लामो समयदेखि काठमाडौं बस्न थालेकी थिइन्। उनीहरू कपडाको व्यापार गर्छन्। व्यापार क्रममा एक महिनाअघि भारत गएका थिए। नेपाल फर्केको जम्मा दुई साता भएको रहेछ।
‘म नेपाल आउँदा वेलकम ममी भनेका थियौ। सपिङ गर्दिनू, हामी घुम्न जान्छौं भनेका थियौ। सपिङ गरिदिएँ, आज तिमी कहाँ छौ छोरी,’ बेहोसीमै पार्वतीले भनिन्।

आमा पार्वतीले श्रीमान बाबुरामलाई बारम्बार गुनासो गरिरहेकी थिइन्। छोरीहरूसँग घुम्न जान पार्वतीले आग्रह गरेकी रहिछन्। उनले श्रीमानलाई भनिन्, ‘मैले भनेथेँ नि तपाईंलाई, छोरीहरूको गार्जियन, सँगै जानु भनेर…।’
सुजा र लिजासहित काठमाडौंबाट अरू चार जना सँगै आएका थिए। जसमध्ये १८ वर्षीय जिनलव घिसिङ र उनकी २० वर्षीया दिदी देविका घिसिङ पनि थिए। उनीहरू सँगसँगै आइतबार पोखरा आएका थिए। यस्तै काठमाडौं– ३ गोंगबु बस्ने २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, गोरखा घर भई गोंगबु बस्ने विनय क्षेत्री, २० वर्षीय सुमन चोधरी अर्को समूहमा पोखरा घुम्न आएका थिए।

देविका गाडीको पछाडि बसेकी थिइन्। गाडी गुल्टिँदै जाँदा उनी गाडीबाट बाहिर हुत्तिइन् र एउटा रुखमा पुगेर अड्किन्। यसरी आफ्नो ज्यान जागिएको देविकाले बताएकी छन्। उनीसँगै आएका भाइ जीनलव भने जोगिन सकेनन्।
सुजा र लिजाकी आमा पार्वतीको बिलौना रोकिएको छैन। उनलाई अस्पतालको आकस्मिक कक्ष बाहिर नै राखिएको छ। छोरीको उपचार भइरहेको भनेर आफन्तले थामेका छन्। बेलाबखत जोडतोडले अस्पतालभित्र छिर्न खोज्छिन्। आफन्तले रोकेर राख्छन्। उनी बर्बराउन छाडेकी छैनन्।
पार्वतीले भनिरहिन्, ‘छोरी हो, काठमाडौं जाने हो। आऊ, म मेरो सास दिन्छु नि।’

अझै पढ्नुहाेस