डिल्लीबजार कारागारबाट रेशम चौधरीले जब महेन्द्रलाई भने- तपाईं मेयरमा उठ्नुस्

– समर्पण श्री

‘महेन्द्र, तपाईंको मोडल तपाईं नै लागू गर्नुहुन्न भने अरु कसले गर्ला र ?’

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीले निकै पटकको भलाकुसारीपछि यसो भनेका थिए । महेन्द्र उपाध्यायको विकासको मोडल पढिसकेपछि कारागारबाटै उनले अचानक प्रस्ताव राखे, ‘लम्कीचुहा नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीबाट तपाईं नै उठ्नुपर्छ मेयर ।’

तर, महेन्द्र तयार थिएनन् । सिभिल इन्जिनियरिङको जागिर छाडेर ‘फुलटाइमर’ लेखक बन्न अड्डी कसेर बसेका थिए । सपना देखाउनेहरूबाट निराश हुँदै आएका महेन्द्र आफैँ नयाँ सपना देख्न थाले । सोचेका थिए- तराईमा विकासको नयाँ मोडलबारे किताब लेख्ने ।

जागिर छाडेलगत्तै उनी कथा र उपन्यास लेख्न मात्र बसेनन्, तराईको अर्थतन्त्र कसरी सुदृढ पार्ने भन्ने विषयमा समेत अनुसन्धान गर्न थाले । सूक्ष्म अनुसन्धानपश्चात् उनले खाका पनि तयार पारे । फागुनसम्ममा मोडल तयार पारेर उनले विज्ञहरूलाई पठाए । विज्ञहरूबाट आएको सुझाव आफूले नचिताएको थियो, ‘यो लागू गर्न सके तराईका जिल्लाहरू सक्षम बनाउन सकिन्थ्यो ।’

कारागारमा जेलजीवन बिताइरहेका सांसद रेशम चौधरीको हातमा पर्‍यो किताब । त्यो मात्र हैन, टीकापुर हत्याकाण्डको अघिल्लो रातदेखि थारूहरूले झेल्नुपरेका कठिन समस्याबारे उनले ‘मिन्जारी’ उपन्यास लेखेका थिए । रेशमले त्यो पनि पढ्न भ्याए । ‘त्यसपछि ४ चैतमा उहाँसँग मेरो पहिलो भेट भयो । उपन्यास र विकासमाथिका मेरा सपनाले प्रभावित हुनुभएछ । हामीबीच निकै बेर कुराकानी भयो,’ महेन्द्र सुनाउँछन् ।

दोस्रो पटकको भेटमा त रेशमले ठाडै प्रस्ताव गरे, ‘हाम्रो पार्टीबाट चुनाव लड्नुस् महेन्द्र, मेरो आग्रह छ ।’

उनी झस्किए । निकै दिन आफूलाई कन्भिन्स्ड गर्न खोजे, सकेनन् । तर, २९ चैतमा रेशमको निराशापूर्ण वाणी उनको हृदयमा गढ्यो । ‘चुनाव जितूलाँ नजितूँला, कम्तीमा प्रयासचाहिँ गर्छु,’ अनि महेन्द्रले निश्चय गरे ।

कैलालीको लम्कीचुहा नगरपालिकामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीबाट उनी चुनाव लड्ने भए ।

‘अचानक यो निर्णय !,’ श्रीमती आत्तिइन् ।

महेन्द्रको कुरा उनका लागि ‘सरप्राइज’ थियाे । उनकी श्रीमती सहमत हुन निकै बेर लाग्यो । जब सहमत भइन्, उनले भनिन्, ‘जुन देशको नदीनाला सफा छैन, त्यो देशको राजनीति सफा हुन्न । तपाईं पहिल्यैदेखि भ्रष्टाचारविरोधी हुनुहुन्छ । यसलाई कायम राख्नुहोस् । बाँकी साथ मेरो सधैँ हुनेछ,’ श्रीमतीको साथले महेन्द्रको ऊर्जा भरियो ।

अनि महेन्द्र लम्कीचुहाको चुनावी मैदानमा उत्रन दृढ विश्वासका साथ गाउँ फिरे ।

०००

गत मंसिरमा उनी इन्जिनियर महेन्द्र उपाध्ययलाई जुम्लामै बिसाएर लम्कीचुहा पुगे । उनी रमाउन चाहन्थे ‘एमपी केयरलेस’को नाममा । अर्थात्, ‘फुलटाइमर राइटर’ ।

शहरी तथा भवन डिभिजन जुम्लामा इन्जिनियरिङको काम गर्दा उनी खुसी थिएनन् । कारण, ५० वर्षअघिको अवधारणामा काम गराइन्थ्यो । वाहियात् लाग्थ्यो महेन्द्रलाई । ठेकेदारको ‘दादागिरी’ले आजित थिए । अनि काममा राजनीतिक हस्तक्षेत उस्तै, भ्रष्टाचार उस्तै ।

जागिर छाडेर घर त पुगे । ३२ वर्षको उमेर, यो उमेरमा थुप्रै जिम्मेवारी बढेका थिए महेन्द्रमा । यही वर्ष विवाह भएकाले पारिवारिक उत्तरदायित्व पनि थपिएकाे थियाे । ‘लेखेर के गर्छस्, परिवार पाल्छस् ? पागल भइस् ?’ कति प्रश्नहरूको मात्र सामना गर्नु ।

तर, श्रीमतीले आड दिइन्, ‘म आत्मनिर्भर छु । तपाईंले सोचेको काम गर्नुस् । भरोसा दिन्छु ।’

त्यसपछि महेन्द्र पूरापूर लेखनीमा लागे । तराईका कथा लेख्न प्रशस्त समय पाए । लेखेका कथाहरूमा पुनः लेखन गर्ने उत्कण्ठा थिए । उपन्यास ‘मिन्जारी’ पनि यही बखत पूरा गरे । विकासका मोडलबारे अनुसन्धान र लेख्न पनि भ्याए ।

फिल्म निर्देशक यादव भट्टराईसँग मिलेर फिल्मको स्क्रिप्ट लेखे । जुन, चुनावलगत्तै फ्लोरमा जानेछ। ‘सिमान्त समुदायका थारूका मुद्दाबारे बन्दैछ, फिल्म । कालीकोट र कैलाली जिल्लामा भइरहेका घटनाको फ्युजन छ,’ एमपी भन्छन् ।

यहीबीचमा चुनाव आइपुग्यो । अब चुनावमा ठूला पार्टीहरूसँग महेन्द्र भिड्न तयार छन्, लम्कीचुहामा होस् वा सिङ्गो कैलाली वा असपासका जिल्लामा । सामाजिक प्रभाव भने छाडेका छन् महेन्द्रले ।

२०७७ साल साउनमा कालीकोटको रुक्सामा पहिरो गएर ४२ जनाले ज्यान गुमाएपछि बस्ती नै सार्नुपर्ने स्थिति आयो । त्यो बस्ती नरहरिनाथ गाउँपालिकाको सुंगरखालमा सारिँदै थियो । बस्तीको डिजाइनका लागि जिल्ला प्रशासन कार्यालयले थुप्रैलाई अनुरोध गर्‍यो । जोखिम मोलेर त्यो काम गर्ने आँट कसैमा थिएन त्यतिबेला । ‘तत्कालीन सीडीओ कृष्णप्रसाद आचार्यले मलाई अनुरोध गर्नुभयो । म तयार भएँ । जाँदा हिँड्ने बाटो आधा खसेको थियो, टेक्दै हिँड्दा डरमर्दो थियो । तर गएँ, डिजाइन गरेर आएँ,’ महेन्द्र भन्छन् ।

अहिले उनलाई बस्तीबाट खुसी साट्ने गरी फोन आउँछ, ‘सर घर त ४८ वटा बनिसके ।’

आफ्नै नगर लम्कीचुहामा पनि महेन्द्रले २० लाखभन्दा बढी लाग्ने डीपीआरको काम ५ लाखमा गरिदिएका थिए । ‘काम सस्तोमा त गरिदिएँ । तर, नगरभित्रको भ्रष्टाचार यति रहेछ कि । जुन मैले पछि खोतल्दै जाँदा थाहा पाएँ,’ महेन्द्र भन्छन्, ‘त्यसपछि नै मलाई जागिर छाडेर राजनीतिमा आउन मन थियो । तर, मूलधारका पार्टीका प्रवृत्तिसँग मेरो वितृष्णा थियो ।’

महेन्द्र तराईलाई कृषिखेतीबाटै उभ्याउन सकिने सपना देख्छन् । घोषणापत्रमा पनि कृषिमा उनको विशेष फोकस छ । ‘हामी थोरै लगानीबाटै दीर्घकालीन आम्दानीको काम गर्न सक्छौँ । त्यो कृषिमा सम्भव छ । यो पाँच वर्षमा बाँझो जमिन छाडेर विदेशिएकाहरू फर्काउने काम गर्न सकिन्छ,’ उनी भन्छन् ।

०००

महेन्द्र गाउँमा नागरिक उन्मुक्ति पार्टीमा बनेको माहौलसँग खुसी छन् । थारूहरूले २०७२ साल भदौमा भएको घटना बिर्सेका छैनन् । कारागारमा रहेका रेशम चौधरीसँग उनीहरूको ‘सेन्टिमेन्ट’ जोडिएको छ । उनीहरूको नारै छ- ०७२ के चोट, ढकियामें भोट ।

अर्कोचाहिँ त्यहाँ मुस्लिम समुदायका बासिन्दाले नागरिकताको समस्या झेल्दै आइरहेका छन् । ‘मुस्लिम समुदायमा चार पुस्ता नेपाल बसेका रहेछन् । उनीहरूको घरका कसैले नागरिकता पाएका छन् भने कसैले पाएका रैनछन् । जतिखेर नागरिकता टोली आयो, जसले बनायो । बनाउन बाँकी प्रशासन जाँदा अपमान खेपेर आउने रै’छ,’ महेन्द्र सुनाउँछन् ।

उनीहरूको आस्था पनि नागरिक उन्मुक्ति पार्टीसँगै जोडिएको उनी बताउँछन् ।

नेपालका तीन ठूला पार्टीहरू भने नगरमा आन्तरिक कलहमा छन् यतिबेला । नेपाली कांग्रेसबीच पनि बागी उम्मेदवार उठेका छन् । कांग्रेसबाट सुशीला साही र भक्त थापाले उम्मेदवारी दिएका छन् । सुशीलाले केन्द्रबाटै देउवाको तोक लगाएर टिकट पाइन् । भक्तलाई पनि प्रदेशले उम्मेदवार उठायो ।

कांग्रेसभित्रको आन्तरिक कलहको नजिकबाट फाइदा नागरिक उन्मुक्ति पार्टीले उठाइरहेको छ । नेकपा एमालेमा पनि उस्तै कलह छ । त्यहाँ पनि बागी दुई गुटबीचको भिडन्त छ । नेकपा एसको वडामा खासै प्रभाव छैन ।

लम्कीचुहामा ५३ हजार मतदातामध्ये २१ हजार मतदाता थारू समुदायका छन् । महेन्द्रलाई विश्वास छ, ‘मैदानमा जित हासिल गर्छु ।’

अझै पढ्नुहाेस