टोकियो ओर्लिएपछि मात्रै ‘स्पाइक सुज’ पाएकी थिइन् सरस्वती चौधरीले

ग्रीष्मकालीन ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सबै सदस्य देशका खेलाडीले एथलेटिक्स र पौडीमा प्रतिस्पर्धा गर्न पाउँछन् । कम्तीमा एक खेलाडी एथलेटिक्समा छनोटबिना (अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने छनोट प्रतियोगिता) नै ओलम्पियन बन्न पाउँछन् ।

त्यसैका लागि नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले नेपालगन्ज म्यथाराथन (मंसिर २०७७) लाई टोकियो ओलम्पिकको छनोटका स्पर्धाका रूमा लिएको थियो । त्यसको विजेता भएपछि गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्ने घोषणा गरिदिए । तर, गोपी स्वदेशमै रोकिए । त्यो विश्वव्यापी सहभागिताको कोटामा टोकियो उडान भर्ने भाग्यमानी भइन् धाविका सरस्वती चौधरी ।

नेपाली सेनाकी स्प्रिन्टर सरस्वतीले ओलम्पिक खेल्ने जानकारी पाएको एक महिना पनि भएको छैन । टोकियोस्थित ओलम्पिक रंगशालाको ट्र्याकमा उत्रिनुपर्‍यो । यसबीच उनका प्रशिक्षक इन्द्राकुमारी मल्ल कोभिड–१९ संक्रमणको कारण स्वदेशमै अड्किइन् । आइतबारमात्रै टोकियो आइपुगेकी सरस्वतीले ओलम्पिक ट्र्याकमा दौडन पाउने विशेष किसिमको जुत्ता ‘स्पाइक सुज’ लगाएर अभ्यास गर्न त के देख्न पनि पाएकी थिइनन् । ओलम्पिक मापदण्डमा पर्ने स्पाइक सुज टोकियोमै आएर प्राप्त गरिन् । अभ्यास गर्ने अवसर टाढाकै कुरा भयो ।

अहिलेकी सबैभन्दा तेज गतिकी नेपाली महिलालाई एथलेटिक्स संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले जस्तो सुविधा दिएको थियो, ओलम्पिकमा नतिजा पनि त्यस्तै निस्कियो । सरस्वतीले महिला १०० मिटरमा प्रतिस्पर्धा गरिन् । ओलम्पिक खेल्ने सपना साकार पारिन् ।

शुक्रबार बिहानै भएको १०० दौड पूरा गर्दा उनले १२.९१ सेकेन्ड लगाइन्, जुन उनकै आफ्नो उत्कृष्ट समय (१२.५५ सेकेन्ड/१३ औं दक्षिण एसियाली खेलकुद २०१९) भन्दा पनि खराब हो । दशरथ रंगशालामा दुई वर्षअघि व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दा उनी पाँचौं भएकी थिइन् । उनी विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ (दोहा) मा निकालेको १२.७२ सेकेन्डको नजिक पनि पुगिनन् । देवीमाया पनेरुले २२ वर्षअघि आठौं साफ खेलकुद १९९९ मा बनाएको १२.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान उछिन्ने लक्ष्यमा पुग्नु त टाढाकै कुरा भयो । यो ओलम्पिकमा पहिलो चरणमा पुग्ने समयसँग त तुलना गर्ने अवस्था नै छैन ।

उनको प्रतिस्पर्धामा व्यक्तिगत उत्कृष्ट प्रदर्शनको आधारमा हिट्समा प्रारम्भिक चरण र पहिलो चरणमा विभाजन गरिएको थियो । यसमा उनी प्रारम्भिक चरणको हिट्स २ मा परिन् । प्रारम्भिक चरणको हिट्समा पर्नु भनेकै यो स्पर्धामा कमजोर खेलाडी साबित हुनु हो ।

प्रारम्भिक चरणका तीन हिट्समा २७ खेलाडीले प्रतिस्पर्धा गरे । यसमा पनि सरस्वती ९ खेलाडीको आफ्नो हिट्समा आठौं भइन् । उनले साउदी अरेबियाका धाविकालाई मात्रै पछाडि परिन् । प्रारम्भिक हिट्सको समग्रमा भने सरस्वती २० औं स्थानमा रहिन् ।

ट्र्याकमा दौडिएको अवस्थामै उनी प्रतिस्पर्धाका लागि फिट थिइन् त भन्नेमा प्रश्न तेर्सिन्छ । प्रश्न उनीसँग मात्रै होइन, सम्बन्धित खेलका तीन निकाय (संघ, परिषद र ओलम्पिक कमिटी) लाई पनि तेर्सिन्छ । किनभने विश्व खेलकुदको कुम्भमा खेलाडीलाई तयार पार्ने काम तिनै संस्थाहरूको हो ।

जुनसुकै खेलाडीको पनि ओलम्पिकमा सहभागी हुने सपना हुन्छ । र, त्यो सपना सरस्वतीमा पनि थियो । ‘यसैपालि ओलम्पिक खेल्ने सपना पूरा गर्न पाएँ,’ २४ वर्षीया उनले भनिन्, ‘तर सोचेजस्तो राम्रो गर्न सकिनँ । अब आउने खेलमा राम्रो तयारी गर्नेछु । उत्कृष्ट प्रदर्शन गर्नेछु ।’

अझै पढ्नुहाेस