चुनावसम्म उपेन्द्र यादवसहितको कम्युनिष्ट पार्टी बन्छ : मेटमणि चौधरी

– एमालेजनहरू पार्टी जुट्छ कि फुट्छ भनेर व्यग्र प्रतीक्षामा छन् । तपाईंहरू न मिल्न सकिरहनुभएको छ, न फुट्न । एमालेको यो संक्रमणकालीन अवस्थालाई कहिलेसम्म टुंग्याउनुहुन्छ ?
केपी ओलीको अपराधकै कारण एमाले यहाँसम्म आइपुगेको हो । त्यसकारण एमालेलाई ठीक ठाउँमा ल्याउने भूमिका पनि उनले नै निभाउनुपर्छ । अहिले पनि ओली आफूले गरेको अपराध चाहिँ पुनरावलोकन गर्न चाहँदैनन् । अहिले पनि आफूले गरेको कामलाई ठीक हो भनेर ‘जस्टिफाइ’ गर्न कोसिस गरिरहेका छन् ।

ओली आफूलाई जति चाँडै ‘करेक्सन’ गर्छन्, त्यति चाँडै यो संक्रमणकालीन अवधि छोटो हुन्छ । तर, गलत काम गर्ने, अपराधिक काम गर्ने, अनि त्यो विषयमा सच्चिन नखोज्ने, नचाहने । उल्टो अरुलाई आममाफी दिएँ भन्ने । मानौं उनी श्री ५ महाराजधिराज हुन् । उनी त्यो तरिकाले प्रस्तुत हुँदा अझैं नेकपा (एमाले) को संक्रमणकालीन अवधि लम्बिन्छ जस्तो म देख्छु ।

– तर, पछिल्लो समय त ओलीले लचकता देखाएकै होइन र ?
छैनन् । उनी अरुलाई आममाफी दिने, कारवाही हुँदैन भन्ने तहसम्म त पुगेका छन् । तर, यीनले राष्ट्रविरुद्ध, संविधानविरुद्धको अपराध गरेका छन् । समग्र नेपाली जनता जो कम्युनिष्ट आन्दोलनलाई सकारात्मक कोणबाट हेर्छ, त्यो जनताप्रति र सर्वोच्च अदालतविरुद्ध अपराध गरेका छन् । यस विषयमा उनी ‘एक्सक्यूज’ हुनै पर्छ । आफूले गल्ती स्वीकार नगर्ने अनि अरुलाई आममाफी भनेर हुँदैन । उनी आफैंले देश, संविधान, कानूनका विपक्षमा जे जति काम गरेका थिए, त्यो सबै जान-अन्जानमा भएको थियो । यदि अन्जानमा भए मलाई माफी गर्नुहोस्, म क्षमायाचना गर्न चाहन्छु, सबै जनतासँग माफी माग्न चाहन्छु भन्ने पोजिसनमा उनी पुगे भने नेकपा (एमाले) मिल्छ ।
– माधव नेपालले नै म चाहिँ अध्यक्ष बन्दिनँ, वरिष्ठ नेता झलनाथ खनाललाई बनाए हुन्छ अथवा अध्यक्षमण्डल बनाऊँ भन्नुभएको कुरा आएको छ नि ?
त्यो त उहाँले नपत्याएको कुरा हो । ओलीले गरेको कुरा एक सेकेन्ड पनि टिक्दैन । टिके पनि उनी हैन भनेर भनिदिन्छन् । माने पनि मैले यो कारणले भन्दिएको हुँ भन्छन् । त्यसैले उनको कुरालाई कसैले पत्याएका छैनन् ।

यही कुरा उहाँले झलनाथ खनाल कमरेडलाई पनि प्रस्ताव गर्नुभयो-के तपाईं जानुहुन्छ शक्तिशाली अध्यक्ष हुन । झलनाथ खनालले ठाडै इन्कार गर्नुभयो । ओलीले भनेका कुरा कुनै पनि नेताले स्वीकार गर्ने पक्षमा हुनुहुन्न । किनकी उनले एक दिनमा पाँचवटा त प्रधानमन्त्री बनाउँछन् । यो कुरा सबै नेताले बुझ्नु भएको छ । सबैले बुझेपछि ओलीका कुरालाई सामान्यरूपमा उडाउने कुरा भइरहेको छ, उनको विगतको व्यवहारको कारणले ।

– केपी ओलीले अघि सारेका प्रस्ताव र उनले भनेका कुरामा माधव नेपालको विश्वास छैन ?
विश्वासै छैन ।

– यो सरकार बनाउन तपाईंहरूको पनि महत्वपूर्ण भूमिका थियो । अहिले तपाईंहरूलाई नै पर्खिएका कारण मन्त्रिपरिषद् विस्तार गर्ने कुरा पनि रोकिएको छ । तपाईंहरू सरकारमा जानुहुन्छ कि हुन्न ?
हामी सरकारमा जान्छौं । किनकी देउवालाई प्रधानमन्त्री बनाउका लागि धेरै मेहनत गर्नुपर्‍यो । उनी प्रधानमन्त्री बन्ने अवस्था पनि थिएन । उनलाई प्रधानमन्त्री बनाउन हामीले सर्वोच्च अदालतमा समेत हस्ताक्षर गर्‍यौं । संसदमा विश्वासको मत दियौं । अनि सरकारमा नजाने कुरा हुन्छ ?

सरकारमा किन जानुपर्छ भने प्रतिनिधिसभालाई पूरै कार्यकाल टिकाउनुपर्छ । यदि हामी सरकारमा गएनौं भने फेरि अर्को प्रधानमन्त्री अथवा सरकार फेरिने चक्रमा मुलुक फस्छ । त्यसैले प्रतिनिधिसभालाई पुरै कार्यकाल टिकाउनका लागि सरकारमा हाम्रो सहभागिता हुनुपर्छ ।

यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसपछि हाम्रो उपस्थिति हुने अनि जनतालाई हाम्रो सरकार छ, सर्वोच्चले गरेको पुन:स्थापना ठीकै छ भन्ने सन्देश मनोवैज्ञानिकरूपमा दिनुपर्छ ।

– तपाईंहरू सरकारमा सहभागी हुन कसरी मिल्छ ? कि एमालेले निर्णय गर्नुपर्‍यो, कि तपाईंहरूले छुट्टै दल बनाउनुपर्‍यो । कानुनी रूपमा त तपाईंहरू सरकारमा जान मिल्दैन नि ?
कानूनीरूपमा मिल्दैन । कानूनीरूपमा केही व्यवधान छन् । यसलाई हामीले कसरी सम्बोधन गर्ने भनेर सल्लाह गर्दैछौं ।

– तपाईंले सरकारमा जानुपर्छ भनिरहँदा तपाईंहरूकै साथीहरू (जो देउवालाई विश्वासको मत दिँदा अनुपस्थित भए) ले तपाईंहरू सरकारमा जानलाई मरिहत्ते गर्नुभएको छ, त्यसैले पार्टी फुटको पनि प्रवाह नगरी ‘हार्डलाइनर’ बन्नु भएको छ भनेर आरोप लगाइरहनु भएको छ नि ?
हार्डलाइनर र सफ्टलाइनर म भन्दिनँ । तर, कुरा के हो भने एउटा गन्तव्य प्राप्तिका लागि हिँडियो भने त्यो ठाउँसम्म पुग्नुपर्छ । बीचमै हराउने, बीचमै तुहाउने जत्तिको राजनीतिक अपराधी अरु कोही हुन सक्दैन । सर्वोच्चमा गएर देउवालाई प्रधानमन्त्री बनाउन सिग्नेचर गर्ने, अनि विश्वासको मत दिने बेला भाग्ने कुरा हुन्छ ? यो भगुवा, राजनीतिक अपराधीबाहेक केही हुन सक्दैन । हामी त २२ जना छौं ।

हामीले बन्ने मन्त्री भनेको ४/५ जना न हो । २२ जना सबै त हामी मन्त्री बन्दैनौं । फेरि पनि हामी के भनिरहेका छौं भने माधव कमरेडलाई-तपाईंलाई अनुकूल हुने जोसुकैलाई मन्त्री बनाउनुहोस् हाम्रो कुनै दुःखमनाउ हुँदैन । गुनासो हुँदैन ।

– अब १७ महिनापछि हुने चुनावमा तपाईंहरू एमाले भएर चुनावमा जानु होला या छुट्टै दलका रूपमा जानुहोला या कुनै गठबन्धनमा सहभागी हुनुहोला ?
१७ महिना पछाडि उपेन्द्र यादवसहितको कम्युनिष्ट पार्टी बनिसक्छ ।

अझै पढ्नुहाेस