खानेपानी मन्त्री उमाकान्त चौधरीको केयुकेएलमा चलखेल

गत बिहीबारदेखि काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा विभिन्न दल निकट कर्मचारी संगठनले आन्दोलन जारी राखेका छन् । उनीहरुले केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई कार्यालय प्रवेशमा रोक लगाइरहेका छन् ।

नेपाली काँग्रेस निकट रहेका केयुकेएल कर्मचारी संघ र लोकतान्त्रिक कर्मचारी संघ, राप्रपा निकट रहेको कर्मचारी कल्याण परिषद्, सवारी चालक एसोसिएसन लगायतले केन्द्रीय कार्यालयमा आन्दोलन थालेका हुन् । उनीहरुले विभिन्न माग राख्दै प्रमुख कार्यकारी अधिकृत शाक्यको कार्यालय घेराउ गर्दै कार्यालय प्रवेशमा पनि रोक लगाउँदै आएका छन् ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले लिष्ट बनाएर दिएका ९० जना व्यक्तिलाई करारमा भर्ना गर्न दवाव दिएको र सो नमानेपछि शाक्यलाई हटाउन कर्मचारी आन्दोलन उचालेको आन्दोलनमा सहभागी नभएका कर्मचारी संगठनका पदाधिकारीको भनाई छ ।

मन्त्री चौधरीले काँग्रेस निकट कर्मचारी संगठनको नेतृत्वमा आन्दोलन उठाएर केयुकेएलले तनाव सिर्जना गदै सबै काम ठप्प पारेको उनीहरुको भनाई छ । खानेपानी जस्तो संवेदनशील विषयलाई सरकारले अत्यावश्यक सेवामा राखेर यो क्षेत्रमा बन्द, हडताल, आन्दोलनजस्ता कार्यक्रम निषेध गरेको भएपनि सत्तारुढ दल काँग्रेस निकट कर्मचारीहरुले आन्दोलन गर्दा सेवाग्राही समेत मर्कामा परेका छन् ।

खानेपानी मन्त्री चौधरीका स्वकीय सचिव कृष्ण चौधरी र उपसचिव शशी लम्साल लगायतको टोलीले मन्त्री निकट ९० जना व्यक्तिलाई केयूकेएलमा करार सेवामा नियुक्त गर्नुपर्ने मागसहित प्रमुख कार्यकारी अधिकृत शाक्यलाई दवाव दिएको केयुकेएलका कर्मचारीको भनाई छ । मन्त्रीको इच्छाअनुसार काम नभएपछि उनको इशारामा काँग्रेस निकट कर्मचारीहरुले आन्दोलन सुरु गरिएको स्रोतको भनाई छ । उनीहरुले सिइओ शाक्यका राजीनामा समेत माग गर्न थालेका छन् ।

यसअघि केयुकेएलले खुला प्रतिस्पर्धाबाट ९० जना कर्मचारी भर्नाका लागि सूचना प्रकाशन गरेको थियो । तर राजनीतिक दवावका कारण स्थगित गरिएको छ । मन्त्रीको इशारामा आन्दोलन गरिरहेका कर्मचारीका कारण करारमार्फत फेरि कर्मचारी भर्ना गर्नेबारे छलफल सुरु भएको छ । तर आन्दोलनमा रहेका कर्मचारी वार्ता प्रक्रियामा भने सहभागी भएका छैनन् । यता केयूकेयल कर्मचारी संगठनले भने अब फेरि करार सेवामा कर्मचारी नियुक्त गर्न नहुने भन्दै विरोध गरेको छ ।
खुला प्रतिस्पर्धाबाट केयूकेएलका नियुक्त भएका शाक्यले आफ्ना मान्छेलाई नियुक्त नगरेपछि मन्त्री चौधरीले आन्दोलन गर्न उकासेको केयुकेएलका कर्मचारीको आरोप छ । माओवादी निकट कर्मचारी संगठनले भने सिइओ शाक्यले कर्मचारीको सबै माग पूरा गरिसकेको बताएका छन् ।

कर्मचारीहरुले आन्दोलन थालेपछि केयूकेएलमा विभिन्न समस्याहरु उत्पन्न भएको छ । टयाङ्करबाट पानी वितरणको कामपनि बन्द भएको छ । केयुकेएल कर्मचारी संगठनका उपाध्यक्ष पुष्प भण्डारीले भने– ‘कर्मचारीले आन्दोलन थालेपछि तलब निकासा, टुटफुट भएका पाइपलाइन मर्मत लगायतका कामका लागि रकम निकासा बन्द भएको छ । यस्तै ट्याङ्कर सेवापनि अवरुद्ध भएको छ । काठमाडौंमा पाइप लिक बन्द गर्ने, मर्मतको काम लगायत सबै काम बन्द हुन पुगेको छ । सिइओ सावले बार्ताका लागि पत्र लेख्नुभएको छ तर उनीहरु वार्तामा जान मानिरहेका छैनन् ।’

हाल आन्दोलनमा रहेका पक्षहरुले संस्थागत सुधार गर्नुपर्ने लगायतका माग राखेपनि ति मागहरु सिइओ शाक्यले ६ महिनाअघि नै पूरा गरिसकेको उनले बताए । केयुकेएलमा कूल १ हजार ३ सय ३६ कर्मचारीको दरबन्दी रहेको छ । हाल ९ सय ३५ कर्मचारी कार्यरत रहेको छन भने विगत तीन वर्षदेखि पदपूर्ति हुन सकेको छैन् । केयूकेएलकै कर्मचारीका अवरोधका कारण नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रियामा अवरोध हुँदै आएको छ ।

अझै पढ्नुहाेस