कैलालीमा देखियाे रेशम चौधरीकाे ‘पावर’, हाइप्राेफाइल भए ‘ब्याक’

काशीराम बजगाई/नेपाल समयबाट

गत असार ३० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ प्रधानमन्त्रीपत्‍नी आरजु देउवाबीच भारतस्थित नयाँदिल्लीमा भेट भयो। उक्त भेटले नेपाली राजनीति तरंगित बन्यो, प्रतिनिधिसभा निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री बनाउने सौदाबाजी भएको हल्ला नेकपा एमालेलगायतले फैलाए।

अघिल्लोपटक कैलाली–५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी राणाले सुरक्षित क्षेत्रहरु हेर्न थालिन्। कैलालीमा जित पक्का नभएको महसुस गरेकी उनले बर्दिया र कञ्चनपुरमा पनि सम्भावित क्षेत्रका रुपमा नजर लगाइन्। तर अन्ततः कैलाली–५ बाटै चुनाव उठ्ने तयारी उनले गरिन्।

कैलालीबाट एकल सिफारिस भएकी उनी अन्य चार जिल्लाबाट पनि सिफारिसमा परिन्। कैलालीबाटै उठ्ने लगभग पक्का गरेर उनले चुनावी तयारी पनि थालिन्। अन्तत: उनी एकाएक प्रत्यक्षबाट ‘ब्याक’ भएर समानुपातिकमा बसिन्। लामो समय जित-हारको अंकगणितको अध्यनोपरान्त प्रत्यक्ष छाडेर डडेल्धुराबाट उनको नाम समानुपातिकको बन्द सूचीमा पठाइयो।

प्रत्यक्षमै चुनाव लड्न लामो समयदेखि तयारी गर्दै, अन्य दलसँग सहयोगका लागि अनुरोध गरिरहेकी उनी एकाएक ब्याक किन भइन्? जानकारहरुका अनुसार उनी पछि हट्नुपछाडि मुख्यतः तीन कारण रहेका छन्। कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा फ्याक्टर, उन्मुक्ति पार्टीको उदय र स्वास्थ्य समस्यका कारण आरजु ब्याक हटेको हुन सक्ने आकलन कांग्रेसका स्थानीय कार्यकर्ताको छ।

२०७० मा सम्पन्‍न दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरासँगै कैलाली–५ मा पनि जित निकाले। दुवै ठाउँ जितेपछि उनले एक ठाउँ छाड्नुपर्ने भयो। देउवाले डडेलधुरा रोजेर कैलाली छाडे। उपनिर्वाचन भयो। एमालेका महेश्वर पाठकलाई पराजित गर्दै कांग्रेसबाटै पुष्करनाथ ओझा निर्वाचित भए।

दुईपटक नै जित निकालेपछि कांग्रेसको बलियो पकड भएको क्षेत्रका रुपमा धनगढीलाई हेर्न थालियो। कांग्रेसको बलियो पकड क्षेत्रका रुपमा स्थापित भइसकेपछि धनगढीबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरजु पहिलोपटक संसदीय निर्वाचनको उम्मेदवार बनिन्। तर, माहोल सोचेजस्तो बनिदिएन। आरजुविरुद्ध ‘टुरिस्ट उम्मेदवार’को नारा लाग्यो।

चुनावी अभियान चलिरहेकै बेला त्यो नारा मत्थर पारी जनमत बटुल्ने प्रयाससाथ धनगढीमा करोडौँको घर पनि किनिन्, त्यो रणनीति पनि सफल हुन सकेन। टिकट नपाएपछि पार्टीभित्र बलियो प्रभाव रहेका ओझाले आरजुलाई सहयोग गरेनन्। अन्ततः उनी ४ हजार ८७० को मतान्तरले एमालेका नारदमुनि रानासँग पराजित भइन्।

निर्वाचनलगत्तै चुनावमा सहयोग नगरेको भन्दै ओझालाई सामान्य सदस्यसमेत नरहने गरी कांग्रेसले कारवाही गर्‍यो। त्यो कारबाही अझैँ फुकुवा भएको छैन, तर कांग्रेसको सदस्य नै नरहे पनि धनगढीमा ओझाको पकड बलियो छ। कांग्रेसभित्रै पनि उनको प्रभाव अझै सशक्त छ।

जसकारण निर्वाचन घोषणा भएयता आरजु पक्षले ओझालाई भेटेर पटकपटक सहयोगका लागि अनुरोध गर्‍यो। तर, ओझा टसकामस भएनन्। ओझासँग आरजु पक्षधर नेताहरुले पटक-पटक अनुरोध गरे पनि उनी आरजुलाई सहयोग गर्न तयार भएनन्।

पछिल्लोपटक भदौ १६ गते आरजु पक्षका नेताहरुले ओझालाई भेटेर छलफल गरेका थिए। ओझानिकट एक नेताले भने, ‘उहाँलाई कारवाही फुकुवा गरी अन्य क्षेत्रबाट टिकट दिने प्रस्ताव आएको थियो, तर उहाँले क्षेत्र नम्बर ५ नछाड्ने अडान लिनुभयो।’ उनले दाबी गरेअनुसार धनगढीमा अहिले ओझा मात्रै नभएर अन्य पक्षका समेत केही नेताहरु समेत आरजुलाई असहयोग गर्ने तयारीमा थिए।

यसैगरी कैलाली जिल्लासचिव पूर्ण कुँवर पनि ओझाले सहयोग नगर्ने भएपछि आरजु पछि हटेको बताउँछन्। ‘चुनाव २०७४ कै अवस्थामा जाने भयो, अन्य बलिया दल पनि उदाएकाले अहिले झनै गाह्रो थियो। त्यसकारण उहाँ समानुपातिकमै जानुभयो,’ उनले भने।

अघिल्लोपटक आरजुलाई असहयोग गरेका ओझा चुनावको तयारीमा छन्। यसअघि आफूनिकट नेताहरुलाई आरजुबाहेकलाई सहयोग गर्ने बताउँदै आएका उनले आरजुले मैदान छाडेपछि भने नछाड्ने अडान लिएर बसेका छन्।

उनको पहिलो प्राथमिकता कांग्रेसमै छ। तर टिकट पाउने सम्भावना भने कम रहेको उनी आफैँ स्वीकार गर्छन्। नेपालसमय सँग कुरा गर्दै उनले टिकट नपाए स्वतन्त्र भए पनि चुनाव लड्ने बताए।

‘मैले आरजुबाहेकलाई सहयोग गर्छु भनेको छैन, मेरो एक मात्र कुरा यत्ति हो म कैलाली ५ बाट चुनाव लड्छु,’ उनले भने, ‘मेरो प्राथमिकता कांग्रेस हो। तर अहिले पनि म कारबाहीमा छु, सामान्य सदस्य समेत छैन। त्यसैले कांग्रेसले टिकट दिन्छ दिन्न थाहा छैन। नदिए स्वतन्त्र भए पनि म चुनाव लड्छु।’

यता एमालेबाट भने यसपटक पनि राना दोहोरिने पक्काप्राय छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले कैलाली ५ बाट रानाको एकल नाम सिफारिस गरेको छ।

नागरिक उन्मुक्तिको उदय
२०७२ भदौ ७ गते टीकापुरमा ८ सुरक्षाकर्मीसहित एक अढाई वर्षीय बालकको हत्या भयो। उक्त काण्डको प्रमुख योजनाकार रेशम चौधरी रहेको भन्दै प्रहरीले खोजी सुरु गर्यो। तर उनी फरार भए। २ वर्षपछि प्रतिनिधिसभा निर्वाचनमा जसपाबाट उम्मेदवार बने र अत्यधिक मतान्तरका साथ चुनाव पनि जिते।

२०७४ फागुन १४ मा आत्मसमर्पण गरे। तर जिल्ला र विशेष अदालतले प्रमुख योजनाकारका रुपमा रेशमलाई दण्डित गर्‍यो, उनी निलम्बनमा परे। त्यसयता उनी केन्द्रीय कारागार डिल्लीबजारमा छन्।

जेलमै रहेको बेला २०७८ पुस १९ गते श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा उनले नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरे। दलहरुले उनको पार्टीलाई सामान्य रुपमा लियो। तर पार्टी दर्ता भएको ४ महिनापछि भएको स्थानीय निर्वाचनमा उक्त पार्टीले ४ पालिका, १४ वडाअध्यक्षसहित ९९ प्रतिनिधि जित्यो। स्थापनाको छोटो समयमै राम्रो जित निकाल्दै कैलालीमा पुराना दलहरुको टाउको दुखाइ बनेको छ। कैलालीका पाँचै, बर्दिया र कञ्चनपुरका केही क्षेत्रमा बलियो पकड जमाएको उन्मुक्तिको उदयका कारण पनि आरजुलाई चुनाव जित्‍न त्यति सहज थिएन।

जसकारण आरजुले पटकपटक उन्मुक्ति पार्टीसँग सहयोग मागेकी थिइन्। रेशमनिकट स्रोतकाअनुसार प्रधानमन्त्रीको सचिवालय र माओवादी अध्यक्ष प्रचण्डको सचिवालयबाट रेशमलाई भेट्न जेलमै पटकपटक सदस्यहरु पुगेका थिए। ‘आरजुलाई कैलाली ५ र बिना मगरलाई कञ्चनपुर १ मा सहयोग गर्न प्रस्ताव आएको थियो, हाम्रो एक मात्र माग रेशमको रिहाइ थियो,’ स्रोतले भन्यो, ‘छलफल सकारात्मक रुपमा अघि बढेको थियो। हाम्रो एक मात्र माग चुनावअघि नै रेशमको रिहाइ थियो, रिहाइका लागि पहल गर्ने आश्वासन दिए पनि रिहाइ पक्का नभएसम्म सहयोग नगर्ने हामीले अडान लिएका थियौँ।’

तत्काल रेशमको रिहाइ नहुने पक्का भएपछि उन्मुक्तिले चुनावी अभियान थाल्यो। टीकापुर काण्डको अभियोगमा जेल भुक्तान गरिरहेका लक्ष्मण थारुलाई अघि सार्ने, निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेमा अध्यक्ष रञ्जिता वा अर्को कुनै बलियो उम्मेदवार अघि सार्ने तयारी उन्मुक्तिले गर्‍यो। ‘ओझाको असहयोग र पार्टीभित्रको अन्तरकलहले पहिल्यै उहाँलाई अप्ठ्यारो पारेको थियो, त्यसैमा उन्मुक्ति पनि थपिएपछि उहाँले डडेलधुराबाट सिट सुरक्षित गर्नुभयो,’ कैलाली कांग्रेसका एक नेताले बताए।

अझै पढ्नुहाेस