केही समयलाई हाम्रो पार्टी अलग पनि हुनसक्छ : एमाले नेता मेटमणि चौधरी

नेकपा एमाले नेता एवं सांसद मेटमणि चौधरीसँग नेपाललाइभका लागि डीबी खड्काले गरेको कुराकानी।

आफ्नै पार्टीको सरकार ढलेकोमा दु:खी हुनुहुन्छ कि आफ्नो हस्ताक्षरका कारण देउवा प्रधानमन्त्री भएकोमा खुसी हुनुहुन्छ?
म दु:खी र खुसीभन्दा पनि मुलुकमा एक खालको ‘मोनोपली’ निरंकुश शासनको तयारी भइरहेको थियो, त्यो परास्त भएको छ। मुलुकलाई सञ्चालन गर्ने महत्त्वपूर्ण संविधानलाई धुजा-धुजा गर्ने, मुलुकको प्रणाली कोल्याप्स पार्ने, सबै प्रकारका कानुनलाई अमान्य ठान्ने र कानुन, संविधानभन्दा पनि आफ्नै तरिकाले अध्यादेशमार्फत् देश चलाउने अवस्थाको अन्त्य भएको छ। यस मानेमा म धेरै खुसी छु। जहाँसम्म देउवा प्रधानमन्त्री बनेको कुरा छ। एमालेपछि ठूलो दल कांग्रेस नै भएकाले उनी प्रधानमन्त्री बन्नु स्वाभाविक हो।

तपाईंहरुको असन्तुष्टि केपी ओली र उनको सरकारप्रति थियो तर, ओली सरकार ढल्दै गर्दा एमालेको सरकार पनि ढलेको छ। यस मानेमा त अलिअलि दु:ख होला नि?
मलाई कत्ति पनि दु:ख लागेको छैन। जुन सरकार र व्यक्तिका कारण मुलुक ध्वस्त बन्दै थियो, मुलुकको प्रणाली कोल्याप्स हुँदै थियो। त्यसबाट मुलुक जोगिएको छ।

मुलुक त जोगियो भन्नुभयो, अब तपाईंको पार्टी जोगिएला त?
पार्टीलाई फेरि पनि ठीकठाक पार्नुपर्छ। जसरी मुलुकको प्रणालीलाई ट्र्याकमा ल्याउने काम भएको छ, अब नेकपा एमालेलाई पनि लिकभित्रै ल्याउनुपर्छ। त्यसका लागि उच्चस्तरको छलफल, उच्चस्तरको संस्कृति हामीले अवलम्बन गर्नुपर्छ। ‘मै सबथोक हुँ, म मात्रै जान्ने हुँ, मैले मात्रै बुझेको छु’ भन्ने जुन मनोविज्ञान थियो, हिजोअस्तिदेखि त्यसको तापक्रम घटेको होला। त्यो तापक्रम ठीक ठाउँमा आउन चार-पाँच दिन लाग्ला। त्यसपछि संवादको संस्कृति अघि बढाउँछौं र नेकपा एमालेलाई व्यवस्थित बनाउँछौं।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर प्रतिनिधि सभा विघटन बदर गराउन सफल हुनुभयो। तर, तपाईंहरुले विश्वासको मत दिनुभएन भने त्यसको आयु त थप एक महिना न लम्बिएको हो। विश्वासको मत दिनुहुन्छ?
हामी विश्वासको मत दिन्छौं। देउवालाई प्रधानमन्त्री बनाउने कुरामा हाम्रो ठूलो भूमिका छ। किनभने, कांग्रेस, माओवादी र जसपाको एक पक्षले मात्रै त्यसो गर्न पुग्दैनथ्यो। त्यसपछि मुलुक त जोगाउनुपर्‍यो नि भनेर अदालतमै पुगेर हस्ताक्षर गर्ने काम गरेका हौं। देउवालाई प्रधानमन्त्री बनाउने कुरा मात्रै महत्त्वपूर्ण होइन, मुख्य कुरा भनेको प्रतिनिधि सभा पाँचै वर्ष कसरी टिकाउने भन्ने हो। आउने प्रधानमन्त्रीले फेरि पनि यस्तो हर्कत नगरुन् भनेर रोक्ने हो। जबर्जस्ती कानुन मिचेर प्रतिनिधि सभा भंग गर्ने आँट अबको पचासौं वर्षपछि आउने प्रधानमन्त्रीले पनि गर्न नसकून् र नपाउन् भनेर हस्ताक्षर गरेका छौं। त्यसैले देउवाले मागेको विश्वासको मतका पक्षमा हामी सबैले भोट हाल्छौं। त्यो भोट केवल २३ होइन, ४० को संख्यामा पुग्ने अवस्था छ। त्यसैले यो सरकार २०७९ साल मंसिर २१ सम्म चल्छ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र एमालेमा सहमति जुटाउने कुरा आफैंमा विरोधाभास भएन र?
विरोधाभाष हुँदैन। किनकि, हामीले जे गरिरहेका छौं, यो संविधानका पक्षमा छ। सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयनका पक्षमा छ। पार्टी मिलाउने कुरा र संविधान जोगाउने कुरा फरक पाटो हो। देउवालाई विश्वासको मत दिएपछि पार्टी एकता नै नहुने कुरा हुँदैन। पार्टी एकता हुन्छ। सकेसम्म एमालेले नै देउवालाई विश्वासको मत दिने वातावरण बनाउँछौं। त्यसो भएन भने पनि ४० जनाले विश्वासको मत दिन्छौं र सरकार टिकाउँछौं।

अझै पढ्नुहाेस