काशीराम थारू, जो बने कमैया सांसद

जनक नेपाल/शिलापत्र डटकम

२०५१ मंसिरमा काशीराम थारू चुनाव जितेर सिंहदरबार छिर्दा बर्दिया मात्र हैन, काठमाडौंसम्मै ठूलै हल्लीखल्ली मच्चिएको थियो । कारण– कमैया र सुकुम्बासीेले पहिलोपटक संसद्‌मा आफ्नो वास्तविक प्रतिनिधि पठाएका थिए । त्यो पनि जमिनदार विनयध्वज चन्दलाई हराएर ।

प्रतिनिधिसभाभित्र चर्चा मात्र होइन, ३९ वर्षीय काशीरामले त्यो बेला दक्षिण एसियाकै गरिब सांसदको परिचय पाएका थिए । हुन पनि कमैया परिवारको एउटा सदस्य चुनाव जितेर पहिलोपटक संसद्‌मा पुगेको थियो ।

आवधिक चुनाव महँगिँदै गइरहेका बेला २८ वर्षअघिको त्यो चुनावी नतिजा अहिले अपत्यारिलो लाग्छ । तर, काशीरामले व्यक्तिगत खर्च नगरेरै तल्लो वर्गको अपार समर्थनमा संसद्को यात्रा तय गरेका थिए । ‘हामी त सानै थियौँ । धेरै सम्झना छैन,’ काशीरामका छोरा चिजमानले शिलापत्रसँग भने, ‘त्यो बेला हाम्रो आर्थिक स्थिति धेरै कमजोर थियो । चुनावमा खर्च त परको कुरा, खानलाउनै नपुग्ने स्थिति थियो ।’

२०५१ को मध्यावधि निर्वाचनमा एमालेले काशीरामलाई बर्दिया ३ बाट उम्मेदवार बनाएको थियो । तत्कालीन बर्दिया क्षेत्र नंं ३ मा राजापुर क्षेत्रका ११ गाविस र सूर्यपटुवा गाविस पर्थ्यो । उनी १४ हजार २ सय २५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी थिए, कांग्रेसका विनयध्वज चन्द । उनले ११ हजार ३ सय १२ मत ल्याएका थिए ।

मुद्दामा आधारित राजनीतिको सामर्थ्य त्यो निर्वाचनमा देखिएको थियो । चुनावमा काशीरामले व्यक्तिगत केही खर्च गर्नुपरेन । उनलाई साथ दिने कमैया र सुकुम्बासी छँदै थिए । प्रचारका लागि केही पर्चा पम्प्लेट छाप्ने र कार्यकर्ता परिचालन पार्टीले गर्‍यो । व्यक्तिगत रूपमा एक रुपैयाँ पनि खर्च नगरेर चुनाव जितेको बुबाले बताउने गरेको चिजमान सम्झिन्छन् । ‘अहिले त गरिब, मुक्त कमैया र सुकुम्बासीले चुनाव लड्न सक्ने स्थिति छैन,’ उनी भन्छन्, ‘तर त्यो बेला आन्दोलन र अभियानले बुबालाई चुनाव जिताएको थियो ।’

कसरी सम्भव भयो कमैयाको जित ?

तत्कालीन माले नेता दीपबहादुर रानाले काशीरामलाई राजनीतिमा ल्याएका हुन् । उनीसँग राजनीति मात्र होइन, सामान्य लेखपढसमेत सिकेको परिवारका सदस्य बताउँछन् । कमैया र सुकुम्बासीका अगुवा काशीरामलाई रानाले नै मालेमा संगठित गरेका थिए ।

२०४६/०४७ ताका मालेको बाँके–बर्दिया संयुक्त कमिटी थियो । सो कमिटीको सचिव थिए, लक्ष्मण ज्ञवाली । बर्दियाका गाउँबस्तीमा कमैया र सुकुम्बासी समस्या व्यापक थियो । तल्लो वर्गलाई समेटेर मालेले गाउँगाउँमा संगठन विस्तार गर्‍यो । त्यसका लागि कमैया र सुकुम्बासी आन्दोलनको नेतृत्व पनि सो पार्टीकै पहलमा भयो । त्यही क्रममा कमैया र सुकुम्बासीलाई संगठित गर्ने अगुवा बने, काशीराम थारू, बाँदे थारू र रेशम चौधरी ।

सुकुम्बासीको ठूलो समूहले कन्द्रा फाँट कब्जा गरेर बस्यो । काशीरामले त्यसको अगुवाइ गरेका थिए । २०४८ सालमा वनपाले र सुकुम्बासीबीचको झडपमा रुन्चे थारू मारिएपछि सुकुम्बासी आन्दोलन चर्कियो । सुकुम्बासी र कमैयाले झण्डै एक महिना जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरे ।

आन्दोलन चर्किएपछि कमैया र सुकुम्बासीको उचित व्यवस्थापन गर्नुपर्ने आवाज सडकदेखि सदनसम्म उठ्यो । स्थानीय प्रशासनले आन्दोलनकारीलाई वार्तामा बोलायो । आन्दोलनकारीका तर्फबाट वार्तामा बसेका एमाले नेता ज्ञवाली भन्छन्, ‘झट्ट हेर्दा बर्दियाको मात्र देखिए पनि त्यो आन्दोलनले देशभरको सुकुम्बासी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको थियो ।’

सरकारले शैलेजा आचार्यको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । आयोगले बर्दियाबाट काम थाल्ने निर्णय भएपछि आन्दोलन रोकिएको थियो ।

सुकुम्बासी आन्दोलनपछि भूमिहीन समुदायमाझ लोकप्रिय बने, काशीराम । उनको लोकप्रियता देखेरै एमालेले २०४९ को स्थानीय निकाय निर्वाचनमा मगरागाडी गाविस उपाध्यक्षमा उनलाई उम्मेदवार बनायो । राम्रो मतसहित काशीराम निर्वाचित भए । लगत्तै, उनी जिल्ला विकास समिति सदस्यमा पनि निर्विरोध निर्वाचित भए ।

कांग्रेसभित्रको किचलोले बहुमतप्राप्त संसद् विघटन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा गरे । एमालेले सुकुम्बासी र कमैयाबीच लोकप्रिय काशीरामलाई गाविस उपाध्यक्षबाट राजीनामा गराएर बर्दिया ३ बाट उम्मेदवार बनायो । आन्दोलनको बलमा त्यतिबेला कमैया परिवारका सदस्य, सुकुम्बासी नेता संसद् पुर्‍याउन सकेकोमा अहिले पनि सन्तुष्टि लाग्ने एमाले नेता ज्ञवाली बताउँछन् ।

‘अहिलेजस्तो चुनावमा पैसाको खेल हुँदैनथ्यो । मतदाताले मुद्दा बोक्ने नेता छान्थे,’ उनी भन्छन्, ‘काशीराम किसान, कमैया र सुकुम्बासीका वास्तविक नेता थिए । उनले एक पैसा खर्च नगरेर चुनाव जितेका थिए ।’

२८ वर्षअघिको त्यो चुनाव हाँकेका ज्ञवालीलाई खर्चको विवरण अहिले पनि कण्ठस्थ छ । पार्टी कार्यकर्ता, शुभेच्छुकबाट संकलित ६८ हजार रुपैयाँबाट बर्दियाका तीनवटै क्षेत्रको निर्वाचन परिचालन गरिएको उनी बताउँछन् । एक निर्वाचन क्षेत्रमा २५ हजार रुपैयाँ पनि खर्च नभएको स्मरण गर्दै ज्ञवाली भन्छन्, ‘अहिले धेरैले पत्याउन्नन् । तर, त्यति खर्चमा हामीले चुनाव हाँकेर तीनवटै क्षेत्र जिताएर बर्दियालाई एमालेको लालकिल्ला बनाएका थियौँ ।’

संकलित ६८ हजारमध्ये १ हजार २ सय रुपैयाँ जोगिएको उनी बताउँछन् । सो पैसाबाट कुशलतापूर्वक चुनावी अभियान परिचालन गरेको भन्दै गुलरिया नगरपालिकाका तत्कालीन मेयर गोविन्द पाण्डेलाई नयाँ ज्याकेट किनेर सम्मान गरिएको ज्ञवाली अहिले पनि सम्झिन्छन् ।

मुद्दामा आधारित राजनीति र भुईं तहबाट नेतृत्व स्थापित गरिएका ती दिन ज्ञवाली अहिले पनि चर्चा गरिरहन्छन् । तर, २०५६ यताका चुनाव बिस्तारै खर्चिला हुँदै आए । खासगरी एकपछि अर्को गर्दै राजनीतिक दलहरू विभाजन हुँदै जाँदा चुनाव जित्नुलाई दलहरूले प्रतिष्ठाको विषय बनाउन थाले ।

राप्रपा, एमाले र कांग्रेस क्रमशः विभाजन भए । एकले अर्कोलाई निषेध गर्ने रणनीति लिँदा प्रतिस्पर्धाहरू अस्वस्थ बन्दै गए । दल र उम्मेदवारमा राजनीतिक मुद्दामा भन्दा जे–जसरी भए पनि चुनाव जित्नुपर्ने मानसिकता विकास हुँदै गयो । ‘अहिले हाय पैसा भन्छन् । तर, त्योभन्दा धेरै गुणा शक्तिशाली हुन्छ जनपरिचालन र जनताका एजेण्डा,’ हाल एमाले बर्दिया इन्चार्ज ज्ञवाली भन्छन् ।

सामाजिक अगुवा दिनेश श्रेष्ठ बर्दियाबाट अरु पनि थारू नेताहरू सांसद र मन्त्री भए पनि काशीरामको उदय भिन्न रहेको बताउँछन् । २०१५ सालमै राधाकृष्ण थारू सांसद निर्वाचित भएका थिए । २०५६ को निर्वाचनमा उनका छोरा मंगल थारू सांसद भए । माओवादी आन्दोलनबाट आएका रामचरण चौधरी, विष्णु चौधरी, सन्तराम चौधरी पनि सांसदमा निर्वाचित भए । ‘काशीराम भुईं वर्गबाट उठेको नेता हो । कमैया र सुकुम्बासीले झुपडीबाट सिंहदरबार पठाएका प्रतिनिधि थिए,’ श्रेष्ठले शिलापत्रसँग भने ।

चुनावअघि काशीरामको जति चर्चा थियो, सांसद भएपछि भने त्यो चर्चा बिस्तारै सेलाउँदै गयो । उनीमाथि संसदमा प्रभावकारी ढंगले मुद्दा उठाउन नसकेको आरोप स्वयम् सुकुम्बासीहरूले लगाए । तर, एउटा तल्लो वर्गको उदयको चर्चा भने देशभित्र र दक्षिण एशियासम्मै भयो । ‘दक्षिण एसियाकै गरिब सांसद भनेर धेरैले प्रशंसा गरे । त्यो उपाधि दिएर सम्मान गरिएको चर्चा पनि थियो । तर, त्यस्तो सम्मानपत्र हामीले देखेनौँ,’ छोरा चिजमानले भने ।

को हुन् काशीराम थारू ?

काशीराम थारू पुस्तैनी कमैया परिवारका सदस्य हुन् । उनका बुबा रामबहादुर थारू दाङको साबिक सौडियार गाविसका जमिनदार देशु थारूको घरमा कमैया थिए । काशीराम सानै उमेरदेखि सोही घरमा गोठालो बसे । कमैयाकी श्रीमती र छोराछोरी पनि जमिनदारको घरमै काम गर्नुपर्ने चलन थियो । त्यसैले काशीरामको बाल्यकाल जमिनदारका गाईवस्तु र बाख्रा चराएर बित्यो । रामबहादुर सोही घरमा १९ वर्ष कमैया बसे ।

२०२५ सालमा उनको परिवार दाङबाट बाँकेको फत्तेपुर गाविसको वनकटुवा सर्‍यो । बुबा रामबहादुर नयाँ जमिनदार दासु थारूको घरमा कमैया बसे । त्यहाँ दुई वर्ष कमैया बसेपछि उनी परिवार लिएर बर्दियाको मोहम्मदपुर गाविसको बिक्री भन्ने गाउँमा पुगे । केही समय त्यहाँ बसेपछि काशीराम मगरागाडी गाविस आएर कोठारपुर गाउँका जमिनदारको घरमा पुगे । काठमाडौंस्थित मल्ल होटलका सञ्चालक सरबिन्दु मल्लकहाँ उनी काम गर्न थाले । उनले कमैया बसेकै बेलादेखि राजनीति सुरु गरेका थिए ।

काशीरामले कमैया र सुकुम्बासीको अगुवाइ गर्न थालेको २०३६ सालपछि हो । बनियाभार गाविसको लठ्ठवा, मगरागाडीको कौवाक्वारर फाँटामा सुकुम्बासी बस्न थालेका थिए । वनक्षेत्र भएकाले वनपालेले उनीहरूलाई धरपकड गरिरहन्थे । त्यो सबै नजिकबाट देखेका काशीरामले सुकुम्बासीको आवाज मात्र उठाएनन्, त्यो आन्दोलनकै नेतृत्व गरे ।

बर्दियामा कमैया र सुकुम्बासी आन्दोलनको स्मरण हुँदा अहिले पनि काशीराम थारू, बाँदे थारू र रेशम चौधरीको नाम आउँछ । रेशम यसै साता बिते । २०४६ को जनआन्दोलनताका बर्दियाभरका झण्डै २३ हजार सुकुम्बासीलाई तारातालको कन्द्रा फाँटामा बसाउनमा काशीरामले नेतृत्व गरेका थिए । उनी आफैँ पनि सोही फाँटामा झुपडी हालेर बसेका थिए ।

तत्कालीन सरकारले कमैया र सुकुम्बासीको दीर्घकालीन समाधान खोज्नुको सट्टा तिनका बस्तीमा आगो लगाउने र सताउने काम गरिरहेको थियो । काशीरामको आफ्नै घरमा १९ पटकसम्म स्थानीय प्रशासन र वन कार्यालयले आगो लगाएको थियो । उनी कैयौँपटक गिरफ्तार भए र यातना पाए । ‘त्यति धेरै दुःख पाउँदा पनि काशीरामले खुट्टा कमाउनुभएन । सुकुम्बासी समस्याको समाधानका लागि आन्दोलनको नेतृत्व गर्नुभयो,’ ज्ञवाली भन्छन् ।

बर्दिया कुनै बेला एमालेको लालकिल्ला मानिन्थ्यो । त्यसको एउटा कारण, सुकुम्बासी बस्तीको जनमत जित्नु थियो । काशीराम २०४७ देखि तत्कालीन मालेनिकट थिए । सुकुम्बासीलाई संगठित गर्दै उनी सक्रिय राजनीतिमा लागे । उनी एमालेको जिल्ला कमिटी सदस्य, भेरी अञ्चल कमिटी सल्लाहकार र सर्वहारा सुकुम्बासी मूल समितिका सचिवसम्म भए । २०५४ को एमाले विभाजनमा मालेतर्फ लागेका काशीराम बिस्तारै सक्रिय राजनीतिबाट टाढिँदै गए । ४ कात्तिक २०६३ मा उनको निधन भएको थियो ।

अझै पढ्नुहाेस