अपार सम्भावनाबीच सन्जु चौधरीको अवसान

हिमेश/कान्तिपुर दैनिक

नेपाली भारोत्तोलनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता स्वर्ण जित्ने सन्जु चौधरी पहिलो महिला खेलाडी थिइन् । अहिलेसम्मकै एक्ली थिइन् । उनले यो उपलब्धि दुई वर्षअगाडि काठमाडौंमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त गरेकी थिइन् ।

उनको खेलजीवन लगभग भर्खर जस्तै सुरु भएको थियो । उनीसामु अझै १० वर्षभन्दा बढी यो खेलमा सक्रिय रहने समय थियो । धेरैलाई विश्वास थियो, भविष्यमा सन्जुले अन्तर्राष्ट्रिय भारोत्तोलनमै नेपालका लागि धेरथोक गर्न सक्थिन् ।

अझ ठ्याक्कैभन्दा उनको खेलजीवनको सर्वाधिक स्वर्णिम अवसर भर्खर भित्रिँदै थियो । सन्जु नेपाली भारोत्तोलनले पाएका महिला खेलाडीमध्ये सर्वाधिक उत्कृष्टमा पर्थिन् । चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदमा आफ्नो सहभागिताका लागि उनी उत्तिकै उत्साहित थिइन् । यिनै खेलाडीले अपार सम्भावनाबीच आफ्नो जीवनलाई नै मंगलबार स्तब्धपूर्ण रूपमा पूर्णविराम लगाइन् । उनलाई ललिलपुरको लुभुस्थित भारोत्तोलनका प्रशिक्षक सञ्जय महर्जनको घरमा मृत अवस्थामा भेटिइएको थियो ।

नेपाली भारोत्तोलनमा निकै लामो समयदेखि सक्रिय रहेका पार्थ सारथी सेन गुप्त सन्जुको निधनलाई अपूरणीय क्षति मान्छन् । उनले भनेका छन्, ‘उनको खेलजीवन भर्खरजस्तै सुरु भएको थियो र यो स्वर्णिम थियो । उनी निकै सम्भावना बोकेकी खेलाडी थिइन् । अबको एक दशक उनले मज्जाले खेल्न सक्थिन् र यसबीच उनको अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्भावना पनि उत्तिकै थियो । तर यिनै खेलाडी अब हामीबीच रहिनन् । यो नेपाली खेलकुदकै लागि अपूरणीय क्षति हो ।’

घटना विवरण
२२ वर्षीया सन्जुलाई भारोत्तोलन खेलाडीको रूपमा हुर्किन र बढ्न सबैभन्दा बढी निर्णायक भूमिका खेल्ने महर्जनकै घरमा उनी केही दिनयता थिइन् । सोमबार उनको लुभुस्थित घरमा परम्परागत जात्राको भोज थियो । त्यसकै लागि सन्जु पनि बिहानदेखि काममा खटिएकी थिइन् । महर्जनको पूरा परिवारसँग उनको निकै नजिकको सम्बन्ध थियो । भोजका क्रममा सबैलाई खुवाउने काम पनि उनैले गरिन् । राति साढे ९ बजेतिर थाकेको बताएकी सन्जु घरको भुईंतलास्थित कोठामा सुत्न गएकी थिइन् ।

बिहान ६ बजेदेखि सातदोबाटोस्थित खेलकुद परिसरमा नियमित प्रशिक्षण भइरहेको हुनाले चाँडै उठ्ने सन्जु सोमबार भने कोठाबाटै बाहिर निस्किनन् । यस्तोमा महर्जनले ढोका ढकढक्याउँदा कुनै प्रतिक्रिया आएको थिएन । फोन गर्दा त्यसलाई पनि उठाइन् । त्यसपछि महर्जनले झ्यालबाट हेर्दा उनी झुन्डिरहेको स्थितिमा देखे । उनले तुरुन्तै परिवारका बाँकी सदस्य र प्रहरीलाई खबर गरेका थिए । सन्जुले आत्महत्या गर्नसक्ने कुनै पूर्वसंकेत नपाएको पनि प्रशिक्षक महर्जन बताउँछन् ।

प्रहरीका अनुसार ढोकाको चुकुल भित्रबाट लगाइएको थियो । झ्यालहरू सबै ग्रिलवाला छन्, खोल्न सक्ने स्थिति छैन । आफन्तहरू बोलाएर भिडियो खिचेर ढोका खोलिएको हो । घटनास्थलमा कुनै नोटहरू नभएको र उनको मोबाइलको लक नखुलेको प्रहरीको भनाइ छ । उनले सोमबार राति ११ बजे हाराहारीमा फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै लेखेकी थिइन्, ‘मिसियिङ यु लभ ।’

प्रशिक्षक महर्जन भन्छन्, ‘सन्जु निकै मिहिनेती खेलाडी थिइन् । पुलिसको जागिर छाडेको ५–६ महिना भएको थियो । यहाँ आएर एसियाली खेलकुदको छनोट खेलेकी थिइन् । हामीले सन्जुमा कुनै प्रकारको परिवर्तन देखेका थिएनौं । मानसिक रूपमा पनि बलियो नै देखिन्थी । प्रशिक्षणका बेला केही गरेर देखाउने उनको भावना थियो । यस्तो दुर्घटना हुन्छ भनेर सोचेकै थिएनौं ।’ भारोत्तोलनमा आउनुअगाडि सन्जु क्रिकेट र एथलेटिक्समा पनि सक्रिय थिइन् ।

महर्जन थप्छन्, ‘यो खेलमा उनको भविष्य उज्ज्वल थियो । अबको १० वर्ष पनि उनलाई उछिन्न सक्ने अरू खेलाडी आउने सम्भावना पनि कमै थियो । सबै खेलका लागि यो निकै ठूलो क्षति हो । उनी यही महिनाको ८–९ गतेदेखि हाम्रो घरमा बस्न आएकी थिइन् । यहीं घरमै रहेर सबै प्रकारका अभ्यास गरिरहेकी थिइन् । यसअघि पनि उनी हाम्रो घरमा बसेकी थिइन् । उनीमाथि मेरो ठूलै मिहिनेत थियो । आफैंले हात समातेर खेल्न सिकाएको हुँ । आज सबथोक अप्रत्याशित भयो ।’

अझै पढ्नुहाेस