अन्तर्राष्ट्रिय प्रतियोगिता विजेता थारू खेलाडी म्यादी प्रहरीमा भिड्दै

कमल पन्थी/कान्तिपुरबाट

गत स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि शारीरिक र लिखित परीक्षामा उत्तीर्ण भएका अन्तर्राष्ट्रिय स्तरका खेलाडी मधुवन नगरपालिका-४ का माधवकुमार चौधरी मौखिक परीक्षामा फेल भए । कक्षा १२ पढेका एथलेटिक्सका खेलाडी चौधरी त्यस वेला निराश भएर घर फर्के ।

अहिले उनी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीमा निवेदन दिन छाडेका छैनन् । उनले भने, ‘हिम्मत हारेको छैन, प्रयास गरिरहेको छु ।’ २२ वर्षीय चौधरी मुक्तकमैया परिवारमा जन्मेका हुन ।

साउथ एसियन जुनियर एथलेटिक्समा सन् २०१८ मा श्रीलंकामा सहभागी भएका थिए । उनी त्यसबेला १५ सय मिटर दौडमा चौथो स्थान हासिल गरेका थिए । त्यसैगरी सन् २०१९ मा जापानको राजधानी टोकियोमा भएको नेपालको प्रतिनिधत्व गरी समूहमा प्रथम भएका थिए । उनले ८ सय मिटर दौड ३ मिनेट १९ सेकेन्डमा पार गरेका थिए ।

०७४ सालमा उनी राष्ट्रिय च्याम्पियनसिप एथलेक्टिसमा ८ सय र १५ सय मिटर दौडमा प्रथम भएका थिए । चौधरीले एथलेटिक्समा विभिन्न प्रतियोगितामा उपाधिसमेत जितेका छन् । उनका आमाबुबा अर्काको घरमा कमैया बस्न बाध्य भएका थिए । उनीहरूसँग एक कठ्ठाको बरबासबाहे केही र्छन । बुबाआमा पनि मजदुरी नै गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण म्यादी प्रहरीमा भर्ना हुन आएको उनले भने,‘म्यादी प्रहरीमा हुनुपर्ने सबै गुणले सम्पन्न भए जस्तो लाग्छ तर भनसुन गरिदिने कोही छैन ।’

उनीजस्तै गुलरिया नगरपालिका-१ कि २२ वर्षीया एथलेटिक्स खेलाडी पूजा चौधरी पनि यसपटक म्यादी प्रहरीमा भर्ना हुन आएकी छिन् । एसईई उत्तीर्ण चौधरी गत स्थानीय तहमा मौखिक परीक्षामा फेल भइन् ।

अहिले भने उनी आफू छनोट हुनेमा ढुक्क देखिन्छिन् । उनी ०७२ सालदेखि हालसम्म जिल्लादेखि प्रदेशस्तरीय एथ्लेटिक्स प्रतियोगितामा सहभागिता जनाइरहेकी छिन् । २०७६ सालमा दाङको बेलझुन्डीमा आयोजित खुला नेसनल ट्रिपल जम्पमा उनले तेस्रो स्थान हात पारेकी थिइन् ।

त्यतिबेलै नेपाली आर्मी क्लबले भर्ना गर्ने भन्दै बोलाए पनि लिखित परीक्षामा उनी उत्तीर्ण भइनन् । आफूलाई जानजान छनोट नगरिएको उनको गुनासो छ । ‘मन मरिसक्यो खेलमा । म्यादीमा पनि पहिलो पटक मौखिकमा फेल भएँ,अहिले त्यसो होला जस्तो लाग्दैन ।’

अझै पढ्नुहाेस