थाकसको सभापति बन्न कांग्रेसका नेता-सांसदबीच हानथाप

थारू कल्याणकारिणी सभा (थाकस)को आसन्न २३औं महानधिवेशनमा सभापति बन्न सत्तारुढ दल नेपाली कांग्रेसका थारू नेताहरूबीच हानथाप भएको छ। थाकसको सभापति बन्न सांसदसमेतले तीव्र लबिङ गरिरहेका छन्।
स्रोतका अनुसार थाकसको सभापति बन्न महामन्त्रीसमेत रहेका प्रेमीलाल चौधरी, लुम्बिनी प्रदेशका सांसदसमेत रहेका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद चौधरी र कांग्रेसको बर्दिया जिल्ला समितिका सचिवसमेत रहेका उपमहामन्त्री मीनराज चौधरीले तीव्र लबिङ गरिरहेका हुन्। त्यसो त पूर्वमुख्यमन्त्री डिल्ली चौधरी निकट एवं थाकसका कोषाध्यक्ष चुर्णबहादुर चौधरीले पनि सभापतिको आकांक्षा देखाएका छन्। यता, पूर्व संविधानसभा सदस्य रहिसकेकी रुक्मिणी चौधरीले पनि सभापति बन्न लबिङ गरिरहेकी छन्।

वर्तमान कार्यकालमा सक्रियताको हिसाबले पनि आफूले सभापति पाउनुपर्ने दाबी प्रेमीलालको छ। उनले थारू आरक्षणसम्बन्धी मुद्दा र टीकापुर घटनाका सम्बन्धमा सरकारलाई दबाब दिन सक्रिय भूमिका खेलेका थिए। सांसदसमेत रहेका देवीप्रसादलाई भने सभापति धनिराम चौधरीले अगाडि सारेको स्रोतले बताएको छ। मिनराज चौधरीलाई भने पश्चिम तराईका जिल्‍लाहरूको समर्थन रहने बताइएको छ। रुक्मिणीले भने सर्वसहमतिका आधारमा आफूले सभापति पाउनुपर्ने लबिङ गरिरहेकी छन्।

समग्रमा भन्नुपर्दा यसपटक कांग्रेस निकट थारू नेताहरूबीच नै सभापति बन्ने होड देखिन्छ। यद्यपि, महामन्त्री प्रेमीलाल र सांसद देवीप्रसाद चौधरीबीच सभापतिको लडइँ हुने सम्भावना देखिएको बताइन्छ। थाकसमा राजनीति दलमा सक्रिय रहेका व्यक्तिलाई निषेध गर्ने बहस चलाए पनि अन्तिमम तिनै नेताहरूको हालीमुहाली रहँदै आएको छ। त्यसो त थाकसको कमिटीमा युवा आउन नसकेको र विधान परम्परागत शैलीको रहेको आरोप लाग्दै आएको छ।

थाकसको महाधिवेशन मंसिर १,२ र ३ गते रुपन्देहीको भैरहवामा हुँदैछ। महाधिवेशनमा देशभरिबाट प्रतिनिधि र पर्यवेक्षकहरू सहभागी हुँदैछन्। कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल रहने थाकसले जनाएको छ।




One thought on “थाकसको सभापति बन्न कांग्रेसका नेता-सांसदबीच हानथाप

  1. राजनीतिक दल निकट “थारु संगठन” प्रति “थाकस” को आधिकारिक धारणा २३ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *