सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै थारू समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन्।

ठूलो सङ्ख्यामा थारू समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन। यस्तोमा मन्त्री पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरूका लागि समेत व्यवस्था गराउने निर्णय गरे।

मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलबिक्रम थापा, थारू अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए। सोहीअनुरुप थारू समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरी अस्पतालमा वार्ड स्थापनाको निणय गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको एक आँकडाले देखाएको छ। पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोबास गर्ने थारू समुदायका नागरिकहरू सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम सिकलसेल एनिमिया रोग लागेका बिरामीहरूरुलाई शल्यक्रिया, औषधि तथा औषधीजन्य सामग्री, थप निदानात्मक सेवा शय्या सेवा शुल्क आदिका लागि एक लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *