एमाले नेता लेखीले वृद्धाश्रमका लागि दान गरे ५० लाख मूल्य पर्ने जग्गा

नेकपा एमालेका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका सांसद राजकुमार लेखीले ५० लाख मूल्य बराबरको जग्गा वृद्ध आश्रमलाई दान गरेका छन्। उनले आफू जन्मिएको सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित गंगाजलीमा रहेको दुई कठ्ठा जग्गा दान गरेका हुन्। स्थानीयकाअनुसार चलनचल्तीअनुसार त्यहाँ प्रति कठ्ठाको मूल्य कम्तिमा २५ लाख रहेको छ।

लेखीले आफ्नो पैतृक सम्पत्तिबाट जग्गा दान गरेको बताए। उक्त जग्गामा वृद्धाश्रम निर्माण गरिने उनले बताए। ‘मेरो पैतृक सम्पत्तिबाट २ कठ्ठा घडेरी जग्गा आश्रमको नाममा दान गरेको छु। आश्रम निर्माणकार्य सुरु भएको छ। दुई वर्षभित्र आश्रम सञ्चालनमा आउँछ,’ उनले भने।

उनले आश्रममा हरेक दिन विहान योग अभ्यास हुने बताए। ‘त्यसबाहेक साना विद्यार्थीहरूलाई हरेक दिन ट्युसन क्लास, नैतिक शिक्षा र अनुशासनबारे सिकाइन्छ। प्रतेक महिना नैतिक शिक्षाबारे प्रवचन दिइन्छ। वृद्धवृद्धालाई आवश्यक सुविधाको व्यवस्था हुन्छ। पुस्तकालय, खेलकुद सामग्री र सिपमूलक तालिम पनि गराउने योजना छ,’ उनले भने।

उनले आफ्नो जीवन सामाजिक काममा व्यतित गरेको भन्दै जग्गा दान गरेको बताए। ‘बाँकी श्रीसम्पत्ति र जीवन देश र जनताको हितमा अर्पण गर्ने सोचले वृद्ववृद्वाको सेवामा जग्गा सहयोग गरेको छु। उक्त स्थानमा छिट्टै निर्माण कार्यले पूर्णता पाउँछ,’ उनले भने।

यसअघि उनको पहलमा गंगाजलीमा जनहित राष्ट्रिय प्राथमिक विद्यालय स्थापना, सहिद दिलीप स्मृति प्रतिष्ठान, मित्र युवा क्लबलगायतका सामाजिक संस्थाहरू सञ्चालनमा छन् । यी संस्थाहरूले सामाजिक विकासको कार्यमा निरन्तर टेवा पुर्‍याउँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *