रञ्जितालाई मन्त्री बनाएर हाम्रो मुद्दा कतै ओझेलमा त परेन?

रेशम चौधरी।

धानले भकारी भरिन्छ। पानीले गागरी भरिन्छ। कुराले भरिने मनै त हो। भकारी भरिएपछि धान थन्काउन या त अर्को नयाँ भकारी बन्नुपर्छ, या त त्यतिकै पोखाउनुपर्छ। यस्तै गाग्री भरिए पानी छछल्किएर जान्छ। तर कुराले भरिने त मन हो। मन भरिए कुरा कता पोखिन्छ होला?

जेलमा हरेक चिज साँघुरो छ। सुत्ने ठाउँ साँघुरो छ। खाने ठाउँ साँघुरो छ। खाएर फाल्ने ठाउँ साँघुरो छ। बाहिरका मान्छेहरूलाई थाहा हुन्छ कि हुन्न, सुन्दा सुन्दा कुरा अटाउने मन पनि साँघुरो भइसकेको हुन्छ हाम्रो। आजभोलि जेलमा यही कुरा महसुस गर्न थालेको छु म।

भर्खरै जेल पर्दा भेटघाटका लागि आएका भेटालुहरू त्यति बोल्दैनथे।

यस्तै हो रेशम बाबु, यो जुनीको नभए पनि अर्को जुनीको कर्मले पिरोलेको होला। नआतिनुहोला दैवले जरुर न्याय देलान्। तिनको कुरा सुनेर घुटुक्क निल्थें म।

तीन वर्षको प्रवास भोगेर आए पनि भर्खरै प्राप्त अपार जनमतले म पूर्ण थिएँ। त्यसैले भेटालुले देखाएको करुणा मलाई त्यति मन पर्दैनथ्यो। साँच्चै भन्ने हो भने ममा एक क्रान्तिकारीको दम्भ थियो। म कल्पिन्थें- चुकचुकाउने त विचारा दिनदुखीलाई पो हो। मैले के विगार गरेको छु र त्यस्तो, दयाको पात्र कहलिने? त्यस्ता भेटालुलाई विदा गरेर म भित्र छिर्थें र उनीहरू गएको जेलको बुईंगलबाट चियाइरहन्थे।

सिंहदरवारमा सपथ खाएपछि भेटघाटमा आउने आफन्ति, इष्टमित्र, साथीभाइको संख्या बाक्लिन थाल्यो। तिनको उपस्थिति बाक्लिएकोमा मैले लिएको माननीयको सपथ र लेखेको पुस्तक ‘टीकापुर घटनाको चिरफार’कै प्रभाव होजस्तो लाग्छ मलाई।

जेल बसाइ‌को क्रममा दुई वर्षजति कोरोनाको कारणले भेटघाट बन्द गरायो कारागार प्रशासनले। त्यो २ वर्ष मेरा लागि जीवनकै महत्वपूर्ण भो। त्यो २ वर्षमा ११ वटा पुस्तक लेखें मैले। जेलको रुटिन पनि अस्याध्यै अनुशासित। राति २ बजे उठ्यो। विहान जेलमा कैदीको कल्याङमल्याङ नहुन्जेलसम्म लेख्यो। ९ बजे भात खायो। २ बजेसम्म सुत्यो। ३ बजेदेखि ५ बजेसम्मम लेखेको कुरा सम्पादन गर्‍यो। ६ बजे भात खायो, घुप्लुक्कै खुत्यो।

शून्यतामा वितेको त्यो दुई वर्षले मलाई सबकुछ सिकायो। काठमाडौंमै रहेका श्रीमती र बच्चासँगको विछोड़। घरमा बज्यै बितेको वियोग। साथीभाइ इष्टमित्रसँगको भौतिक विछोड। कसैसँग साक्षात नभएपछि तिनीहरूसँग विताएका पलमात्रै झल्झल्ली याद आउने। तिनै भावनामा चुर्लुम्म डुब्यो। लेख्यो। खायो। सुत्यो। सलल नदी बगेजस्तैको जीन्दगी।

राजनीतिक उतारचढावका कारण जेल परियो। राजनीतिक उछालकुद‌ले मेरो आँखा खोलिदियो। देशका नेतालाई मन लाग्दा सपथ खुवाउने, मन लाग्दा निर्वाचन आयोग लाने। मन लाग्दा जेलमा ल्याएर थुनिदिने। मैले मन बाँधेर निर्णय गरेँ- के म नेताहरूको मन लाग्दो बस्तु हुँ र?’

चल चौधरी चल। अब आफैं चलमलाउने पार्टी खोल। निर्वाचन आयोगको कानुन पनि कस्तो, म अन्य दलको सदस्य भई सनाखत गर्नहुने। तर पार्टी खोल्न नमिल्ने रे! जति दमन गरे पनि उपाय हजार! श्रीमतीको नाममा दल दर्ता गरेँ- ‘नागरिक उन्मुक्ति पार्टी।’

२०७८ फागुन ३ गते दल दर्ता भो। वैशाख ३० गते स्थानीय चुनाव छ। जेलमा १/२ जनाबाहेक कसैले टिक‌टै माग्न आएनन्। रञ्जिताले टीकापुरमै भेट्‌याजतिलाई टिकट बाँडिदिइन्। हाम्रो लागि त नतिजा सोचेकै आयो तर अरुका लागि अप्रत्यासित भो। २ नगर, २ गाउँ गरी ४ पालिका र ९९ प्रतिनीधिले बाजी मारे।

असार साउन खेतीपातीमै गयो। दसैंको टीका जेलमै लगाएर रञ्जितालाई विदा गरें, मंसिर ४ को चुनावका लागि। १२ प्रदेश र ४ संघीय गरी १६ सांसद प्राप्त भो नाउपालाई। केही हजारको मतले मात्रै राष्ट्रिय पार्टी हुनबाट वञ्चित भो नाउपा।

केही समय प्रदेश र संघीय सरकार निर्माणको झमेला सर्वविदितै छ। अन्ततः कार्यकर्ताको अतिरिक्त दबाब र जनआकांक्षालाई शिरोपर गर्दै पार्टी सरकारमा गयो। रञ्जिता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन्।

आजभोली भेटघाटमा कार्यकर्ता कम अन्य बढी आउँछन्। कसैले जागिर माग्याछन्। कसैको मान्छे कहाँ सरुवा गर्नु छ। कसैको काम गरिदिनै पर्‍यो रे। कोहीकोहीले त यो मन्त्रीले काम गरेन भने फाल्दिने होसम्म सुन्नुपरेको छ।

रञ्जितालाई मन्त्री बनाएर हाम्रो मुद्दा कतै ओझेलमा त परेन? निकै पिरोलिन्छु म। ‘अरु नसके पनि भूमिहीन कमैयालाई त जग्गा बाँडेरै छोडिन्छ’ जेलको एकान्तमा दाह्रा किट्‌छु म। त्यसो त हिजोअस्ती नखुलेको धेरैको आँखा खुलेको पाउँछु म। आदिवासी जन‌जातिलगायत नाउपामा जोडिनेको संख्या हजारौंमा छ। सबैलाई हातेमालो गर्दै ‘अभियान २०८४’को कार्यपत्र कोर्दैछ् म। ‘अभियान २०८४’ले देशकै ठूलो पार्टी बनाउने धोको छ मेरो। आजस‌म्म असफल भएको छैन। पुरा नहुने सपना देखेको छैन। आँटेको कुरा जितेरै लिएको हुँ। हिम्मतका साथ रवाफिलो जवाफ छ मेरो- मिसन २०८४।

हात्तिले धेरै खान्छ मुसोले थोरै। ठूलो पार्टी धेरै कार्यकर्ता। हाटबजार मान्छे हजार। फागुमा रंगीविरंगी। कार्यकर्ताका कुरा थरीथरी। थरिथरिका मान्छे थरिथरिका स्वभाव| सबैलाई एउटै डालोमा बोक्न भरियालाई कम्ति सकस हुन्न। र, पनि नाम्लो कसेपछि नबोकी सुख? चल चौधरी, सबको सुन। सबको गुन। सयथरी कुरा लगाएर कान भर्नेको पनि सुन। तर लक्ष्य एउटै राख-अभिमान २०८४

हालः डिल्लीबजार, कारागार




3 thoughts on “रञ्जितालाई मन्त्री बनाएर हाम्रो मुद्दा कतै ओझेलमा त परेन?

  1. धेरै भावुक र हृदय स्पर्शी तर जोश जाँगर बढाउने विचार ! चल चौधरी चल । हम साथ साथ चल ।

  2. हजुरको यो हिम्मत लाई सेलुट गर्छु म ।चल थारू चल👍️

  3. हम्र साथ बाटि दाजु हिम्मत नाहारी पहिचान व अधिकारके लाग लरुईया जेल बन्दी रिहा हुई परल पहिल तब पार्टी बरवार बनईना कुछ समस्यै नै हाे ।

Leave a Reply to अरून Cancel reply

Your email address will not be published. Required fields are marked *