सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, थारूबाट को को बन्दैछन् मन्त्री?

नेकपा (माओवादी केन्द्र)ले सरकार विस्तारलाई छिटो टुंगो लगाएर देशमा विद्यमान समस्या समाधानमा सरकारलाई केन्द्रित गर्ने भएको छ। सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको तयारी छ।

पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढंगले छलफल गरिरहेको उनले जानकारी दिए।

प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारीसमेत गरेको सचिव पौडेलको भनाइ छ। सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पुर्‍याउने माओवादीले विश्वास लिएको छ।

त्यस्तै संघीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो। गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने गरी आजको बैठक केन्द्रित रहेको उनको भनाइ छ। त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धमा बारेमा छलफल भएको थियो।

सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव पौडेलको भनाइ छ। त्यस्तै प्रदेश सरकारलाई समेत संघीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ।

थारूबाट को को छन् आकांक्षी?
माओवादी नेतृत्वको सरकारलाई दस दलले समर्थन गरेको छ। वर्तमान सरकारमा माओवादीबाट अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका छन्। मन्त्रिपरिषद् विस्तार हुँदा नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने पक्कापक्की रहेको छ। नागरिक उन्मुक्ति पार्टीले पर्यटन मन्त्रालय दाबी गरे पनि माओवादीका सुदन किरातीले छाड्ने मनस्थिति नबनाएपछि सहरी विकास मन्त्रालय दाबी गर्दै आएको छ। यद्यपि यस विषयमा टुंगो लागेको छैन।

त्यस्तै नेपाली कांग्रेसबाट तेजुलाल चौधरी मन्त्रीका आकांक्षी रहेका छन्। उनी शेखर कोइराला समूहबाट मन्त्री दाबी गर्दै आएका छन्। यसअघि खेलकुद राज्यमन्त्री भइसकेका उनी देउवा नेतृत्वको सरकारमा मन्त्री हुनबाट वञ्चित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *