बर्दियामा सुरू भयो अन्तर्राष्ट्रिय थारू सम्मेलन

बर्दियाको भुरीगाउँमा प्रथम अन्तर्राष्ट्रिय थारू सम्मेलन आजदेखि सुरु भएको छ। थारू अन्तर्राष्ट्रिय महासभाद्वारा आयोजित सम्मेलनमा नेपाल र भारतका थारू अगुवा, नेता तथा बुद्धिजीबीहरूको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं सांसद तेजुलाल चौधरीले नेपाल-भारतका थारूहरूको पहिलो नेपाल जमघट भएको बताए। उनले समुदायको विकासका निम्ति थारूहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

उनले थारू समुदाय अझै पनि राज्यको पहुँचमा पुग्न नसकेको बताउँदै आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले थारू समुदायले राज्यबाट अपेक्षा गरेअनुसार न्यायोचित स्थान र अवसर नपाएको भन्दै थारु संघसंस्थालाई बलियो बनाउँदै लैजानुपर्ने बताए। ‘नेपालमा थारूहरूको संख्या लाखौं रहे पनि राजनीतिक तथा प्रशासनिक क्षेत्रमा न्यून सहभागिता रहेको छ। राज्यले पनि हामीलाई उपेक्षा गर्दै आएको छ,’ उनले भने।

नेपाली कांग्रेसका नेतृ एवं सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीलेर थारू महिलाहरू झनै पछाडि परेको बताइन्। उनले स्थानीय तहमा दुई जना थारू महिलामात्रै प्रमुख रहेको भन्दै महिलालाई राजनीतिक दलले पनि अवसरबाट वञ्चित गरेको बताइन्।

त्यस्तै बारबर्दिया नगरपालिकाका प्रमुख छबिलाल थारुले कार्यक्रमको सफलताको शुभकामना दिँदै थारू कल्याणकारिणी सभालाई समन्वय गरेको भए अझ ब्यापक सहभागिता जुटाउन सकिने सुझाव दिएका थिए।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले अन्तर्राष्ट्रिय स्तरको प्रथम कार्यक्रम आफ्नो पालिकामा राखिएर ठाकुरबाबा नगरपालिकालाई चिनाउने सुनौलो अवसर प्राप्त गरेको बताए। कार्यक्रमलाई आफूले र पालिकाको तर्फबाट हरेक दृष्टिकोणबाट सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

कार्यक्रममा नेपाल र भारतका कलाकारहरूले आफ्नो साँस्कृतिक प्रस्तुती दिएका थिए। कार्यक्रममा सांसद चौधरीबाहेक नेपाली कांग्रेसका नेता रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण चौधरी, सुरेन्द्र चौधरी, थरुहट थारूवान संयुक्त मोर्चाका श्रवण थारुको सहभागिता रहेको छ। छिमेकी देश भारतबाट कम्तिमा ९० जना अतिथिहरू उपस्थित रहेको आयोजकले जनाएको छ।

थारू अन्तर्राष्ट्रिय महासभाका अध्यक्ष दीपप्रसाद नारायण थारूको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्मपन भएको छ। अइतबार थारु समुदायको विभिन्न सबालमा छलफल गर्ने र घोषणा पत्र जारी गर्ने कार्यक्रम रहेको छ।




One thought on “बर्दियामा सुरू भयो अन्तर्राष्ट्रिय थारू सम्मेलन

Leave a Reply to Manoj chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *