राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको उम्मेदवारी, नागरिक उन्मुक्तिको पनि समर्थन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको नेतृत्व गर्दै उम्मेदवारी दिए। उनका प्रतिद्वन्द्वीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।

हालसम्मको मतभार हेर्ने हो भने आठ दलसँग स्पष्ट बहुमत रहेको देखिन्छ। कूल मतभार ५२ हजार ६२८ रहेको छ, जसमा राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३१२ मतभार आवश्यक पर्छ। आठ दलसँग ३१ हजार ९१७ मतभार रहेको देखिन्छ। यसरी गणितमा आठ दल अगाडि देखिए पनि राष्ट्रपति निर्वाचनमा दलको ह्वीप नलाग्ने भएकाले त्यसै भन्न सकिने अवस्था नरहेको विश्लेषकहरू बताउँछन्।

त्यसो त नेकपा एमालेले १० पुसको सहमति कायमै रहेकाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता गर्न चाहेन। आज बिहान बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गर्दै राष्ट्रपतिको उम्मेदवारमा नेम्वाङलाई अघि सारेका थिए। यस क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पत्र काटेर राष्ट्रपति निर्वाचनमा एमालेलाई मत दिन आग्रह गरेका छन्।

पूर्वसभामुख समेत रहेका नेम्वाङले आफ्नो नाममा पनि राष्ट्रिय सहमति हुनसक्ने दाबी गरे। उम्मेदवारी दिएपछि उनले भने, ‘विश्वास छ र त उठिराखेको छु। राष्ट्रिय सहमति मेरो हकमा पनि हुनसक्छ।’

यता पौडेलले भने एमाले अध्यक्ष ओलीले पनि आफूलाई समर्थन गर्ने दाबी गरे। उनले ओलीसँगै जेल बसेको स्मरण गर्दै भने, ‘हामी सँगै जेल बसेका हौं। पुरानो साथी हो। यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहुन्छ।’ कांग्रेसले भने फागुन २५ गते हुने निर्वाचनको रणनीति बनाउन सक्रिय भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले पौडेललाई निवासमै बोलाएर निर्वाचन केन्द्रित रणनीतिका विषयमा छलफल गरेका छन्। जसरी पनि विजयी हुने रणनीतिका साथ फागुन २५ सम्म पुग्ने दृढ्ता देउवाले देखाएको स्रोतले बताएको छ।

प्रधानमन्त्री प्रचण्डले भने फागुन १२ गतेको परिस्थिति आउनुमा सरकारमा सहभागी दलहरू पनि जिम्मेवार भएको बताए। उनले राप्रपाप्रति इंगित गर्दै संविधानको मर्मविपरित गतिविधिमा लागेको आरोप लगाएका थिए। दुई महिनाको दौरानमा आफूले तीतो अनुभव भोगेको उनले बालुवाटारमा आयोजित कार्यक्रममा बताए।

उनले कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमति गर्ने प्रस्ताव गरे पनि ओलीले अस्विकार गरेको बताएका थिए। शुक्रबार प्रचण्डको प्रस्ताव ओलीले अस्विकार गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ओलीले नमानेकै कारण आठ दलबीच राष्ट्रिय सहमति भएको र यही सहमति नै राष्ट्रिय सहमति भएको दाबी गरे। ‘कांग्रेसलाई दिने सहमति नै राष्ट्रिय सहमति हो भन्ने मेरो बुझाइ छ। यो सिंगै राष्ट्रकै सहमति हो,’ उनले भने। संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज नदेखिएकाले प्राकृतिक कोर्समा फर्किएको उनको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *