संसदमा रेशम चौधरीका बुबाले भने- टिकापुर घटना अगाडि मलाई मार्ने योजना रहेछ

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको बताए ।

शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा उनले आफ्नो अनुभव सुनाउँदै कैलाली घटनामा दोषी भनेर निर्दोषलाई जेल हालिएको भनी रिहाइको माग गरे । २०७२ साल भदौ ७ गते कैलाली जिल्लास्थित टीकापुर नौ जनाको ज्यान जानेगरी घटना भएको थियो । उक्त घटनामा दोषी ठहर गर्दै अदालतले रेशम चौधरीसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
कैलालीमा २०७२ भदौ ७ गते भएको घटना सबैतिर आएको तर त्यस अगाडिको भदौ ४ गतेको घटना कतै नआएको उनले गुनासो गरे ।

‘२०७२ साल भदौ ४ गते अखण्ड सुदूरपश्चिम राजनीतिक दलका साथीहरु धनगढीबाट सदभावको नामबाट र्याली गर्दै ५ हजार जना टिकापुर आउनुभएको थियो । म चढिरहेको बाइक साँझ ६ बजे जलाइएको थियो’, उनले संसदमा सुनाए ।

त्यसदिन आफूलाई समेत मार्ने योजना रहेको तर, आफू भाग्न सफल भएको उनको भनाइ छ । ‘त्यो बाइकसँगै मलाई पेट्रोल छर्केर जलाउने उहाँहरुको योजना रहेछ । कारणवश मलाई भेट्टाउन सक्नुभएन, ईश्वरको कृपाले म भाग्न सफल भएँ’, चौधरीले संसदको बैठकमा भनेका छन् ।

त्यसबेला टिकापुरमा ८२ वटा घर जलाइएको, रेशम चौधरीले चलाइरहेको रिर्सोट र रिर्सोटमा रहेको गाडी जलाइएको उनले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *