सांसद अरुण चौधरी जेल चलान, रिहाइको माग गर्दै कैलालीमा राँके जुलुस प्रदर्शन

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेस गरेको थियो। अदालतबाट कैदी पूर्जी बुझेर चौधरी कारागार चलान भएका छन्।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ। तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए। उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ।’

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ। सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन्।

रिहाइको माग गर्दै राँके जुलुस प्रदर्शन
यसैबीच पक्राउ परेका सांसद अरुण चौधरीलाई रिहाइ गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ को लम्कीमा प्रदर्शन गरेको छ।

बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरी आजै कारागार चलान भएका छन्। उनको निशर्त रिहाई गर्नुपर्ने माग गर्दै उन्मुक्तिले लम्की बजारमा राँके जुलुस निकालेको हो।

र्‍यालीपछि आयोजित कोण सभालाई पार्टीका प्रवक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेस्वर चौधरीलगायतले सम्बोधन गरेका छन्।

चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी दिएको छ। यसअघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

सांसद चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। ट्याक्टर जलाएको मुद्दामा सांसद चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो। चौधरी अहिले कैलाली कारागारमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *