थारू कोटासम्बन्धी मुद्दाको बहस सकियो, सर्वोच्चले माघ २४ गते फैसला सुनाउने

थारू आरक्षणसम्बन्धी मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको बहस आज सकिएको हो। सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने भएको छ। थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले बहस सकिएको भन्दै सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने जानकारी दिए।

‘मुद्दाको बहस सकिएको छ। दुई दिन लगातार हाम्रा मुद्दाहरूमा बहस भयो। हाम्रै पक्षमा फैसला हुनेमा विश्वस्त छौं,’ उनले थारुवानसँग भने।

थारू आरक्षणको माग गर्दै दायर भएका ५० मध्ये ४० वटा मुद्दामाथि बहस भएको हो। सर्वोच्चका न्यायाधीशद्वय विश्म्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशमा बहस भएको थियो।

बहसमा थारूहरूको पक्षबाट वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य, सुरेन्द्र थापा र सतिशकृष्ण पोखरेलले समेत बहस गरेका थिए। उनीहरूले संविधानले नै दिएको अधिकार थारूहरूले नपाएको भन्दै उनीहरूलाई अधिकारबाट वञ्चित गराउन नमिल्ने बताएका थिए।

उनीहरूले संविधान जारी भएदेखि पाउनुपर्ने आरक्षणको क्षतिपूर्तिसमेत दिनुपर्ने जिकिर गरेका थिए। संविधान जारी भएयता लोकसेवा आयोगलगायत सरकारी निकायहरूले लाखौं पदमा विज्ञापन खुलाएको भन्दै थारू समुदायलाई क्षतिपूर्तिसहित आरक्षण व्यवस्था गर्नुपर्ने उनीहरूको जिकिर थियो।

लोक सेवा आयोगलगायत सरकारी निकायहरूले विज्ञापन आह्वान गर्दा थारू कोटा समावेश नगरेको भन्दै थारू कल्याणकारिणी सभाले ५० बढी मुद्दा दायर गरेको छ। उसले लोक सेवा आयोग, प्रदेश लोकसेवा, सुरक्षा निकाय र विभिन्न सरकारी संस्थानहरूविरुद्ध मुद्दा दायर गरेको छ। थाकसले मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित निकाय र थारू आयोगलाई समेत विपक्षा बनाएको छ।




One thought on “थारू कोटासम्बन्धी मुद्दाको बहस सकियो, सर्वोच्चले माघ २४ गते फैसला सुनाउने

  1. बहसको लागि धरै धेरै धन्यवाद । तर कही यस्तो न होस् कि चेङगा माछ चेङगा माछ भ्गतो । खबरदारी गरि राख्नु परने छ । result ढिलो किन ? यो वातावरण कुझ्ने कुरोको लागि हो ।

Leave a Reply to Bhulai Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *