जसपासँग पार्टी एकता गर्न रेशम चौधरीलाई प्रस्ताव

पार्टी एकताका विषयमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच छलफल भएको छ। वार्ता समितिको संयोजकसमेत रहेका श्रेष्ठले मंगलबार डिल्ली बजार जेलमै गएर रेशमसँग छलफल गरेका हुन्।

उनीहरूबीच एक घन्टा छलफल भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। पार्टी खोल्नुअघि जसपामै रहेका चौधरीलाई एकसाथ अगाडि बढ्न जसपा नेता श्रेष्ठले आग्रह गरेका थिए।

‘पहिला पनि हामी एकसाथ काम गरिसकेका छौं। अहिलेको संक्रमणकालीन अवस्थामा हाम्रो एकता अपरिहार्य देखिएको छ। हामी एक भयौं भने सत्तासँग बार्गेनिङ गर्ने हाम्रो क्षमता पनि बढ्छ,’ श्रेष्ठले चौधरीलाई भनेका थिए।
जवाफमा चौधरीले उक्त प्रस्ताव पार्टीमा राख्ने बताएका थिए। ‘प्रस्ताव एकदमै राम्रो छ। यस विषयमा पार्टीभित्र एजेण्डाको रूपमा छलफल गर्छौं,’ उनले भनेका थिए।

जसपाले कार्यदल नै बनाएर एकता अभियानलाई तीव्रता दिएको छ। जसपाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पनि एकताका विषयमा निरन्तर सम्बाद गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *