काठमाडौंमा मनाइयो भारतको ७४औं गणतन्त्र दिवस

भारतीय दूतावासले भारतको ७४औं गणतन्त्र दिवस मनाएको छ। लैनचौरस्थित दूतावासमा बिहीबार गणतन्त्र दिवस मनाइएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन वाचन गरेका थिए।

राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद गान्धीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गरेकी छन्। उनले जी-२० मा भारतले पाएको अध्यक्षता सिंगो विश्व र भविष्यलाई अझ राम्रो बनाउन प्रजातन्त्र र बहुपक्षीयतालाई प्रवर्द्धन गर्ने अवसर भएको बताइन्।

सो अवसरमा राजदूत श्रीवास्तवले वीर नारी र मृतक सैनिकका नातेदारलाई ४ करोड ६० लाख बरबारको नगद तथा कम्बल वितरण गरेका थिए। उनले नेपालका विभिन्न २३ वटा संस्थाहरूलाई १६ लाख बराबरको पुस्तकसमेत वितरण गरेका थिए।

त्यस्तै सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने प्रतिबद्धतासहित राजदूत श्रीवास्तवले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू-२०२२ पत्रिकाको लोकार्पण गरेका थिए।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले देशभक्ति गीतका साथै नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *