थारूबाट अमनलाल मोदी र भगवती चौधरी बने मन्त्री

थारू समुदायबाट दुई जना मन्त्री भएका छन्। नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी र नेकपा एमालेबाट भगवती चौधरी मन्त्री भएका हुन्। मोदी सामान्य प्रशासनमन्त्री भएका छन् भने भगवती महिला बालबालिका मन्त्री भएकी छन्।

उनीहरूले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गरे। विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायतको उपस्थिति थियो।
माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सपथ लिए।

एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास मन्त्रीको सपथ लिए। त्यस्तै राप्रपाबाट धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकासमन्त्रीको सपथ लिए। त्यसैगरी दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको सपथ लिए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले पद तथा गोपनीयताको सपथ लिए।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको सपथ लिएका थिए। सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको सपथ लिएका थिए। एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको सपथ लिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *