खिचरा महोत्सवमा शिव र अन्नुले झुमाए दर्शक

दीपेश चौधरी
थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए। सांस्कृतिक कार्यक्रमको अन्त्यतिर मञ्चमा उक्लिएका गायक शिव परियारले अबेरसम्म प्रस्तुति दिए। सूर्य ढल्किनै लाग्दा मञ्च उक्लिएका गायक परियारले करिब डेढ घण्टासम्म दर्शक झुमाए।

शिवले आफ्नो सुरूवाती चरणमा गाएका लोक गीत ‘फेवातालमा साइँली’बाट युवापुस्तामाझ लोकप्रिय बनेको गीत ‘क्या दामी भो’ गीत गाउँदा दर्शकको ‘फर्माइस’ थामिनसक्नु थियो। ‘आँसुको अर्थ के थाह’, ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले’ जस्ता माया प्रीतिका गीत पनि गाए। लोकदेखि आधुनिक, पपसम्मका सबै गीत गाएका शिवलाई सुन्न अन्तिमसम्म पनि दर्शकले भरपुर साथ दिए।

शिवभन्दा अगाडि अन्नु चौधरीले नेपाली, थारु भाषामा गीत गाएर दर्शक उफारिन्। यसपटकको खिचरा महोत्सवमा उनले पनि आफूसँग भएको प्रतिभालाई दर्शकसामु मिल्नेसम्म पोखिन्।

दर्शकले पनि उनको स्वरमा स्वर मिलाएर साथ दिए। कसैले नाचेर धुलो उडाए। उनले ‘विन्दिया बोलाए सजना’, ‘लजालु मायालु’, ‘इशारा करे नयन’, ‘सजन मोर’ मन लागेन विन ताेहार लगायतका आधा दर्जन जति गीत गाएर मञ्चबाट बिदा भइन्।

त्यतिमात्र होइन, लोकसंगीतबाट कलाकारितामा छिरेका महेश काफ्ले पनि युवा दर्शकमाझ लोकप्रिय बनेका आधा दर्जन गीत गाए। ‘तातो गोली’, ‘लज्जावती झार’, ‘नाच फिरिरि’, ‘माया विरानी’लगायतका आधा दर्जन गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए।

अन्य कलाकारहरू फिलीप चौधरी र रूविना चौधरी पनि महोत्सवको केन्द्रमा रहे। उनीहरूले पनि उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाए। साथमा रत्ननगर कला मन्दिरका कलाकारहरूले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए। महोत्सव अवधिभर नै विभिन्न कलाकारहरूमार्फत माहोल तताउन आयोजक समितिले प्रयास गर्दै आएको छ।

महोत्सवमा हरेक दिन सांगितिक धमाका हुँदै आएको छ। त्यसबाहेक विभिन्न खालका खेलकुदका कार्यक्रमसमेत भएका छन्। चित्रकला, हाँजिरीजवाफ, तेक्वान्दो, भलिबललगायतका खेल सम्पन्न भएका छन्। कृषि प्रदर्शनीसमेत राखिएको महोत्सवमा पहिलो दिनदेखि नै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भइरहेको छ। यही पुस २८ गतेबाट सुरू भएको महोत्सव माघ ४ गतेसम्म जारी रहनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *